विश्व कला जगत्मा हामी जानैपर्छ ः कुलपति कर्माचार्य

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)मा तेस्रो कुलपतिका रुपमा कलाकार कान्छाकुमार कर्माचार्य नियुक्त हुनुभएको छ । विसं २००४ मा जन्मनुभएका कर्माचार्य २०६६ सालमा प्रतिष्ठानमा सदस्य सचिव बन्नुभएको थियो । विसं २०२१ देखि चित्रकला साधनामा लाग्नुभएका उहाँसँग कला क्षेत्रका सङ्घसंस्थामा विभिन्न पदमा बसेर काम गरेको अनुभव छ । उनै केके कर्माचार्यसँग ललितकलाको विकास र चुनौतीका विषयमा आज राससले कुरा गरेको छ । प्रस्तुत छ उहाँसँग राससका प्रधानसम्पादक श्याम रिमाल र उपसमाचारदाता नारायण ढुङ्गानाले गर्नुभएको कुराकानीको सारसङ्क्षेप ः
नाफाको कुलपति हुनु भएकामा यहाँलाई हार्दिक बधाइ तथा शुभकामना
धन्यवाद ।
प्राज्ञ सभाको पूर्णता चाहिँं कहिले हुन्छ नि ?
प्राज्ञ सभाको छनोट त भैसकेको छ तर एक्सपोज गरिसकेको छैन । अलि ढिला भइरहेको छ । अब आइतबारतिर होला ।
नाफाको आगामी चारवर्षीय योजना के के हुनेछन् ?
अब हामी तीन जनाको शपथ भयो, अरु बाँकी नै छ । अहिले निर्णायक कुराहरु केही गर्न सक्ने अवस्थामा छैनौंँ । अनौपचारिक रुपमा भन्दा कलाको समग्र विकास गर्नुप¥यो । हरेक प्रदेशमा गएर प्रादेशिक ढङ्गबाट कलालाई विस्तार गर्नुपर्छ । हाम्रो परम्परागत रुपमा गरी आएको राष्ट्रिय कला प्रदर्शनी अर्काे साल हुनेछ । त्यसलाई सुधार्नुपर्छ, त्यो परम्परागत भयो । त्यसले विकासभन्दा पनि हल्लैहल्ला बढी भयो । त्यसलाई सुधार गर्ने योजना छ । अर्काे सबैभन्दा पहिले त हामी त अहिले सुकुम्बासी भएका छौँ । बस्ने ठाउँ बनाउनुपरेको छ । निवर्तमान प्राज्ञ परिषद्ले केही पूर्वाधार बनाउने योजना गरेको छ । त्यसलाई छिट्टै पूरा गर्ने योजना छ ।
त्यो पूर्वाधार बनाउने योजना अघिल्लो वर्ष नै पारित भएको होइन ?
कार्यक्रम पारित भएको हो । त्यो कार्यक्रम अगाडि गइरहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले हेरिरहेको छ । फलोअप(अनुगमन) गर्नुपर्छ । त्यसै त हुँदैन ।
यहाँले माथि भन्नुभयो राष्ट्रिय प्रदर्शनीको कुरा, तर अब त तयारी गर्नुपर्ने हो, ढिला भएन र ?
जेठ २ गते हुने हो पहिले पहिले कार्यक्रम । पछि आएर चाहिँ यो अघिको कार्यकालमा भदौमा पुग्यो । भूकम्पलगायत भौतिक समस्याले सरेको हो । व्यवस्था गर्न गाह्रो छ, कुरा गर्नलाई पो सजिलो छ । अब आउने वर्ष गर्ने सोचाइ छ । चार पाँच महिना बाँकी छ । त्यतिमा भएन भने पनि सारेर गर्ने हो । त्यसलाई नियमित रुपमा गर्नुपर्छ तर चार वर्षभित्रमा सुधार गर्नुपर्छ भन्ने हो ।
नाफा र सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको जग्गाको विवाद के हो ?
यो विवाद एकदम जटिल विवाद हो । केही वर्षअघि सरकारले नाफाको जग्गा सङ्गीत एकेडेमीलाई दिने भनी गरेको निर्णयमा हामी साह्रै दुखित छाँैं । आम कलाकार दुखित छन् । हामीले यसलाई गुमाउनु हुँदैन । हामी आर्टिष्ट आफैँ सुकुम्बासी भएर अरुलाई पोस्ने भन्ने कुरा त हुँदैन नि ?
नेपाल सरकारको सो निर्णय नै दुःख लाग्यो भन्नु भा ?
हो, त्यो क्याबिनेटले गरेको निर्णय हो । हाम्रा पूर्वकुलपतिज्यूको कुरा अनुसार उहाँहरुकै समयमा सो निर्णय भयो, भित्री कुरा हामीलाई थाहा छैन । कमसेकम जग्गा दिने नै हो भने सल्लाह गर्नुपथ्र्याे । यो विषय सरकारले जिम्मा लिने कुरा हो, सरकारले व्यवस्था गर्नुपर्ने हो । नाफा मगन्ते हुने स्थिति त हुनु भएन । एकेडेमीहरु गठनभन्दा अघि नै भएको छलफलमा नाचघर सङ्गीत नाट्य प्रतिष्ठानले प्रयोग गर्ने र नाफाले आफ्नै ठाउँ(सीता भवन, नक्साल, बालसङ्गठन रहेको भवन) मा बस्ने भनेर हामी यहाँ आयाँैं । अब उहाँहरु(सङ्गीत एकेडेमी) जानु भएन, त्यो उहाँहरुको कुरा हो । उहाँहरु बहालमा बस्दै आउनुभयो र समस्या बढ्दै आएपछि आत्तिनु भयो । यहाँ धेरै जग्गा छन् नि सरकारका, खोज्यो भने पाइहालिन्छ नि । सरकारलाई केको दुःख हुन्छ र ? यो कुरा अदालतमा गएको छ, अदालतले एउटा फैसला गर्ला ।
जतिपनि हाम्रा कला सिर्जना भएका छन्, तिनको संरक्षणका लागि नाफाले व्यक्तिगत रुपका जस्तै सम, वाङ्देल, मिश्र आदिका कलाकृति व्यक्ति व्यक्तिका घरमा छन्, कतिपय बेचिए होलान्, नाफाले तिनको संरक्षण गर्ने दायित्व लिनुपर्ने हो कि होइन ?
हामीले त्यसको समन्वयकारी भूमिका निर्वाह गर्ने हो । त्यो राज्यको दायित्व हो । राज्यको नीतिभित्र पर्नुपर्छ ।
राज्यभित्र नाफा पनि परेन र ?
हैनहैन, नाफा प¥यो । कि त सरकारले हामीलाई अधिकार दिनुप¥यो, सुविधा दिनुप¥यो तर गर्नुचाहिँ पर्ने हो । कसैले आफ्ना कोठामा सङ्ग्रहालय बनाएका छन् । अग्रज कलाकार चन्द्रमान मास्केको परिवार उनको कलाकृति सरकारलाई दिन तयार पनि छ । हामी यसबारे सरकारलाई घच्घच्याउँछौंँ ।
नाफाका पहिलो कुलपति किरण मानन्धरले आफू नियुक्त हुँदा अब कुनै पनि कलाकार भोको रहनु पर्र्दैन भन्नुभएको थियो । त्यो बेला यहाँ सदस्य सचिव हुनुहन्थ्यो । त्यो भनाइको सार्थकता पूरा भयो कि भएन ? नभएको भए नाफाले कलाकारका लागि अब के गर्नेछ त ?
उहाँले त्यसो भन्नुभयो । त्यो त्यति सजिलोसँग हुने त होइन । त्यो भनेको कलाको विकास गर्ने हो । यसका लागि अनेक बाधाअड्चन आउने गर्छन् । एउटा भूकम्पले पनि बाधा ग¥यो । संस्थागत रुपमा पनि बाधाअड्चन भयो । त्यसकारण काम गर्न सकिएको देखिएन । कलाको विकास भयो भने सबैको विकास हुन्छ । यो दृष्टिकोण मेरो हो । गम्भीर कुरा एउटा भन्छु हामीकहाँ पनि कलाको लिलामीको व्यवस्था हुनुपर्छ, त्यसो भएमा कलाकारलाई केही राहत पुग्छ ।

विश्वमा अहिले नेपाली कलाको स्थान कहाँ रहेको पाउनुहुन्छ ?
विश्वमा नेपाली कलाको स्थान भनेको यही हो भनेर जानकारी छैन । विश्वमा हेर्दा हाम्रो कलाको प्रवृत्ति अग्रगामी नै भएको पाउँछौँ तर त्यहाँसम्म पुग्नलाई अझै समय लाग्छ । विश्व प्रदर्शनीमा हामीले विस्तारै भाग लिने गरिरहेका छौंँ । कतिपयले पुरस्कार लिएर आएका छन् । यतिले मात्र हामीलाई पुग्दैन । संसारको नजीक पुग्न गाह्रो छ । धेरै विकास गर्न बाँकी छ । विश्वमा नेपाली कला पौभा, परम्परागत कलाको स्थान चाहिँ धेरै माथि छ समसामयिकभन्दा । त्यतिमा हामीले सन्तोष गर्ने कुरा होइन । समयसामयिक कलाको विकासतिर पनि हामी लाग्नुपर्छ । परम्परागतलाई अझै धेरै अगाडि लैजानुपर्छ ।
नेपाली कलाले हाम्रो समाज, राष्ट्र वा विश्वको समसामयिक स्थितिलाई उजागर गर्न सकेको छ ?
यो कलाकारमा भर पर्ने कुरा हुन् । कलाकारहरुको व्यक्तिगत विचारको कुरा भयो । त्यो अर्थमा केही भएकै छ । तर कुरो यति हो कि जति गर्नुपर्ने हो, त्यो भएको छैन ।
नेपाली कला हाम्रो मेहनतले निखार्दै जाने हो कि अन्य विदेशी कलाकारबाट पनि हामीले सिक्ने हो ?
अवश्य अरुबाट पनि सिक्नुपर्छ । हामी मात्रै बसेर त विकसित देशमा पुग्न सक्दैनाँैँ । विदेशमा गएर हामीले पनि कलाको विकास हेर्नुप¥यो, हामीले पनि कला देखाउन सक्ने अवस्था हुनुप¥यो । त्यो विकासमा लाग्नुपर्छ, विश्व कला जगत्मा हामी जानैपर्छ, सिक्नैपर्छ ।
हामीले हाम्रा परम्परागत तथा लोककला जस्तै पौभा, मिथिला, थारु, अवधी, नेवारी, किराँत आदि कलालाई विश्वमा लिएर प्रचारप्रसार गर्ने कि समसामयिक वा आधुनिक कलालाई लिएर जाने ?
दुवै गर्नुपर्छ । ट्रेडिशनल(परम्परागत) भनेको हाम्रो आफ्नो पहिचान हो । समसामयिक भनेको विश्वको आजको स्थिति हो । हाम्रो पहिचानको हिसाबले चाहिंँ परम्परागत, मिथिला, पौभा, हाम्रै जनजातिका कलाकारका राम्रा राम्रा कलाहरु छन् । यस्तालाई हामीले प्रमोशन(प्रवद्र्धन) गर्नुपर्छ । बाहिर लगेर प्रचारप्रसार पनि गर्नुपर्छ ।
प्रसङ्ग फेरौंँ, नेपाली कला समीक्षाको स्थिति यहाँले कस्तो पाउनुभएको छ ? हाम्रा समीक्षकहरुलाई तालीम–प्रशिक्षणको आवश्यकता देख्नु हुन्छ ?
एकदम आवश्यकता छ । कला समीक्षा क्षमता हामीकहाँ अहिलेसम्म पूर्ण छैन । कला समीक्षाको अभाव पक्कै छ । जान्ने र सिकाउने समीक्षकबाट नै हो । समीक्षा धेरथोर नभएको होइन, पहिलभन्दा विकास नभएको होइन तर पर्याप्त छैन । आर्ट राइटिङको अभाव छ । पाठ्यक्रममा नेपाली किताब पाइँदैन, विदेशी किताब राख्नुपरेको छ । मैले कति विद्यार्थीलाई अरनिकोबारे सोध्दा था छैन भने, बरु पिकासो थाहा छ, रेब्रान्ट थाहा छ । यसबारे यो एकेडेमीले केही हदसम्म गरेको छ । फेरि पनि गर्छाैँ ।
नेपाली कलाको सिलसिलाबद्ध इतिहासलेखन नारायणबहादुर सिंहबाट शुरु भएको थियो । यस्तो लेखन र अन्य प्रकाशनबारे नाफाले के गर्दै छ ?
त्यस्तो छैन । नारायणबहादुर सिंहले एउटा च्याप्टर बनाउनुभयो । शुरुआत उहाँले नै गर्नुभयो । ज्ञानेन्द्र विवशले पनि केही गर्नुभएको छ नाफाकै परियोजनाअन्तर्गत । केही अरुले गरेका छन् । आधिकारिक रुपमा त्यतिबेला नि खासै छैन अहिले पनि भएको छैन । पहिले हामी नाफामा हुँदा मैले धेरै प्रयास गरेँ अभिलेख राख्नलाई । व्यक्तिले गर्दा चिनेजानेकाहरुको मात्रै लेखन हुन्छ । समग्रमा आएन भनेर मेरो नेतृत्वमा नेपाली आर्टिष्ट भनेर एउटा क्याटलग निकालियो ।
त्यसमा इतिहास पनि छ कि ?
इतिहास छैन, कलाकारको परिचय छ । त्यसमा पुरानाहरुको छैन, जीवित मात्रैको छ । यतिले पर्याप्त छैन ।
ऐतिहासिक, पुरातात्विक र कलाका दृष्टिले महत्वपूर्ण धरहरा, काष्ठमण्डप, रानीपोखरीलगायतको पुनःनिर्माणमा कलाकारहरुको आवाज उठेको देखिंँदैन नि ?
उठेको छ तर यो जिम्मेवारीपूर्वक चाहिँ भएन । सम्पदा जोगाउनुपर्छ, यो कलासँग सम्बन्धित हो भन्ने छ तर यसको जिम्मेवारी पुरातत्व विभागको हो ।
तिनको पुनःनिर्माणमा हामी पनि सहभागी होआँै भन्ने भन्ने कुरा आए जस्तो लाग्दैन, पुराना कलाकारले काम पाए होलान् तर नयाँलाई पारिश्रमिक दिएर आह्वान गरे जस्तो लाग्दैन ?
कला परम्परागत परम्परागत नै हुनुप¥यो, आधुनिक आधुनिक नै हुनुप¥यो ट्रेडिसनलहरुले गरिरहेकै छन् । हामीले सम्पदाका क्षेत्रमा सहयोग गर्नुपर्ने हो । जोगाउनका लागि जनचेतना ल्याउने काम हामीले गर्ने हो । यो कामगर्ने भनेको पुरातत्व विभागले नै हो ।
नेपाली गहना र वेशभूषामा पनि कला पाउँछौँ नि, त्यसको उजागर भएको पाइँदैन नि ?
केही हदसम्म नगरेको होइन । यो बेग्लै च्याप्टरले गर्ने हो । यसमा पनि पुरातत्व विभागको बढी हात छ । गुरुङ, नेवार जातिको सङ्ग्रहालय खडा गर्न इजाजत लिनुपर्छ । नाफासँग केही अधिकार छैन । सके सहयोग गर्नेबाहेक हाम्रो भूमिका रहँदैन । हामीमा सबै पूर्वाधार तयार भएको भए पनि आँटेर काम गर्न हुन्थ्यो । बढी महत्वाकाङ्क्षी पनि हुनु भएन । यो लोककलासँग पनि सम्बन्धित छ ।
कलाकारको एउटा सधैंँको गुनासो छ, नाफाले नयाँ काम र कला क्षेत्रको विकासमा मौलिक काम गर्न सकेन भन्ने छ ।
त्यसो होइन । अब केही गर्छौंँ । कलाकारको आवास अझै बनाउन सकिएको छैन । योजना धेरै छ । सबैको सहयोगको खाँचो छ ।
सङ्गीत एकेडेमीले जस्तो कलाकारको परिचयपत्र र नेपाल एकेडेमीको जस्तो आजीवन सदस्यता दिने विषयमा के योजना छ ?
परिचयपत्रको कुरा हामी पनि गर्छौं । आजीवन सदस्यताको कुरा चाहिँ भएको छैन । हामी पनि त्यो चाहन्छौंँ तर यसमा सरकारले बजेटले दिनुप¥यो, अर्थ मन्त्रालयले वास्ता गरिदिएन । कलाकार कल्याणकोष बनाऔँ भन्ने छ तर अक्षयकोष अलिकति मात्र छ ।
नाफाले नियमावली बनाउन किन नसकेको ?
हामीसँग ऐन छ । यसमा बसेर नियम बनाउनुपर्छ, त्यो मेरो सोचमा छ । अब हामी बनाउँछौं ।
विश्वका कला सङ्घसंस्थासँग नाफाको संस्थागत सम्बन्ध भएको देखिंँदैेन नि ?
हाम्रो सम्बन्ध चीन, भारत, पाकिस्तान, श्रीलङ्कासँग भएको छ । युरोप, अमेरिकासँग पनि सम्बन्ध बढाउने कोशिश गर्छु । त्यो सम्बन्ध नभईकन हाम्रो अस्तित्व नै हुन्न ।
(रासस)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds