• १५ चैत २०८०, बिहिबार

उपत्यकामा आठ सब-स्टेसन निर्माणाधीन

blog

निर्माणाधीन टेकु, फुटुङ र चाँगुनारायण सवस्टेसनको अनुगमन भ्रमण गरी तोकिएकै समयमा सवस्टेसन निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिनुहुँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । तस्बिर : रासस

काठमाडौं, वैशाख २५ गते । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ  सब-स्टेसन निर्माण गरिरहेको छ ।

काठमाडौं उपत्यकामा चार सयदेखि एक सय ३२ केभी क्षमताका सब-स्टेसन निर्माणाधीन रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

भविष्यमा वृद्धि हुनसक्ने विद्युत्को सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५० को समयसीमा निर्धारण गरी काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रमा चरणबद्धरुपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

सन् २०५० सम्ममा काठमाडौं उपत्यकाको विद्युतको उच्चतम माग तीन हजार एक सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले थप २० वटा नयाँ सब-स्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

सब-स्टेसन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ । कूल दुई सय २० केभी प्रसारण संरचनाले काठमाडौं उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी ‘रिङ’ निर्माण गर्न सर्वेक्षण भइरहेको छ ।

हाल काठमाडौंको लप्सीफेदी, मातातीर्थ, चोभार, फुटुङ, टेकु, मूलपानी र भक्तपुरको ठिमी तथा चाँगुनारायणमा सब-स्टेसन निर्माणाधीन छन् । टेकु र चाँगुनारायण सब-स्टेसन निर्माण अन्तिम चरणमा छन् । दुवै सब-स्टेसन आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकाभित्रको विद्युतको बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माणाधीन सब-स्टेसन आयोजना जतिसक्दो छिट्टो सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

कार्यकारी घिसिङले निर्माणाधीन टेकु, फुटुङ र चाँगुनारायण सब-स्टेसनको अनुगमन भ्रमण गरी तोकिएकै समयमा सब-स्टेसन निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।

“यस वर्षको जाडोमा काठमाडौं उपत्यकामा विद्युतको माग त्यति बढेन, यसले गर्दा विद्युत् आपूर्ति व्यवस्थापनमा सहज भयो, आगामी वर्षको जाडोलाई ध्यान दिई त्यसभन्दा अगाडि नै सब-स्टेसनको निर्माण सक्नुपर्छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो “टेकु र फुटुङ सब-स्टेसन निर्माण सम्पन्न भएपछि काठमाडौँको विद्युत् माग र आपूर्तिको व्यवस्थापनमा धेरै सहज हुन्छ ।”

टेकुस्थिति ६६/११ केभी सब-स्टेसनको सुदृढीकरण गरी १३२/११ केभी र फुटुङमा १३२/११ केभीको नयाँ सब-स्टेसन निर्माण भइरहेका छन् । दुवै सब-स्टेसनमा ४५/४५ एमबिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर राखिने छ ।

बालाजु–चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सवस्टेसनमा ‘ट्यापिङ’ गरी त्यस क्षेत्रमा विद्युत आपूर्ति गरिने छ । टेकु सब-स्टेसनबाट स्थानीय रूपमा विद्युत आपूर्तिका लागि नौ वटा नयाँ फिडर निकालिने छ, जसले काठमाडौंको केन्द्र भागको विद्युत आपूर्तिलाई सहज बनाउने छ ।

काठमाडौं उपत्यकाको विद्युत आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सवस्टेसन निर्माण, सञ्चालनमा रहेका सवस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने लगायतका आयोजना सञ्चालित छन् ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी, एसियाली विकास बैङ्क (एडिबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अगाडि बढाइएको छ । 

काठमाडौं उपत्यकाको विद्युत आपूर्तिमा सुधार गर्न महत्त्वपूर्ण मानिएको थानकोट/चापागाउँ/भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरको खोकना, बुङ्मती, हरिसिद्धी र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौंको चोभारमा १३२/११ केभी सवस्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको छ । सवस्टेसनमा ४५ एमबिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहने छन् ।

सुख्खा बन्दरगाहा नजिक हिमाल सिमेन्टको जग्गामा सवस्टेसन निर्माणका लागि आवश्यकपर्ने १२ रोपनी जग्गाप्राप्तको प्रक्रिया अगाडि बढिरहेको छ । मातातीर्थबाट चोभारसम्म १३२ केभी प्रसारण लाइन बनिसकेको छ । चोभारमा सवस्टेसन बनाइ चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सवस्टेसनमा पुर्‍याइने छ ।

लगनखेल सवस्टेसनलाई सुदृढीकरण गरी १३२ केभी बनाइँदै छ । त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रूपमा चापागाउँ र हरिसिद्धीमा लाइन लगिने छ । ललितपुर क्षेत्रमा स्यूचाटार–पाटन–बानेश्वर ६६ केभी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ । यो लाइन अहिले नै ‘ओभर लोडेड’ छ ।

स्थानीयको अवरोधका कारण लप्सीफेदी ४०० र २२०/१३२/११ केभी सबस्टेसन निर्माण सुरु हुनसकेको छैन । तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा वितरणका लागि लप्सीफेदी सवस्टेसन निर्माण गर्न लागिएको हो लप्सीफेदीबाट चाँगुनारायण सब-स्टेसनसम्मको करिब १० किलोमिटर प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध छ । रासस