• ६ वैशाख २०८१, बिहिबार

स्तन क्यान्सर : छामेरै थाहा पाउन सकिन्छ

blog

काठमाडौं, असार ३० गते । नेपालमा स्तन क्यान्सरका बिरामीहरू बर्सेनि बढिरहेको अध्ययनहरूले देखाएको छ । ग्लोबोक्यान नेपाल २०२० अनुसार स्तन क्यान्सर नेपालमा हुने क्यान्सर मध्ये तेस्रो नम्बरमा पर्दछ ।

सन् २०२० को ग्लोबल क्यान्सरको तथ्याङ्कले नेपालमा स्तन क्यान्सरका एक हजार ९७३ नयाँ बिरामी थपिएको देखाएको छ । त्यसैगरी, स्तन क्यान्सरका कारण एक हजार ४९ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ  । 

उक्त तथ्याङ्क अनुसार विश्वमा स्तन क्यान्सरबाट २३ लाख मानिस प्रभावित हुने गर्दछन् भने ६८ हजार पाँच सय जनाको स्तन क्यान्सरका कारण मृत्यु हुने गरेको छ । क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही स्तन क्यान्सर महिला, पुरुष जोसुकैलाई पनि हुनसक्ने बताउनुहुन्छ । स्तन परीक्षण सम्बन्धी जानकारी भएमा स्तन क्यान्सरबाट बच्न सकिने चिकित्सक बत्ताउँछन् । क्यान्सर रोग विशेषज्ञ डा. शाहीले स्वयं व्यक्तिले स्तन क्यान्सर परीक्षण गर्नाले पहिलो चरणमानै क्यान्सर पत्ता लाग्ने हुँदा उपचारपछि रोग पूर्ण रूपमा निको बनाउन सकिने बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “प्रायजसो स्तन क्यान्सर भएका महिलाहरूले पहिलो लक्षणको रूपमा स्तन जाँच्दा गिर्खा फेला परेर अस्पतालमा आउने गर्दछन् । शरीरमा कुनै पनि लक्षण देखिएमा उपचारपछि पूर्ण निको बनाउन सकिने भएकाले स्वयं स्तन परीक्षण बारे बुझ्न आवश्यक छ ।”

स्तन क्यान्सरलाई प्रारम्भिक अवस्थामा नै पत्ता लगाउन सकेमा पूर्ण रूपमा निको बनाउन सकिने चिकित्सक बत्ताउँछन् । चिकित्सकका अनुसार पहिचान गर्न ढिला भएमा उपचारमा धेरै समय लाग्नुका साथै मृत्यु समेत हुन सक्छ । 

व्यक्ति आफैले स्तनको जाँच कसरी गर्ने ?

स्वयं स्तन जाँच गर्दा ऐना अगाडि उभिएर वा खाटमा उत्तानो परेर पल्टिदा वा नुहाउँदा हातले छामेर परीक्षण गर्न सकिने डा.शाहीको भनाई छ । यसको लागि हातको बीचका तीन औँलाको टुप्पोको भाग भन्दा तल्लो सतह भागको प्रयोग गर्न डा. शाहीको सुझाव  छ । 

उहाँ भन्नुहुन्छ, “ हल्का तरिकाले स्तनलाई दबाब दिने, त्यसपछि स्थिर बनाएर भित्रसम्म दबाब दिएर गिर्खा तथा दुखाई भए नभएको जाँच गर्ने । जाँच गर्दा घडीको सुई अनुसार स्तनको कुनै पनि भाग नछुट्टिने गरी परीक्षण गर्ने ।” 

स्तन जाँच गर्दा एक पटक स्तनको पुरा जाँच सकेपछि मात्र अर्को स्तनको जाँच गर्न चिकित्सकको सुझाव छ । यदि कुनै किसिमको दृष्टि अशक्तताको कारण स्तनको जाँच गर्न कठिनाइ भए विश्वासिलो पात्रको सहयोगमा जाँच गर्न चिकित्सकको सुझाव छ ।

स्तनबीच असमानता देखिए शङ्का गर्न आग्रह 

हातलाई कम्मरमा राखी अलि अगाडि निहुरिदा दुवै स्तन बिच असमानता, छालामा मुजा परेको, सुन्तलाको बोक्रा जस्तो देखिएमा क्यान्सर हुन सक्ने शाही बताउनुहुन्छ ।  

त्यसैगरी, स्तनको मुन्टा गाडिएको वा स्तनको मुन्टाबाट पिप, रगत वा पानी जस्तै तरल पदार्थ निस्किएमा क्यान्सरको शङ्का गर्नुपर्ने चिकित्सकको सुझाव छ । धेरै महिलाले स्तनमा फेला पर्ने केही गिर्खा वा परिवर्तन सामान्य हुन सक्ने भएकाले नआत्तिन चिकित्सकको भनाई छ । 

शङ्का लागे थप परीक्षण गर्न सुझाव  

क्यान्सरको शङ्का गरेपछि स्वास्थ्यकर्मीको सल्लाहमा अल्ट्रासाउन्ड र म्यामोग्राफी गर्न सकिने चिकित्सकको भनाई छ । यस्ता विधिबाट स्तनको नियमित परीक्षण गरेमा स्तन क्यान्सर समयमै पत्ता लगाउन सकिने चिकित्सकको भनाई छ । 

कहिले जाँच गर्ने 

महिनावारी भइरहेका महिलाहरूले महिनावारी भएको चौथो दिनदेखि सातौँ दिनसम्म जाँच गर्न चिकित्सकको सुझाव छ । 

त्यस्तै,चिकित्सकका अनुसार महिनावारी सुकिसकेका महिलाहरूले हरेक महिनाको निश्चित कुनै एक दिन (जस्तै महिनाको पहिलो शनिवार वा १ गते महिलाहरूले सम्झिन सजिलो बनाउन) निमित्त रूपमा स्तन स्वयं परीक्षण गर्न सकिन्छ ।  

स्तन क्यान्सर के हो ?

डा. शाहीका अनुसार स्तनका कोषहरू अनियन्त्रित ढङ्गले बढाएर ट्युमर बन्ने प्रक्रियालाई स्तन क्यान्सर भनिन्छ । स्तन वा काखीमुनि नदुख्ने गिर्खा आउनु,स्तनको आकारमा परिवर्तन आउनु यसका प्रमुख लक्षण हुन । 

त्यसका अलावा स्तनको मुन्टा भित्रतर्फ जान थाल्नु,स्तनको मुन्टाबाट पीप,रगत वा पानी जस्ता तरल पदार्थ  बग्नु,स्तन दुख्नु वा सुन्निनु, स्तनको छालामा निको नहुने घाउ आइरहनु ,स्तनको छालामा निको नहुने घाउ आइरहनु स्तनको छाला सुन्तलाको बोक्राजस्तो हुने जस्ता लक्षण देखिने चिकित्सक बत्ताउँछन् ।चिकित्सकका अनुसार प्राय जसो क्यान्सरका गिर्खाहरू दुख्दैनन् ।

जीवनशैलीमा आएको परिवर्तन जस्तै मोटोपन,मद्यपान र धूम्रपान,निष्क्रिय जीवनशैली, अस्वास्थ्यकर खाना,चिल्लो बोसोयुक्त खाना र स्तनपान नगराउनु क्यान्सर हुने सम्भावना बढ्ने डा.शाहीको तर्क छ । 

स्तन क्यान्सरबाट बच्न धूम्रपान तथा मद्यपान नगर्ने, नियमित व्यायाम गर्ने, तौलाई सन्तुलन राख्ने, पोषणयुक्त खानेकुरा खान चिकित्सकको सुझाव छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।