भक्तपुरको कला सङ्ग्रहालय बन्द

भक्तपुर, वैशाख २३ गते । भक्तपुरको दरवार क्षेत्रस्थित राष्ट्रिय कला सङ्ग्रहालय गत वैशाख १२ गते भएको भूकम्पका कारण क्षति पुगेपछि बन्द भएको छ ।

राणाकालीन दरवारका रूपमा रहेको पुरानो भवन भूकम्पले चर्केर बस्नै नहुने भएपछि सहरी विकास विभागका इञ्जिनियर टोलीले रातो स्टिकर टाँसेको छ ।

भवनको बाहिर हातै छिर्ने गरी धाँजा फाँटेर गाह्रो चर्किएको छ भने भवनभित्रको भित्तामा नराम्रोसँग क्षति पुगेको छ ।

भवनको माथिल्लो तलामा कार्यालयको काम सञ्चालन हुँदै आएकोमा भूकम्पपछि माथि जानै नहुने भएको छ ।

सङ्ग्रहालयकी प्रमुख अरुणा नकर्मीले वैशाख १२ गतेको भूकम्पले सङ्ग्रहालयमा नराम्रोसँग क्षति पु¥याएपछि कार्यालय सञ्चालनसमेत गर्न नपाएको बताउनुभयो ।

कार्यकक्षमा जान नसक्ने भएपछि सङ्ग्रहालय बन्दको सूचना टाँस गरेर सङ्ग्रहालयको तल्लो तलामा रहेको बगैँचामा बस्ने गरेको उहाँले बताउनुभयो ।

सङ्ग्रहालय प्रमुख नकर्मीले भन्नुभयो, “कार्यालयमा नराम्रोसँग क्षति पुगेपछि अहिले यही बगँैचामा बसेर सम्पदा नियाल्ने गरेको छु, अब यसलाई कसरी दुरुस्त बनाउने, सङ्ग्रहालयभित्र रहेका कलालाई कसरी जोगाउने, कसरी व्यबस्थापन गर्ने भन्ने चिन्तामै दिन बित्ने गरेको छ ।”

टोलीले सङ्ग्रहालयसँगै जोडिएको प्रहरी बिटको भवनमा पनि रातो स्टिकर टाँसेको छ । दरवारको सुरक्षार्थ खटिने प्रहरी बिटको भवनमा पनि क्षति भएकोले विभागले रातो स्टिकर टाँसेको छ ।

सङ्ग्रहालयसँगै जोडिएको ५५ झ्याले दरवार भने सुरक्षित रहेको छ । दरवारसँगै जोडिएको भक्तपुर नगरपालिकाको कार्यालय भवन पनि पूर्णरूपमा क्षति भएर पस्नै नहुने भएपछि यो भवनमा पनि रातो स्टिकर टाँसिएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना