• ८ वैशाख २०८१, शनिबार

मलामी बोक्न निःशुल्क बस

blog

नवराज कट्टेल

विराटनगर, जेठ ३ गते । विराटनगर–१, पोखरिया शङ्कर चोकका करिम अन्सारीको मोबाइलमा मङ्गलबार बिहान घण्टी बज्यो। फोन अपरिचित नम्बरबाट आएको थियो। फोन रिसिभ गरेपछि अन्सारीलाई थाहा भयो दिउँसो २ बजे मलामी लिएर घाट जानु छ। उहाँलाई अचेल यस्ता फोन निरन्तर आउन थालेका छन्।

अन्सारीसँग तीन वटा बस छन्। यिनैमध्ये एउटा चाहिँ मलामी बोकेर घाटसम्म लान प्रयोग हुन्छ। अन्सारीले कसैको निधनमा घाटसम्म मलामी लिएर जान निःशुल्क बस सेवा दिने घोषणा गर्नुभएको छ। 

तीन महिनायता अन्सारीको बसमा चढेर थुप्रै मलामी घाटसम्म पुगिसकेका छन्। “दुई वटा बस धरान–विराटनगर रुटमा चलिरहेका छन्,” अन्सारीले भन्नुभयो, “एउटा बसलाई मलामी लैजान निःशुल्क उपलब्ध गराउँदै आएको छु।”

तीन महिनामा आफ्नो बस ४२ पटक मलामी बोक्न प्रयोग भएको अन्सारीले जानकारी दिनुभयो। निःशुल्क बस उपलब्ध गराउँदै आएको कुरा थाहा हुनेले फोन गरेर जानकारी गराएपछि अन्सारीले सहयोग स्वरूप पठाउने गर्नुभएको छ। 

अन्सारीले दस वर्षको उमेरदेखि गाडीमा सहयोगीका रूपमा काम गर्न सुरु गर्नुभएको थियो। उहाँका अनुसार अहिले तीन वटा बसको मालिक आफैँ भएपछि सामाजिक सेवा गर्ने इच्छा जागेको हो। यो सेवासँग पनि फरक संयोग रहेको उहाँले सुनाउनुभयो। कसैले मलामी बोक्नका लागि गाडी भाडामा भनेका थिए। आफूले मलामी जाने भनेपछि सुहाउँदो भाडा भने पनि घरमा दुःख झेलिरहेका परिवारसँग धेरै पैसा मागेर कमिसन खाएको उहाँले थाहा पाउनुभएको थियो। त्यसपछि मलामी बोकेर घाट जाने गाडीमा समेत कमिसन खानेलाई बुद्धि सिकाउन मन लागेर निःशुल्क सेवा दिने घोषणा गरेको करिमको भनाइ छ। 

३७ वर्षीय अन्सारी ‘गाडीकै बास, गाडीकै भात’ गरेर पनि आफू तीन वटा बसको मालिक हुन सकेको स्मरण गर्दै कसैले कसैसँग अनुचित लाभ लिएको देख्दा चित्तमा नरमाइलो लाग्ने बताउनुहुन्छ।

दस वर्षकै उमेरमा पढ्ने इच्छा खोसिएर गाडीमा काम गर्नुपरेको दिनदेखि अहिलेसम्म परिवारलाई पुग्ने रकम कमाएको करिम बताउनुहुन्छ। मेहनत गरे एक दिन सफलता मिल्छ भन्ने सोच राखेर अगाडि बढेको बताउँदै उहाँले सामाजिक सेवा गर्नुपर्ने परिस्थितिमा समेत कमिसन खाने प्रवृत्ति रोक्न निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको स्पष्ट पार्नुभयो। 

विराटनगर बजार क्षेत्रदेखि मलामी घाटसम्म पुग्न धेरै टाढाको दूरी नभएकाले कसैसँग पनि आफूले पैसा माग्ने काम नगरेको उहाँले बताउनुभयो। उहाँका अनुसार जसले जुन बेला फोन गरे पनि आधा घण्टाभित्र बस सेवा उपलब्ध गराउन सक्ने बताउनुभयो। 

करिमले विराटनगर बसपार्क आसपासमा रोकेर राखेको बसको अगाडि मलामी जानेका लागि निःशुल्क सेवाको ब्यानर राख्नुभएको छ। जसमा रहेको फोन नम्बर हेरेर पनि आवश्यक पर्दा फोन आउन थालेको उहाँले बताउनुभयो। 

करिम मुसलमान भए पनि मलामी घाट लाने परम्परामा यो हिन्दु, यो मुस्लिम भनेर विभेद गर्नुहुन्न। “मैले घोषणा गरेदेखि कसैसँग पैसा मागेको छैन,” करिमले भन्नुभयो, “हिन्दु धर्म अनुसार अन्तिम संस्कारका लागि शवसँगै मलामी पनि बोकेर लैजाँदा भारा लाग्छ भनेर कसैले आफूखुसी पैसा दिने गरेका छन्।” त्यसरी दिनेसँग लिए पनि कसैले दिएनन् भन्ने आफ्नो मनमा कहिल्यै नरहेको उहाँले बताउनुभयो।