• १३ वैशाख २०८१, बिहिबार

यस वर्ष किम्फ नहुने

blog

काठमाडौँ, जेठ ३ गते । यस वर्ष काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) नहुने भएको छ । किम्फले आफ्नोे आधिकारिक वेबसाइटमार्फत सन् २०२३ को संस्करण रोकिएको जानकारी गराएको हो ।

महोत्सवलाई नयाँ ढाँचामा लगेर अघिल्ला वर्षभन्दा अझ राम्रो गर्ने उद्देश्यले यस वर्ष किम्फ केही समयका लागि पछि धकेलिएको संस्थाका अध्यक्ष वसन्त थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब सबै कुरा नयाँ बन्दै छन् । नयाँ कमिटीले के निर्णय गर्छ त्यही अनुसार हुन्छ । सायद नयाँ कमिटीले नै महोत्सवको मिति पनि तोक्छ होला ।”  

अध्यक्ष थापाका अनुसार महोत्सव रोकिए पनि कार्यशाला, प्रशिक्षण, स्व्रिmनिङ जस्ता गतिविधि भने निरन्तर हुने छन् । सन् २००० देखि आयोजना हुँदै आएको किम्फ कोभिड–१९ महामारीका कारण यसअघि पनि प्रभावित भएको थियो ।

यो महोत्सव अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको छाता संस्थाको सदस्यसमेत हो । महोत्सव बर्सेनि डिसेम्बरमा आयोजना हुँदै आएको छ । यद्यपि, सन् २०२४ देखि भने वसन्त ऋतुमा आयोजना गर्ने तयारी भइरहेको बताइएको छ । किम्फले बर्सेनि महोत्सवमा ६० देखि ७० वटा चलचित्र प्रदर्शन गर्दै आएको छ । संसारभरिका चलचित्रहरू किम्फमा प्रदर्शन हुने गरेका छन् । 

‘कान्स’ आजदेखि

कान्स चलचित्र महोत्सवको ७६ औँ संस्करण बुधबारदेखि फ्रान्सको फ्रेन्च रिभेरा सहरमा सुरु भएको छ । ११ दिनसम्म चल्ने महोत्सवमा विश्वका चर्चित कलाकारहरूको सहभागित रहने छ । 

महोत्सवको उद्घाटनमा यस वर्ष जोनी डिप अभिनीत फ्रान्सेली चलचित्र ‘जिन डु बेरी’ प्रदर्शन हुने भएको छ । सो अवधिभर एनाटोमी अफ अ फल, वनेल एन्ड एडमा, ला चिमेरा, मे डिसेम्बर, क्लब जिरो, द जोन अफ इन्टरेस्टलगायत १५ वटा चलचित्र प्रदर्शनी हुने छन् । कान्समा नेपालको तर्फबाट भाग लिनेका बारे अलिहेसम्म केही जानकारी आएको छैन । चलचित्र ‘एलिमेन्टल’ सँगै मे २७ मा कान्स सकिने छ  । 

महोत्सवमा ‘पाल्मे डी ओर’ पुरस्कारको प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुने छ । यसलाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवकै ठूलो पुरस्कारका रुपमा लिने गरिएको छ । यस पटक २१ वटा चलचित्रबीच पुरस्कारका लागि प्रतिस्पर्धा हुने छ । त्यस्तै गैरप्रतिस्पर्धी चलचित्रमा मार्टिन स्कोरसेसको ‘किलर अफ द फ्लावर मुन’ र ह्यारिसन फोर्डको ‘इन्डियाना जोन्स एन्ड द डायल अफ डेस्टिनी’ छन् । 

कान्स विश्वको सबैभन्दा ठूलो चलचित्र महोत्सव हो । सन् १९३९ मा तत्कालीन फासिस्ट सरकारको विरुद्धमा भेनिस चलचित्र महोत्सवको विकल्पका रूपमा कान्स सुरु भएको थियो । महोत्सव सन् १९४८ र १९५० मा बाहेक १९४६ देखि हरेक वर्ष आयोजना हुँदै आएको छ ।