नारी संवेदनाको पाटो

kalam

आमा नै जन्मदाता हुन् प्राणादाता पनि उनै
शिक्षा औ ज्ञानदाता हुन् अन्नदाता पनि उनै ।

कविताका भावमा मज्जैले हराउने कवि हुन्– विद्या निर्दोषी । एकैछिन घोत्लिएर निकै सुन्दर कविता सिर्जना गर्ने खुबी विद्याको छ । ‘कविता कविताजस्तो मात्रै नहोस्, कविता कविता नै होस्’ भनेजस्तो विद्याको कविता वास्तवमै कविता हुन्छ, जसले समाज बोल्छ, देश बोल्छ अनि जीवनचर्या र जीवनदर्शन बोल्छ ।
कुटो, कोदालो, हँसिया, डोको, नाम्लो बिसाइसक्दा उहाँको साहित्य लेखन सुरु हुन्छ । अर्थात् घरपरिवार राम्रोसँग सञ्चालन गरेपछि साहित्यको घर सिँगार्ने काम हुन्छ– विद्याबाट । निरन्तर लेखन र अभ्यासले विद्यालाई पाँचथरको एउटा सुदूर गाउँमात्रै होइन, जिल्ला, अञ्चल हुँदै देशसम्म पनि परिचित गराएको छ ।
विद्या निर्दोषी घरायसी काम सकेपछि आफ्ना मनका भावहरू कोरल्न र जन्माउन साहित्यिक कृति । त्यसैमध्येको एक कृति हो– ‘सम्झनाको कलम’ । संस्मरण सङ्ग्रह विधाङ्कन गरिएको सो कृतिमा उनले तिनै आफ्ना जीवन भोगाइ, परिवेश, व्यवहार, कर्तव्य, मान, आदर आदि ओकलेकी छन् । उनको संस्मरणसँगै पाठकलाई पनि कहिले सुभाङकै गाउँले परिवेशमा पु¥याउँछिन्, कहिले आफ्नो माइतीघर चाक्सीबोटे पु¥याउँछिन्, कहिले यात्रामा सँगसँगै झापा हुँदै काठमाडौँ पु¥याउँछिन्, कहिले कर्तव्यबाट चुकेको कुरा उठाउँछिन् भने कहिले सम्मानले छाती फुलेको बताउँछिन् । घरको चुलोचौकोदेखि आफ्नो पेसा र सामाजिक योगदानसम्मका कुरा उठाउँछिन् । नारी भएपछि कस्ता समस्या भोग्नुपर्छ, पराई घर गएपछि कसरी अपहेलित भइन्छ, नारीमाथि समाजले कसरी आक्षेप लगाउँछ अर्थात् नारी संवेदनामाथि कसरी खेलवाड हुन्छ भन्ने विद्याको यो कृतिले प्रस्ट बोलेको छ ।
उनले आफैँले भोगेका सामाजिक र पारिवारिक अपचलनका कुरा जोकोहीलाई जिब्रो टोक्ने विषय बन्छन् ।
महिलाले शारीरिकभन्दा पनि मानसिक प्रताडना कति भोग्छन् भन्ने कुरा उनको यो कृतिले भन्छ । त्यतिमात्रै होइन, नारीले कसरी विद्रोह गरेर घर, परिवार र समाजलाई परिवर्तनको बाटोमा हिडाउँनुपर्छ भन्ने कुरा पनि यो कृतिले सिकाउँछ ।
कृतिमा २७ वटा फरक–फरक शीर्षकका संस्मरण छन्, जसमा एक मुहूर्तपछि असीम प्यार, भूकम्प एक अनुभव, पाउलो फेरिएकै हो त ?, संस्कारका घाउहरू, गणतन्त्र र नारी, एक नजरको मूल्य कति ?, पराजयको पीडा, समय र सिर्जनाबारे, नव वर्ष, आत्मालोचना, कृतज्ञता, दरबार बाहिरकी महारानी, आध्यात्मिक चिन्तनमा प्रेम, बुढ्याइँ, विवाह उत्सव, सिर्जनाको स्रोत, वसन्तपञ्चमी, यात्रा, सम्झना, जीवनको खुसी, तिहार, पल र पर्वहरू, मलामीबारे सम्झना, सम्झनाका कलमहरू, सहनुको पनि सीमा हुन्छ । डर र चिट्ठीजस्ता शीर्षकहरू दिइएको छ । यी शीर्षकहरूले नै पनि संस्मरणको निकै धेरै विषयवस्तु बोकेका छन् । शीर्षक पढेरै कतिपय अनुमान लगाउन सकिन्छ, उनले कुन विषयलाई उठान गर्न खोजिन् भन्ने ।
कृति पढ्दै जाँदा पाठकमा एक किसिमको कौतूहल पैदा हुन्छ, जसले आदिदेखि अन्त्यसम्म पढ्न बाध्य पार्छ । रोचक प्रसङ्गकै बीचमा यो समाजलाई झटारो हानेर टुटुल्को उठाइदिएपछि झल्याँस्स भइन्छ ।
यस्तै एउटा प्रसङ्ग आफ्नी आमालाई मारेर बाबुले आफूमात्र अघाउँजी भात खाएको, भोका छोराछोरी आमा उठ्लिन् र भात देलिन् भनेर पर्खिबसेको अनि बाबुले आमाको मृत शरीरलाई बोरामा पोको पारेर फ्याँक्न लगेको ती निरीह र भोका छोराछोरीले हेरिरहेको दृश्यले सबैको मन एकपटक भक्कानिन्छ । र, सोच्न बाध्य हुन्छ– हाम्रो पुरुषवादी समाजको कालो रूप । अर्को प्रसङ्गमा आउँछ एक नजरमै हायलकायल भएको एक उँधोबैँसेंले आफूभन्दा बीसौँ वर्ष कान्छीलाई प्रेमप्रस्ताव राख्न गरेको असफल प्रयास । के गरेर उसलाई आफ्नो बनाऊँ भनेर सोच्दै जाँदा धान बेचेको पैसाले लुगा, कपडा किनेर उपहार दिने योजना बुन्छ । दस हजारको उपहारका लागि पैसा तिर्न नसकेर भौँतारिएको उसले घरमा दाल, चामल, नुन, चिनी सबै सिद्धिएको देख्छ ।
सोच्न थाल्छ– यो जुनी यस्तै भयो, अर्को जुनीलाई निधो गरौँ, बैना गरौँ भन्नलाई उपहार दिनुपर्ने ? भइराखेको, भोगिराखेको भौतिक संसार, संरचना बिगारेर म दोस्रो जुनीको टुङ्गो गर्न ऋणी बन्दै त छैन ? यस्तै तर्कनाले उसलाई भावावेशबाट रोक्छ । यस्ता थुप्रै रोचक र घोचक प्रसङ्ग यो कृतिभित्र पाइन्छन् ।
विद्याको यो कृतिभित्रका हरेक संस्मरण पढ्दै जाँदा एक किसिमको द्वविधा भने हुन्छ, म लामो उपन्यास पढ्दै छु कि, कथा, कविता, निबन्ध, नियात्रा भन्ने द्विविधा । कतै म पात्रलाई प्रयोग गरिएको छ, कतै अरूलाई नै पात्र बनाइएको छ ।
कतै आफैँले भोगेको कुरा छ भने कतै कल्पना गरेको कुरा । जेहोस् विद्याका संस्मरणले पाठकका विगत, वर्तमान र भविष्यलाई जोड्छन् । अझ स्पष्ट रूपमा भन्ने हो भने उनका अनुभूतिले विद्या को हुन् भन्ने परिचय खोलेका छन् । उनको परिवेश आमनेपाली नारीको परिवेश बनेको छ, उनको भोगाइ आमनारीको भोगाइ बनेको छ । यस अर्थमा भन्दा उनका कथाले आमनारीको प्रतिनिधित्व गर्न सफल भएका छन् । विद्याले भोगिरहेको समाज आमनारीको भोगाइ पनि भएकाले नारी संवेदनालाई मिहिन तरिकाले उठाएर देखाएकी छन् । पुरुषवादी समाजप्रति गतिलो झापड दिएकी छन् र नारीको अस्तित्वमाथि गर्विलो खम्बा बनेकी छन् ।

डिल्लीरमण सुवेदी

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds