भूकम्पले ध्वस्त साततले दरबार

त्रिशूली (नुवाकोट), वैशाख २४ गते । विनाशकारी भूकम्पले हजारौँले आफन्त गुमाएका छन् भने लाखौँ घर ध्वस्त हुँदा लाखौँ नागरिक बेघर भएका छन् । विनाशकारी भूकम्पको चपेटामा ऐतिहासिक धरोहर, मठ, मन्दिर, गुम्बासमेत परेको छ ।

यही विनाशकारी भूकम्पको चपेटामा परेर नुवाकोटको सौन्दर्य पनि ध्वस्त भएको छ । जिल्लाको आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र नुवाकोट दरबार क्षेत्रलाई क्षतविक्षत पारेको छ । वैशाख १२ को विनाशकारी भूकम्पले जिल्लाको आकर्षणको स्थल तथा परिचय बनेर रहेको साततले दरबारलाई समेत क्षति पु¥याएको छ । विसं १९९० को भूकम्पमा भत्केर साततलेको गजुर र बुर्जा (सिरानको तला) झरेको थियो । नौतले दरबारको दुईतला भूकम्पले खसेपछि साततले बनाइएको थियो । हालको भूकम्पमा गजुर नखसे पनि पश्चिमपट्टि तेस्रो र चौथो तलाको बाहिरको आधा गाह्रोको इँटा खसेको छ । पाँचौँ र छैटौँ तलमा धेरै चर्किएको छ ।

बाहिर हेर्दा ठाडो देखिए पनि चारैतिर गाह्रो चिरिएर जीर्ण बनेको भैरवी मन्दिर तथा नुवाकोट दरबार क्षेत्र संरक्षण समितिका संयोजक पुष्कर शर्मा रिमालले बताउनुभयो । “हेर्दा सिङ्गो देखिन्छ तर, चारैतिर चर्किएको छ, एकापट्टिको गाह्रोको इँटा धेरै खसेको छ, भित्र जानै नसकिने अवस्था छ”, रिमालले भन्नुभयो ।  nuwakot darbar

चार वर्षअघि साततले दरबार सङ्ग्रहालयका नाममा सर्वसाधारणलाई खुला गरिएको दरबार हेर्नका लागि हरेक वर्ष हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका थिए । राजा पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेपछि दोस्रो राजधानीका रुपमा नुवाकोटलाई प्रयोग गरेका थिए । सोही अवधिमा उनले विसं १८१९ मा नौतले दरबारको निर्माण गराएका थिए । शाहले विसं १८२५ मा काठमाडौँमाथि विजय प्राप्त गर्नुअघि यसै दरबारबाट राजकाज चलाएको इतिहासमा उल्लेख छ ।

आकर्षक काष्ठकला रहेको सो दरबार सामरिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । दरबारमा राजाको शयनकक्ष, रानीको खोपी, भारदारकक्ष, कैदी थुन्ने कालकोठरी, पूजा कक्ष, होम होमादि गर्ने कक्ष छन् । दरबारलाई सङ्ग्रहालय बनाइएपछि शाह र उनका रानीले प्रयोग गरेका सामग्री तथा उनीहरुको मूर्तिसमेत राखिएको छ ।

दरबार क्षेत्रमा रहेको गारदघर सबैभन्दा क्षति भएको छ । गारदघरको माथिल्लो तलाको आधा भाग नै भुइँमा खसेको छ भने छाना लगभग सबै भत्किएको छ । राजाले मनोरञ्जन लिने स्थलका रुपमा निर्माण गराएको रङ्गमहल पनि भत्किएको छ । दरबार क्षेत्रमा रहेको नारायण मन्दिरलगायत साना मन्दिरमा समेत क्षति पुगेको छ ।

भादगाउँले राजाको दरबार भनेर समेत चिनिने तुलजा भवानीको मन्दिरमा धेरै क्षति भएको स्थानीयवासी नारायणमान डङ्गोलले बताउनुभयो । “मन्दिरको माथिल्लो तला नै खसेको छ, दरबार क्षेत्र भूकम्पको एकै झड्काले स्वाहा भयो” उहाँले भन्नुभयो ।

नुवाकोटको प्रमुख धार्मिकस्थल भैरवी मन्दिर नियमित पूजाआजा सञ्चालन नै गर्न नसकिने गरी भत्किएको छ । मन्दिरको भुइँतलाको चारैतिरको गाह्रो भत्किएर मन्दिर उत्तरपूर्वी दिशामा ढल्किएको छ । दैनिक पूजा हुने सो मन्दिरमा यही वैशाख १३ गतेदेखि पूजा हुन सकेको छैन । मन्दिर यति जीर्ण बनेको छ कि जतिखेर पनि भत्किन सक्छ । चौँसठ्ठी वर्षदेखि मन्दिरको धामी बनेर पूजा गर्दै आउनुभएका हरिमानसिंह डङ्गोलले मन्दिर र मन्दिर क्षेत्रको सबै संरचना ध्वस्त भएको बताउनुभयो ।

मन्दिरसँगै रहेको नुवाकोटकै ठूलो घन्टा, मन्दिर अगाडिको लामपाटी सबै भत्किएको छ । भूकम्प आउँदा मन्दिरमै रहनुभएका पुजारी डङ्गोलले भन्नुभयो, “शनिबार भएकाले दर्शनार्थीको घुइँचो थियो । दर्शनार्थी गइसकेपछि दैनिक पूजा सकेर बाहिर निस्केको मात्र थिएँ, भूकम्प आइहाल्यो, हेर्दाहेर्दै मन्दिरलाई ध्वस्त बनायो ।”

चार सय वर्षभन्दा पुरानो सो मन्दिर नुवाकोटवासीको आस्थाको धरोहर हो । सिन्दूरे जात्रालगायत प्रमुख मेला तथा जात्रा यही मन्दिरमा सञ्चालन हुने गर्छ । दरबार र मन्दिरक्षेत्र मात्र होइन यो क्षेत्रमा रहेका पुराना घरसमेत ध्वस्त भएका छन् । “अब स्थानीयवासीलाई एउटै चिन्ताले सताएको छ, अब आउनै लागेको बर्खा । अहिले जीर्ण भएको ऐतिहासिक मन्दिर र दरबारलाई जोगाउनतिर नलाग्ने हो भने साउन–भदौको झरीले निमिट्यान्न बनाएर भत्काउन सक्छ” समितिका संयोजक रिमालले भन्नुभयो, “दरबार क्षेत्रलाई बर्खाबाट जोगाउने उपाय अहिले नै सोच्नुपर्छ, झरीले झनै भत्काउन सक्छ ।”

नुवाकोटको प्रमुख धार्मिक, ऐतिहासिक, पर्यटकीय सम्पदा ध्वस्त हुँदा समेत स्थानीय प्रशासन र जिल्लाका नेताहरुले चासोपूर्वक नलिएको स्थानीयवासीको गुनासो छ । “यतिका दिन भइसक्यो, न प्रमुख जिल्ला अधिकारी आए, न स्थानीय विकास अधिकारी आए, अरु बेला हप्तैपिच्छे घुम्न आउने हाकिमहरुले पनि अहिले मुख देखाउन आएका छैनन्” स्थानीयवासी रीना खनालले भन्नुभयो, “धार्मिक सम्पदा क्षति भएको जिल्लालाई आफ्नै जिल्लाका नेताहरुले पनि चासो दिएनन् ।” रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना