तराईको अस्तित्व बचाउने राजा

पृथ्वीनारायण शाहद्वारा नेपाल एकीकरणको श्रीगणेश नहुँदो हो त नेपाल र नेपालीको अस्तित्व के हुन्थ्यो, यसै भन्न सकिँदैन । हिमाल, पहाडमात्र नभई तराई क्षेत्रको समेत अस्तित्वको जगेर्ना पनि उहाँबाटै भएको हो । मैथिली भाषामै समेत लालमोहर दिएर सबैको कला, संस्कृतिको रक्षा गरी वास्तविक अर्थमा नेपाललाई सबै जातको फूलबारी बनाउने उहाँको व्यक्तित्वबारे रामनारायण देवको चर्चा ।


prthiviनेपाललाई एकीकरण गरेर आधुनिक राज्यमा परिवर्तनको श्रेय राजा पृथ्वीनारायण शाहलाई जान्छ, जसको सत्प्रयासबाट मुलुक स्वाबलम्बी तथा स्वाभिमान बन्न सक्यो । राष्ट्रिय एकीकरणलगत्तै उहाँले आफ्नो दिव्योपदेशमा, ‘देशका महाजनलाई गोड प्रसाहदेखि उँभो आउन नदिनु देशका महाजन हाम्रा मुलुकमा लाया भन्या दुनिजा कंगाल गरी छाड्दछन्’ अर्थात् देश (हिन्दुस्तान) का महाजन, व्यापारीहरूलाई सिमानादेखि माथि आउन आउन् नदिनु, यदी हाम्रा मुलुकमा आयो भने कंगाल गरिछाड्दछन् । विदेशी महाजन आयो भने स्वदेशी उद्योग तथा व्यापारमात्र होइन, देशको अर्थतन्त्रलाई सखाप पार्नेछ भनी दिव्योपदेशको भावार्थ रहेको छ ।
कसैकसैले उहाँलाई विस्तारवादीको संज्ञा पनि दिन्छन् तर उनको यस्तो नीति भएको भए यस मुलुकको नाम नेपाल नराखेर गोरखा नै हुन्थ्यो होला । त्यतिमात्र नभई, राष्ट्रिय एकीकरणपछि उहाँले ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया” भनी राष्ट्रियताको बीजारोपण गर्नुभएको थियो । नेपाल राष्ट्रलाई सबै जातजातिको साझा फूलबारीको संज्ञा दिई लोकतन्त्र र समानताको उद्घोष पनि गर्नुभयो ।
मुलुकलाई विधिसम्मत तथा प्रजातान्त्रिक तवरले सञ्चालन गर्न थिति बाँध्नु पनि पृथ्वीनारायणको ध्येय थियो । निरङ्कुश, सामन्ती र स्वेच्छाचारी शासनशैली र पद्धतिको विपक्षमा हुनुहुन्थ्यो । उहाँ गतिशील लोकतन्त्रमुखी संवैधानिक राजतन्त्रका पक्षपाती थिए । त्यसैले उहाँले ‘उप्रान्त राजा रामशाहले बाँध्यको थिति हेरि सके राजा जय स्थिति मल्लले बाँध्यको थिति हेरि सके राजा महेन्द्र मल्लले वाँध्यको थिति पनि हेरि सके ईश्वर दियो भन्या म पनि यस्ता वन्देज बाछ हजारको थिति बाँधि जाला भन्या अभिलाषा थियो र निञाशास्त्र बमोजिम अदालतथ चलाउनु’ भनी उहाँको कथनले सम्पूर्ण विधिअनुसार राज्य व्यवस्था र कानुनी राज्य सञ्चालन गर्न मनस्थितिमा थिए भन्न सकिन्छ । एक प्रसङ्गमा उहाँले आफूले मनपराएको व्यक्तिलाई भारदार नबनाई जनताले रुचाएको व्यक्तिलाई भारदारी प्रदान गर्नुले उहाँमा रहेको प्रजातान्त्रिक भावना स्पष्ट हुन्छ ।
उहाँले ‘‘प्रजा मोटा भया दरवार बलियो हुन्छ र राजाका भण्डार भन्याका रैतानहरू हुन्” भनी जस्ता जनता (प्रजा) लाई बलियो अर्थात् धनी सम्पन्न बनाउन चाहन्थे, जसले गर्दा दरबार बलियो हुन्छ साथै राजाको भण्डार भनेको रैतान (जनता) हुन् । जनताको सम्पन्नता नै राजाका भण्डार अर्थात सम्पत्ति हुन् भन्ने उहाँको विचार थियो । त्यस्तै ‘‘निजा निसाप विगान्र्या भन्याको घुस दिन्या र घुस षान्या इन दुइको ता धनजीव गरीलियाको पनि पाप छैन ई राजाका महासतुर हुन” भनी दिव्योपदेशमा भन्नुभएको थियो । अर्थात् न्याय इन्साफ विगारेर घुस दिने र घुस खाने दुईवटैको धन र जीउहरण गरेपनि पाप लागने छैन, किनभने यी राजा र देशका महाशत्रु हुन् ।
यसरी अढाई सय वर्षअघि मुलुकमा भ्रष्टाचार र घुसखोरी प्रथाको अन्त्य गर्न उहाँले चिन्ता व्यक्त गर्नुभएको थियो । जो अहिलेको लोकतान्त्रिक नेपालको सन्दर्भमा पनि उपयुक्त छन् । नेपालका शासक र सत्तासीनहरूबाटै भ्रष्टाचारले संस्थागत रूप लिन थालेकोमा उहाँको दिव्योपदेश अहिले निकै मर्मस्पर्शी छ । मुलुकको आन्तरिक प्रशासनलाई जनताको हितमा प्रयोग गर्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सदीच्छालाई उच्च मूल्याङ्कन गर्नुपर्दछ । मुलुकको शान्ति, सुरक्षा र सुशासनका अतिरिक्त नेपालको अस्तित्वलाई चिरकालसम्म जोगाइराख्न उहाँको दूरदर्शिताले त नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई अक्षुण्ण राख्न ठूलो मार्गदर्शनको काम गरेको छ । उहाँले ‘‘उप्रान्त यो राजे दुई ढुङ्गाको तरुल जस्तो रहेको छ, चीन वादशाहसित ठुलो घाहा राषनु, दषिनको समुद्रको वादशाहसित घाहा राषनु तर यो महाचतुर छ” भनी दिव्योपदेशले नेपालको असंलग्न परराष्ट्रनीतिको आधार स्तम्भ हो । अर्थात् दुई ढ्ङ्गाबीचको तरुल भनेको चीन र भारतजस्तो दुई देशको बीच स्थित छ । दुवैसित समान सम्बन्ध राख्नुपर्दछ । एउटासित विशेष सम्बन्ध र अर्काेसित औपचारिक सम्बन्ध नराखी समदूरीको सिद्धान्तमा सम्बन्ध राख्नुपर्दछ । दुवै देशबीच सन्तुलन बनाइराख्नुपर्दछ । यसरी परराष्ट्र नीतिको जग राष्ट्रनिर्माता पृथ्वीनारायण शाहद्वारा नै शिलान्यास गरिएको मान्नुपर्दछ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका मार्मिक दिव्योपदेशहरू नेपालका वर्तमान शासकहरूले आत्मसात् गरेमा मुलुकको राष्ट्रियता, स्वाधीनता र विदेशी हस्तक्षेपलाई निषेध गर्न टेवा पुग्नेछ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले मानवीयलाई दृष्टिगत गरी न्यूनतम क्षतिबाट अधिकतम उपलब्धि हासिल गर्नुभयो । विभिन्न राज्य रजौटाहरूमाथि आक्रमण गर्दा मानवीय क्षति नभएको होइन तर राष्ट्रनिर्माण गर्ने दुरुह कामको अगाडि त्यति क्षति बेहोर्नु स्वाभाविक नै हो । जसरी जर्मनीको एकीकरणमा बिस्मार्क, इटालीको एकीकरणमा कावुर, मेजिनी र गौरीवाल्डी र अमेरिकाको स्वतन्त्रता र एकीकरणमा जर्ज वासिङ्टन र अब्राहम लिङ्कन एवम् भारतको एकीकरण र स्वतन्त्रतामा सम्राट अशोक, महात्मा गान्धी र चीनमा छिन ह्वाङ्ती र सनयातसेनको एकीकरण र स्वतन्त्रतामा योगदान छ, त्यस्तै नेपालको एकीकरणमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान छ ।
पृथ्वीनारायण शाहको असिम साहस, कूटनीतिक चातुर्यता र सैन्य सङ्गठनले गर्दा राज्य रजौटाहरू एकीकरण सम्भव भयो । उहाँले विक्रम संवत् १८०० सालमा राज्याभिषेकपछि १९ वर्षको उमेरमै एकीकरणको अभियान थाल्नु भई सर्वप्रथम विसं १८०१ आश्विन १५ गते नुवाकोट, विसं १८११ साउन २१ गतेका दिन नगरकोट र दहचोक, त्यस्तै कीर्तिपुरमाथि विसं १८२२ चैत ३ गते आक्रमण गरी विजयी हासिल गर्नुका साथै विसं १८२४ आश्विन १५ मा सिन्धुलीगढीलाई चारैतिरबाट घेरा हाली आक्रमण गरेर काठमाडौँका राजा जयप्रकाश मल्लको सहयोगार्थ आएका अङ्ग्रेजी फौजलाई परास्त गरेपछि विसं १८२५ आश्विन १५ गतेका दिन कान्तिपुर (काठमाडौँ) माथि गोर्खाली फौजले सजिलैसित विजय हासिल ग¥यो । यसको केही समयपछि ललितपुर र भक्तपुर पनि नेपालमा गाभियो ।
विसं १८३० साउनमा चौदण्डी माझकिरात र पल्लोकिरात प्रदेशलाई पनि एकीकरण गरियो । पूर्वी तराईका सप्तरी, सिरहा, महोत्तरी र मोरङ प्रदेशहरू चौदण्डी राज्यअन्तर्गत थियो । चौदण्डीका अन्तिम राजा कर्णसेनलाई हराई त्यसअन्तर्गतका समस्त तराई क्षेत्र नेपाल अधिराज्यमा गाभियो । यसरी पृथ्वीनारायण शाहबाट बडो बुद्धिमत्ता र रणकौशलताबाट नेपाल राष्ट्रनिर्माण भयो । उहाँले पहाडी प्रदेशको राजामा मात्र सीमित नभई, तराई प्रदेशका समेत राजा भई एउटा साझा नेपालका साझा राजाका रूपमा आफूलाई स्थापित गर्नुभयो । त्यसैले यो सबै जातको साझा फूलबारी हो भनेर सबै जातका साझा राजाका रूपमा परिचय दिने काम पृथ्वीनारायण शाहबाट भयो ।
विजित राज्यका जनतामाथि आफ्नो भाषा र संस्कृति लाद्ने काम गर्नुभएन । स्थानीय जनताको भाषा, संस्कृति, परम्परा, रीतिरिवाजलाई मान्यता दिई, त्यसलाई राष्ट्रिय स्वरूप प्रदान गर्नुभयो, जस्तो कि काठमाडौँ उपत्यकालाई विजय गरेपछि नेवारी भाषा, संस्कृति, कला, नाचगानलाई प्रोत्साहन दिएर उदारता देखाउनुभयो ।
उहाँको दिव्य उपदेशमा ‘‘आफ्ना सोखसयललाई त..... बमोजिमको तीनै सहर नेपालका नेवारहरूका नाच झिकाई हेरे पनि हुन्छ । यिनमा त दिएको पनि आफ्नै देशमा रहन्छ । यसाने भए आफ्नो देश सुरक्षित रहन्छ । ” यसरी स्थानीय संस्कृतिलाई बढावा दिई राष्ट्रियताको सन्देश प्रवाहित गर्नुभयो । त्यस्तै तराईको मकवानपुर राज्य विजय गरेपछि त्यहाँका भाषा, संस्कृतिमाथि हस्तक्षेप नगरी स्वतन्त्र छोडिदिनुभयो । त्यहाँका मठ–मन्दिरका पुजारीहरूलाई मैथिली भाषामा लालमोहर प्रदान गरिएको थियो । पृथ्वीनारायण शाहले तराई क्षेत्रलाई एकीकरण नगरिदिएको भए आज सम्पूर्ण तराई ब्रिटिस भारतकै अङ्ग भई उतै विलय हुने थियो र तराईकै अस्तित्व नै मेटिन्थ्यो । आज तराईवासीले आफ्नो अस्तित्व र गरिमालाई बचाउँदै राष्ट्रिय राजनीतिमा आफ्नो स्थान सुरक्षित राख्न सफल हुनु नै पृथ्वीनारायण शाहको एकीकरणको देन हो भन्न कसैले सङ्कोच मान्नुपर्दैन ।
जनकपुरका महन्त सुमरन दासलाई विसं १८२८ मा मैथिली भाषामा लालमोहर दिँदै यसो भनिएको थियो ‘‘श्री दूर्गा सहाय स्पस्ति श्री गिरीराज चक्र चुडामणि नर नारायणोत्यादि विविधविरुदावली विराजमान मनोन्नत श्री मन्महाराजधिराज श्री श्री श्री श्री पृथ्वी नारायण शाह देव देवानाम सदा समर विजयनाम आगे जनकपुर बेलाही ससिम साबिक बदस्तुर कुश विर्ता जाति श्री.......प्रति वहाल कै दिया । अप्पने षातिर जमासै वै वसावे आवाद कै कुश विर्ति जाति सबै अंक बेतलव भोग्य किया करे श्री ........ का सेवा पूजा किया करै श्री हजुरको आसिृवाद दिया करे धर्म चलाया करै, इति सम्बत् १८२८ साल भीति चैत वदी १ रोज ६ मौकाम काठमाण्डौं श्भम् ।
त्यस्तै विसं १८१९ मा सप्तरीका जीतु राउतलाई पहिला सेनवंशी राजाद्वारा दिइएका विर्ता राष्ट्र एकीकरण गरेपछि पनि पृथ्वीनारायण शाहद्वारा यथावत् राखिएको थियो । जुन यसप्रकार थियो– ‘स्वस्ति श्री गिरिराज चक्र चुडामणि नरनारायणेत्यादि विविध विरुदावलि विराजमान मनोन्नत श्री मन्त्महाराजधिराज श्री श्री श्री श्री श्री पृथ्वी नारायण शाहदेव देवानाम सक्षसमर विजयनाम आगे जीतु राउत के प्रगना चेखन्त मौजे कलावनजर अंक १ से जे तरह सौ देल रहै से सहित हम उगाद वक्स क देल है । अप्पन षातीज ..... जीतु के सभ माफ क देल है । मौकदमी सेहो जीतु राउत के देल है । अप्पन षातिर वैसु हजुर के सेवा करु, इति सम्बत् १८१९ साल फागुन सुदी रोज १ हरिहरपुर शुभम् ।
त्यसैगरी विजयपुर (धरान) का कालिका मन्दिरको पुजारीलाई थमौती गरी विसं १८३१ कात्तिकमा लालमोहर गरिदिनुभएको थियो । यसबाट राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले विजित भू–भागमा आफ्नो हैकम नचलाई स्थानीय भाषा र संस्कृतिलाई प्रश्रय दिई महŒव दिएको प्रस्ट हुन्छ । यसबाट उहाँ एक दूरदर्शी, राष्ट्रिय एकता र सामाजिक सद्भावले ओतप्रोत भएका राजा हुनुहुन्थ्यो । नेपालका जन्मदाता पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ गतेका दिन उहाँप्रति श्रद्धा देखाउने महान् दिन हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds