उरुस्कार आतङ्क !

नरेन्द्रराज पौडेल

सानोतिनो रैरकम भए पुरस्कारभन्दा पनि हुन्थ्यो, भइआएकै पनि थियो । तर, हिजोआज पुरस्कारको नाउँमा करोडौँ करोड नोटका चाङैचाङको उरुङ लाग्न थालेपछि शब्दान्तरमा फट्किखेल्नुपर्ने बाध्यता जो आइलागेको हो । उरुङ लागेका नोटका बिटा चाङहरूको अर्थवत्तालाई बूढो भइसकेको परम्परागत पुरस्कार शब्दले थेग्न नसक्ने हो कि भनेर नयाँ नामकरणमा जानुपरेको बाध्यता भन्दा पनि हुन्छ यसलाई । तपाईंंले ठिनामिना पुरस्कारको नाम जप्ताजप्तै तिनेरु पनि उरुस्कार बन्न्न गएछन् भने धन्दा नमान्नोस् । आखिर पाउनुपर्ने धेर–थोर जति मिल्छ, नगद नारायण नै हो । यसको परिमाण जे जत्रै भए पनि गुणात्मकता अमूल्य छ । फुरौला खाने इच्छा लिएको लाटोबुङ्गाले घर पुगेर आमाचाहिँलाई ऊ पकाउ भन्दा बिचरा बूढीलाई पर्नुसम्म पीर परेको कुरो दन्त्यकथा हँुदै भन्तेकथासम्म आइपुगेको आजमात्र होइन, उहिले नै हो । त्यसैले पुरस्कारको नाम जप्दाजप्दै उरुस्कार भन्न पुग्नुभयो भने पनि कुरा बुझिदिने कामचैँ पुरस्कारदाताकै जिम्मामा पर्छ ।
पुरस्कारकै कुरा चलिसकेपछि यसका दुई÷चार स्तुतिगान सुनाउनु, दई÷चार स्तोत्र पाठ गर्नु पनि सान्दर्भिक न होला त ? असान्दर्भिक नै भइहालेछ भने पनि भर्सेलै परोस् । जब तपाईंलाई साहित्यकार हुनुको आडम्बरले दिमाग हल्लाउन थाल्छ र पुरस्कार लिएरै छाड्ने काँचो वायुले आङमा प्रवेश गर्छ, तब आङमा निस्किएर हेर बाबु हेर ! भन्दै कामेर तमासा गर्न थाल्नुहोला । धामीझाँक्रीले जोखाना हेर्दै काँचो वायु आङमा चडेर बित्यास पारेछ भन्लान् । ज्योतिष बालाई हेराइ–कराइ गर्नुभो भने पनि ग्रहदशा बिग्रिएकाले कालसर्प योग पर्न गएछ भनिदेलान् । सोध्ने मान्छे खडा भएपछि भन्नेको यो लोकमा के खाँचो ? bhim dev
तर त्यसोमात्रै पनि होइन रहेछ । उहिलेका कुरा खुइलिए भनेजस्तै हिजोआज बाँसको टुप्पामा कुखुराको चल्ला झुण्ड्याएर धामीझाँक्रीले डाइनेबोक्सी धपाउने कुरा पुराना भइसके । त्यसमा पनि पुरस्कार पाउने भाकल पछ्याएर तपाईंको आङमा चढेको काँचो वायु समन गर्ने आधुनिक अत्याधुनिक प्रविधिसहितको रोेबोटमार्का धामीको दरकार पर्ने भएछ । एक त तपाईंले कस्ता–कस्ता पुरस्कार हत्याउने अठोट गर्नुभएको छ, त्यसको अलग याचना सूची बन्नुपर्छ ।
अनि विनाअनुमति तपाईंको आङमा चढ्ने काँचो वायुको स्वभाव अनि उसले खोज्ने अक्षता धुपधुँवार, नैवेद, अण्डाचल्ला, पाठापाठी आदि सामग्री पहिचान गर्न सकिन्छ । यदि तपाईं देशकै कहलिएको साहित्यतर्फको नामुद पुरस्कार पाउन मरिहत्ते गर्नुहुन्छ भने घोस्टराइटिङ नामक पवनदूतको शरणमा जानुपर्छ । किनभने पत्नीवियोगमा परेका रामचन्द्रजीलाई समुद्रपार फुत्तै पु¥याएर सीताजीसँग भेट गराउने उनै पवनदूत थिए भन्ने कुरा घोकिरहनु नपर्ला ।
पुरस्कारवियोगमा परेका तपाईंलाई पनि घोस्टराइटिङ नामका पवनदूतले उत्तरआधुनिक अप्राप्तिको वैतरणीबाट अवश्य पार लगाइदिनेछन् । घोस्ट पनि राइटिङ पनि दुवै अजम्मरी तŒव मित लाएर एकाकार स्वरूप र शैलीमा उत्रिने गरेकाले विनास्वार्थ, विनाअर्थ पनि ज्यान छाडेर तपाईंको उपकारमा लागिपर्नेछन् । कालोभाले पुरस्कारजस्ता देश–विदेशका प्रख्यात पुरस्कारको दाबी गर्नुभएको छ भने त्यो पनि असम्भव छैन । गोदामबाट उठाउने लसुन, प्याज, मुला, काउलीजस्तै पुरस्कार र प्रमाणपत्रसमेत थोक बिक्रीमा राखिएको भेट्न पाइन्छ । घोस्ट नै होस्ट भएर तपाईंका मनचिन्ते उपन्यास संस्मरणका बहिखाता रातारात तयार गरिदिएर मनोकामना पूरा गर्नेछन् । फुमन्तर कि वाचाले आङमा चढेको काँचो वायु होस् कि टाङमा रुमल्लिएको पाको वायु होस्, दुवै कताकता पो भाग्नेछन् । घोस्टसँगै झुण्डिएको राइटिङले धमाकेदार फाइटिङ गरेर तपाईंका मनका चाहना सपनालाई आँकुरा पिपिराका रूपमा जगाएर लहलह बनाउनेछन् ।
ठुल्ठूला पुरस्कार हात पार्न ठूलै साहित्यकार बन्नुपर्छ । ठूलो साहित्यकार बन्न पनि ठुल्ठूला कुराले भरिएका ठुल्ठूला पुस्तक तयार पार्नुपर्ने हुन्छ । यस्ता पुस्तक तयार पार्न लौकिक मनुष्यले मात्र सक्तैनन् । अलौकिक धार नै चाहिन्छ । तपाईं पाँच सय पेजको किताबको राइटर बनेर पुरस्कारको अधिकारी बन्नुहुन्छ भने त्यसको रचनागर्भचैँ आफ्नै बाहुलीले या हातले लेख्नुपर्छ । अनि त्यो रचनागर्भ भनाउँदो धुन्धुकारी बकपत्र हजार शब्दको छ भने कम्तीमा पनि हजारै ठाउँमा अक्षर, रेफ, इकार, उकार, सकार, मकार, बिन्दु, मात्रा, वर्ण आदिमा चलनचल्तीमाथि गल्ती याने असाधारण विशेषता भेटिएकै हुनुपर्छ । नत्र तपाईं लाखे पुरस्कारलायक लेखक मरिगए ठहरिनुहुन्न । ह्रस्व, दीर्घ, आकार आदि–इत्यादि मात्रा अक्षरहरूमा तपाईंको सिद्धहस्त कलमले निर्माण गरेको आँखा टट्टाउने विशिष्ट पहिचान अवश्य झल्किएको हुनुपर्छ । रोबोटले मोटर गुडाउनेदेखि जहाज उडाउनेसम्मका पराक्रम गरिसकेपछि लेखन क्षेत्रमा मात्रै किन नयाँ युगको आविष्कार नगर्ने ? नेपाली भाषा स्वयम् पनि इलास्टिक भइदिएकाले तपाईंले गर्ने गल्ती कमजोरी नै प्लास्टिकका रङ्गीचङ्गीी फूल बनेर बहुजातीय बगैँचाको सिँगारपटारका साधन बनिदिन्छन् । किनभने आज देश, काल, परिस्थितिले उँभौली यात्रामा छलाङ मारेको छ ।
कुनै दिन एक÷दुई थान झिनामसिना गिदान्ते किताब दिएपछि सौभाग्यका फुरौला बर्सिने यो देशमा यतिबेर आएर सिन्थोटिक लेखकको पारो चढ्नु नौलो कुरो भएन । कस्मिरा, जर्जेट खाँडी र सुतीको ठाउँमा नाइलन, टेटन, टेटे«क्सजस्ता आधुनिकतम कपडाले बाजी मारेको बेला फलाटिनका भोटाकछाड खोज्नु उत्तरापन्थको यात्रा हो या त पश्चगमनको विजात्रा होइन पो कसले भन्ला त ? सिन्थेटिक लेखकमा जस्तो लाली लिपिस्टकको चहक, ट्याटुको विचित्रता र खेलौनाको छिटोछरितो बिकाउ गुनभाटे, निगाले लेखकमा कहाँ पाइन्छ त ? यक्ष प्रश्नको जवाफ दिन पनि सिन्थेटिक पाठक, समीक्षक अगाडि सार्नुपरेको छ ।
काटकुट पार्ने दाँत स्वाद लिने जिब्रो भनेर हाम्रा पुराना उखानमा त्यसै भनिएको हैन रै’छ । त्यसैले पनि रोबोट राइटरले जोरजार केरकार पारेका रचना अरूभन्दा मूल्यवान् नहुने चान्स नै रहेन । खासमा पुरस्कारको मण्डीमा उरुङ लागेका आलु, प्याजभन्दा गणेशमार्का कलम दौडिएर तयार भएको रचना भण्डार नब्बे गुना महँगो भएपछि गाता वासाले बेरबार पनि त पार्ने जो प¥यो नि ! फल झार्ने बाँदर, स्वाद चाख्ने ढेँडु भने पनि हुन्छ यसलाई । सिन्थेटिक लेखकले तयार पारिदिए अनि स्वनामधन्य इलास्टिके लेखन्तेले उरुस्कार भ्याइदिए त फुरौला वर्षिएकै ठान्नुपर्छ यो धरतीमा । हैन र ? अझ लडाइँ गर्ने सिपाही राज गर्ने वादशाह भन्दा पनि कुरो छेउछाउ पुगेकै भन्नुपर्छ । त्यसैले एक स्वरले भनौँ जय साहित्य । जय उरुस्कार ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना