• १३ वैशाख २०८१, बिहिबार

चरा संरक्षणका लागि ईको क्लव

blog

घोडाघोडीमा चरासंरक्षणका लागि विद्यालयस्तर सचेतनाका लागि गठन गरिएको ईको क्लव । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), बैशाख २८ गते । विश्व रामसार क्षेत्रमा सुचीकृत जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी ताल नेपालको पहिला बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोषणा भएलगतै चरा संरक्षणका लागि सरकारले चासो दिएको छ । 

वातावरण संरक्षण सँगसँगै चराको संरक्षण हुने भएकाले अहिले तालसँग जोडिएका विद्यालय सचेतना कार्यक्रम अन्तर्गत ईको क्लव गठन सुरु भएकोछ । डिभिजन वन कार्यालय पहलमानपुरको सहयोगमा घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चले सिमसार क्षेत्र वरपर रहेका विद्यालयमा ईको क्लव गठनलाई तिव्रता दिएको छ । 

गत मङ्गलबार ईको क्लव गठन सुरु गरिएको बताउँदै मञ्चका अध्यक्ष हेमबहादुर बमले १६ वटा विद्यालयमा ईको क्लव गठन हुने जानकारी दिनुभयो । एक जना फोकल पर्सनमा शिक्षक र संरक्षणमा प्रधानध्यापक रहने गरी ईको क्लव गठन गरिएको छ । ईको क्लवले पूर्णता पाएपछि फोकलपर्सन र संरक्षणलाई तालिम दिई संरक्षणको क्षेत्रमा विद्यालय सचेतना गतिविधिलाई अघि बढाइने जनाइएको छ ।

डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बर्ड सेन्चुरी घेषणा गरेपछि चरा संरक्षणका लागि सचेतनाका कार्यक्रममा जोड दिएको बताउनुभयो । उहाँले विद्यालयमा ईको क्लव गठन लगतै, चोरिशिकारी नियन्त्रण दल, सामुदायिक वन उपभोक्ता समुहलाई समेत सक्रिय बनाई संरक्षणका कार्यक्रममा जोड्ने बताउनुभयो । 

८९१ प्रजातीका चरामध्ये विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसार क्षेत्रमा ३६० प्रजातिको चराचुरुङ्गी पाइने चराविद्को भनाइ छ । घोडाघोडी सिमसारमा साइबेरिया, मङ्गोलियालगायत विभिन्न ठाउँबाट हिउँदे आगन्तुक चरा पनि आउनेगरेका छन् । यहाँ पाइने चरामध्ये ६४ प्रजातिका जलपंछी रहेका छन् । यसैगरी, १२ प्रजातिका विश्वमै दुर्लभ चरा पनि घोडाघोडी सिमसारमा पाइन्छन् ।

कैलो टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुरीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसेफिस्टो, लघु महाचिल लगायतका विश्वमै दुर्लभ चरा यो सिमसारमा पाइनेगरेको चराविद् डा. हेमसागर बरालले बताउनुभयो । विभिन्न प्रजातिका चरा पाइने घोडाघोडी सिमसारलाई २०७८ साल माघमा नेपालको पहिलो बर्ड सेन्चुरी घोषणगरी चरा बासस्थान संरक्षणमा काम गरिएकोछ ।