• १३ वैशाख २०८१, बिहिबार

महानगरले सुरु गर्‍यो काठमाडौँको तार व्यवस्थापन कार्य

blog

काठमाडौं, वैशाख २५ गते । काठमाडौं महानगरपालिकाले काठमाडौंका अव्यवस्थित तारहरूको व्यवस्थापन कार्य सुरु गरेको छ । सोमबार बिहान माइतीघर मण्डला क्षेत्रबाट अव्यवस्थित तार व्यवस्थापन सुरु भएको हो । महानगरपालिकाले नेपाल टेलिकम, वर्ल्डलिङ्क, बोर्डलिङ्क, भायनेट, वेवसर्भर लगायतका सम्बन्धित निकायहरूसँगको समन्वयमा तार व्यवस्थापन गर्न सुरु गरेको छ ।

तार व्यवस्थापन कार्यको शुभारम्भपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी निरीक्षक ईश्वर वाग्लेले सम्बन्धित सबै पक्षहरूसँगको छलफलपछि समन्वयमा नै अव्यवस्थित तार हटाउन सुरु गरिएको र यो अभियान काठमाडौंभरका अव्यवस्थित तार नहटाएसम्म जारी रहने उल्लेख गर्नुभयो । उहाँले अव्यवस्थित तारका कारण कतिपय दुर्घटना निम्तिरहेको र त्यसलाई कम गर्नका लागि पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबैको समन्वयमा हामीले काम सुरु गरेका हौँ । अव्यवस्थित तार हटाइएको हो । यो अभियान सबैतिर हुनेछ । भित्री बस्ती र बाहिरी बस्ती सबैमा हामीले अव्यवस्थित तार हटाउनेछौँ ।’

त्यस्तै तार व्यवस्थापनका लागि नेपाल टेलिकमबाट प्रतिनिधित्व गर्नुभएका पोखराज जोशीले नेपाल टेलिकमले आफ्नो तार सबै फाइबरबाट चलाइसकेको र तार पहिचान गरेर मात्रै काट्न आग्रह गरेको बताउनु भयो । उहाँले तार व्यवस्थापनको कार्य समन्वयमा नै सुरु भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘टेलिकमको तार हामीले काठमाडौंमा सबै फाइबरबाट चलाइसकेका छौँ । यहाँ टेलिकमको तार चिनिन्छ, राष्ट्रको सम्पत्ति बचाउनुपर्छ, हामीले एनटिसी लेखेका छौँ, चिनिन्छ । हामीले अव्यवस्थित राखेका छैनौँ ।’

त्यस्तै तार व्यवस्थापनका लागि वोर्डलिंकबाट प्रतिनिधित्व गर्नुभएका यादव तिमल्सिनाले मानवीय त्रुटिका कारण समस्या आइरहेको अवस्थालाई मध्यनजर गरी तार व्यवस्थापन सुरु गरिएको बताउनु भयो । उहाँले असरल्ल देखिएका तारहरूको व्यवस्थापनले नै सुन्दर काठमाडौं हुन मद्दत पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी यसको व्यवस्थापनमा लागिपरेका छौँ, फिल्डमा विभिन्न समस्या आउँछ, त्यसपछि काम गर्दै जाँदा मानवीय त्रुटिका कारण यो असरल्ल देखिएको हो, व्यवस्थापन गरेर जाँदा राम्रो होला । तार अव्यवस्थित बनाउने कुरामा पनि बेथिति बढेको रहेछ ।’

काठमाडौं महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिबिच आइतबार बसेको बैठकले सोमवारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो । यसअघि काठमाडौँ महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ गते भित्र तार व्यवस्थापन नगरे तार काटिदिने सूचना सार्वजनिक गरेको थियो ।