• १३ वैशाख २०८१, बिहिबार

नेपालगञ्जमा ‘खोज र खोप’ अभियान

blog

जानकी, जेठ ४  गते । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र विभिन्न रोगविरुद्धको खोप लगाउन छुटेका र बीचैमा खोप लगाउन छोडेका बालबालिकालाई खोप लगाउन थालिएको छ । 

‘खोज र खोप’ अभियान सञ्चालन गरेर नियमित खोप लगाउन थालिएको हो । उक्त अभियानअन्तर्गत नेपालगञ्जमा एक सय ९० जनालाई समेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजन शाहीले खोप लगाउन छुटेका बालबालिकालाई नियमित खोपमा समेट्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेपालगञ्जमा प्रत्येक महिनाको ६ देखि ११ गतेसम्म नियमित खोप लगाइन्छ । खोप लगाउन छुटेका बालबालिकाको खोजी अभियान पनि सँगसँगै अघि बढाएका छौँ ।”

जनस्वास्थ्य निरीक्षक शाहीका अनुसार बीचैमा खोप लगाउन छोडेका दुई सय ९४ मध्ये एक सय ३९ बालबालिकालाई खोप लगाइएको छ । अझै एक सय ५५ बालबालिकालाई खोप लगाउन बाँकी छ । नेपालगञ्जमा यसअघि गत वैशाख १५ गते बालबालिकालाई खोप लगाइएको थियो । ‘खोज र खोप’ अभियान सञ्चालनका क्रममा नेपालगञ्जमा छ सय ९२बालबालिकाले बीचैमा खोप लगाउन छोडेको पाइएको थियो । “एक सय ७७ बालबालिकाले कुनै पनि खोप नलगाएको पाइएको थियो”, शाहीले भन्नुभयो–“घरधुरी सर्वेक्षण गरेर बीचैमा खोप लगाउन छोडेका, खोप नै नलगाएकाको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ ।” रासस