ट्वाइलेट एक रचनात्मक थलो

सौम्या अधिकारी

ट्वाइलेट अर्थात् शौचालय भन्नेबित्तिकै नाक खुम्च्याउनेहरू पनि हुन्छन् तर शौचालय नै त्यस्तो ठाउँ हो, जहाँ मानिस शारीरिक रूपले तन्दुरुस्त भएको नभएको प्रमाण दिने ठाउँ पनि हो । यो प्राकृतिक नियम नै हो कुनै पनि कुरा खाएपछि वा भित्र हालेपछि ढिलोचाँडो त्यसको निष्कासन अनिवार्य हो । यदि यो प्राकृतिक नियम अवरुद्ध भएमा प्रक्रियामा केही गडबडी रहेको पुष्टि हुन्छ । यसकारण पनि शौचालय मानव शरीरको शारीरिक स्वस्थता मापन गर्ने प्रमुख स्थल हो ।
शारीरिक स्वस्थताको यो हिसाब भए पनि शौचालयका अरू पनि विशेषता छन् । प्रथमतः शौचालय त्यस्तो ठाउँ हो, जहाँ मानिस एक्लै पस्ने, बस्नेमात्र होइन, मानिसको मस्तिष्क तथा शरीरले पनि आराम पाउँछ । त्यसैले यसलाई आरामी कोठा अर्थात् रेष्टरुम भन्ने पनि प्रचलन छ । विशेषगरी पश्चिमा जगत्मा यो नामले निकै ख्याती पाउँदै गएको छ भने हामीले पनि त्यसको सिको गर्दै छौँ । शरीर तथा मस्तिष्कले आराम पाएपछि मानिसमा सोच्ने वा विचार गर्ने शक्तिमा अभिवृद्धि हुन्छ, यो प्राकृतिक नियम नै हो । शौचालयमा व्यतीत गर्ने समय नै त्यस्तो महŒवपूर्ण क्षण हो, जुन संसारकै सबैभन्दा श्रेष्ठ प्राणी मानवले आफ्ना व्यावसायिकदेखि व्यक्तिगत समस्याहरूका समाधानका लागि सोच्ने मौका पाउँछ, त्यो पनि स्वतन्त्र तथा कुनै व्यवधानरहित तरिकाले । toilet
शौचालयमा पस्दा मानिस एक्लै पस्छ, डिस्टर्ब वा हल्लाखल्ला गर्ने कोही हुँदैनन् । कुनै कुरामा ध्यान बाँडिदैन, एक्लै हुने हुँदा विस्तृत एवम् रचनात्मक तरिकाले सोच्ने मौका उपलब्ध हुन्छ । जुन कुरा एक्लै हुँदा पनि कोठामा सम्भव हुँदैन । शौचालयमा बस्दा मानव शरीरले आनन्द महसुस गर्नुका साथै मस्तिष्क सबै किसिमका तनावबाट मुक्त हुन्छ । परिणामस्वरूप व्यक्तिलाई समस्या समाधानमा मिहिन रूपले ध्यान केन्द्रित गरेर रचनात्मक तथा सकारात्मक समाधानको बाटो पहिल्याउन मार्गप्रशस्त हुन्छ ।  शौचालयमा सोच्दा मानिसको समय बचत हुन्छ किनकि त्यहाँ शौचका साथै सोच्ने काम लगभग सँगसँगै भइरहेको हुन्छ, यसबाट सोच्नकै लागि थप समय खेर फ्याँक्नुपर्दैन ।
शौचालयमा मानिसका दिमागमा सकारात्मक भाव वा सोचाइ आउने कुरा अनुसन्धानबाट समेत प्रमाणित भइसकेको छ । किनकि शौचमा बस्दा मस्तिष्क र शरीर निकै रिल्याक्स्ड अवस्थामा हुन्छन् ।
यतिमात्र होइन, शौचालयमा मस्तिष्कले निकै तीव्र गतिमा काम गरिरहेको हुन्छ । शौचालयमा गरिने विचार वा सोचाइ सकारात्मक तथा उपयुक्त नै हुनेछ किनकि न यहाँ कसैको दबाब हुन्छ न त कुनै किसिमको तनाव ।
यसैले पनि राम्रो विचार वा समस्याको समाधानको बाटो चाहनुहुन्छ भने शौचालय एक राम्रो विकल्प हुन सक्छ । यो तथ्य हामी सबैले अनुभव गरेको तर त्यति ध्यान नदिएको विषयवस्तु हो ।
अहिलेको आधुनिक जीवनशैलीका जताततै तनाव छ र त्यस्तो कुनै ठाउँ छैन, जहाँ तनावको पहुँच छैन । सम्भवतः यसै कारणले होला प्रसिद्ध पश्चिमी इतिहासकार लेविस ममफोर्डले पनि आधुनिक जीवशैलीका कारण कुनै अवरोध नहुने ठाउँ नै शौचालयलाई मानेका छन् । भारतीय अर्थशास्त्री तथा राजनीतिज्ञ जयराम रमेश शौचालयलाई मन्दिरभन्दा महŒवपूर्ण मान्छन् । उनले शौचलाई एक किसिमको मोक्षका रूपमा औँल्याएका छन् । उनको भनाइ छ– हामी जति धेरै मन्दिर गए पनि मोक्ष त प्राप्त गर्दैनौँ । बरु हामीले शौचालय र सरसफाइलाई महŒव दिनुपर्छ । यस्तै अमेरिकी अश्वेत नेता मार्टिन लुथरले शौचालयमा बस्दा आफूमा आध्यात्मिक पक्षबारे विभिन्न विचार आउने गरेको बताउँथे ।
अनुसन्धानकर्ताहरूले एक व्यक्तिले एकपटक शौचका लागि कम्तीमा २० मिनेट समय शौचालयमा बिताउने गरेको बताएका छन् । यस अर्थमा हामी नेपालीले मासिक रूपमा १० घण्टाको समय शौचालयमा खर्च गर्दछौँ । नेपालीको औसत आयु ७० वर्ष मान्ने हो भने हामीले आफ्नो जीवनको ३५५ दिन अर्थात् झण्डै एक वर्ष शौचालयमा नै बिताउँछौँ । औसत आयु बढी भएका मुलुकका मानिसले अझ यसभन्दा बढी समय शौचालयमा व्यतीत गर्ने नै भए । अमेरिकामा गरिएको एक अध्ययनअनुसार पुरुषको दाँजोमा महिलाले शौचालयमा बढी समय व्यतीत गर्छन् । यही अनुसन्धानबाट मानिस शौचालयबाटै अनलाइन खरिदारीका साथै फोन गर्ने वा फोन उठाउनुका साथै आफ्ना कतिपय व्यवसायिक कार्यहरूको योजनालगायतका कार्य सम्पन्न गर्छन् ।
 शौचालय रचनात्मक विचारको थलोका रूपमा विकसित भइरहेकाले पनि हुन सक्छ– हिजोआज अमेरिकालगायतका पश्चिमी मुलुकमा शौचालयमा केही घरधनीहरूले नोटबुक राख्न थालेका छन्, जसमा शौचालय जानेहरूले आफ्ना मनमा उठेका विचारलाई लेख्न सक्छन् । आगन्तुकहरूले लेखेका यस्ता विचारहरूको सङ्ग्रह गरेर अमेजन डटकमले केही वर्षअघि ट्वाइलेट थट्स नामक एक पुस्तक बिक्री वितरण पनि गरेको थियो ।
मानिसको व्यस्तता बढ्ने क्रमसँगै वर्तमानमा शौचालय शौच गर्ने कार्यमा सीमित छैन, विशेषगरी पश्चिमी जगत्मा । मोबाइलमा फोन गर्ने त सामान्य विषय नै भइहाले, यसबाहेक किताब वा पत्रपत्रिका पढ्ने मात्र नभई अति व्यस्त केही बेलायती तथा अस्ट्रेलियालीहरूले बिहानी नास्ता पनि ट्वाइलेटमा नै खाने गरेका तथ्यहरू पनि सार्वजनिक हुन थालेका छन् । पश्चिमा देशका केही शौचालयमा त पुस्तकका दराजै राखिन पनि थालेका छन् । सायदै सामाजिक विकासको गति यही हो कि विश्लेषकहरू हिजोआज शौचालयमा पढ्ने विषयका सम्बन्धमा बेवास्ता गरिएको चर्चा गर्न थालेका छन् । यतिमात्र होइन, हिजोआज सामाजिक सञ्जाल तथा इन्टरनेटमा शौचालयमा पढ्न लायक किताबहरूको सूची पनि पाइन थालेको छ । अझ कतिपय क्रिश्चियनहरू शौचालयमा बाइबल पढ्नुको पक्ष विपक्षमा विवाद गर्न थालेका छन्, कसैले यसलाई उपयुक्त ठानेका छन् भने अरूले धर्मविरोधी ।
यी तथ्यहरूसँगै ट्वाइलेट अर्थात् शौचालयलाई शौच गर्ने ठाउँका रूपमा मात्र सीमित गर्न मिल्ला र ?

 

 

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds