• १६ चैत २०८०, शुक्रबार

बेवारिसे बन्यो ऐतिहासिक महत्वको गर्भा दरबार

blog

बेवारिसे बनेको गर्भा दरबार । तस्बिर: अविनाश चौधरी

धनगढी, वैशाख २४ गते । ऐतिहासिक महत्वको गर्भा दरबार बेवारिसे बनेको छ । कैलालीको चुरे गाउँपालिका–४ खैरालामा रहेको राणाकालीन दरबार संरक्षण र प्रयोग नहुँदा जीर्ण हुँदै बेवारिसे बनेको हो ।  

कैयौँ वर्षदेखि प्रयोगमा नआएको दरबार अलपत्र अवस्थामा छ । छाना उप्किन थालेको दरबारको भित्ता पनि भत्किन थालेका छन् ।  त्यस्तै, झ्याल, ढोका सबै भत्किएका छन् । त्यसमा रहेका मूर्ति चोरी भइसकेका छन् । पर्यटन सम्भावनाको दरबार खण्डहरमा परिणत भएको छ । 

गर्भा दरबार अत्यधिक जीर्ण भइसकेकाले अब यसको मर्मत, सम्भार गर्न नसकिने चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो । ‘मर्मत, सम्भार गर्न सकिन्न’, उहाँले भन्नुभयो,‘अब पुरानो संरचना भत्काएर त्यस्तै नयाँ बनाउनुको अर्को विकल्प छैन ।’ 

तत्कालीन राणा शासकहरूले पोत (कर) उठाउने र मुद्दा मामिला मिलाउने उद्देश्यका साथ यो दरबार बनाएका बुझिएको छ । तर, ९५ वर्ष पुरानो दरबार २२ वर्षदेखि प्रयोगविहीन छ । स्थानीयका अनुसार १९७९ मा शिलान्यास गरिएको दरबार १९८४ मा बनाइएको थियो । यो दरबार बनाउन पाँच वर्ष लागेको थियो । 

दरबारमा ८३ झ्याल र ५३ वटा ढोका छन् । तीन तले दरबारको पर्खालमा मासको गारो पोतिएको थियो भने, जापानबाट ल्याइएको जस्तापाताले छाइएको छ । 

जीर्ण भइसकेको दरबार भत्काएर बनाउनका लागि सुदूरपश्चिम प्रदेश सरकारले २० करोड रुपियाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएको जनाइएको छ । तर, पुरातत्त्व विभागले अनुमति नदिँदा काम हुन नसकेको गाउँपालिकाका अध्यक्ष बोगटीले बताउनुभयो । उहाँका अनुसार अघिल्लो सरकारकै पालामा तीन वर्ष अगाडि डीपीआर बनेको थियो । ‘तर, दरबारको सय वर्ष नपुगेकाले पुरातत्त्व विभागले काम गर्न अनुमति दिएको छैन’, बोगटीले भन्नुभयो,‘सय वर्ष पुग्न अझै केही वर्ष बाँकी छ । अनि, बल्ल अनुमति हुन्छ ।’ 

प्रदेश सरकारले गर्भा दरबारलाई पर्यटकीय स्थल बनाउन खोजेको जनाइएको छ । त्यसका लागि पुरानो संरचनालाई भत्काएर पहिलेको जस्तै नयाँ दरबार बनाउने गाउँपालिकाका अध्यक्षले बताउनुभयो । अहिले बाटोको समस्या नरहेका कारण पर्यटन फस्टाउन सक्ने उहाँको बुझाइ छ । गौरीगङ्गा नगरपालिकाको चौमाला हुँदै गर्भा दरबारसम्म पुग्ने बाटो बनिसकेको छ । त्यस्तै, वडा नम्बर ४, २, १ हुँदै बाटो पालिका मुकाम सहजपुरमा पनि जोडिएको जनाइएको छ । दुईतिरबाट गर्भा दरबारसम्म पुग्न सकिने अध्यक्ष बोगटीले बताउनुभयो ।  

स्थानीयवासीको अनुसार विक्रम सम्वत २०३३ सालदेखि दरबारमा मान्छे बस्न छोडेका थिए । पछि यसैमा हुलाक र गाविस कार्यालय राखिएको थियो । तर, तत्कालीन १० वर्षे द्वन्द्वको क्रममा हुलाक र गाविस कार्यालयमा आगजनी भएपछि कुनै पनि प्रयोजनार्थ यो दरबार उपयोग भएको छैन । २०५७ सालबाट दरबारको स्याहार, सम्भार हुन छोडेको थियो । दरबारको १३ रोपनी जग्गामध्ये आधा स्थानीय बस्नेत निम्न माध्यमिक विद्यालय र आधा वडा कार्यालयको नाममा रहेको छ ।

दरबार पुनः निर्माणको काम नभएपछि खण्डहरमा परिणत भएको पूर्व वडा अध्यक्षसमेत रहनु भएका स्थानीय कृष्ण मल्लको भनाइ छ । आर्थिक वर्ष २०७७÷७८ मा प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट छुट्ट्याए पनि काम नभएपछि बजेट फ्रिज गएको उहाँले बताउनुभयो । 

यो दरबार सुरुमा श्रीबहादुर शमशेर दरबारको नामले चिनिएको बताइन्छ । खैरालाको भर्गा भन्ने स्थानमा रहेकाले पछि मात्रै यसको नाम गर्भा दरबार राखियो । दरबार खडक शमशेरले बनाए पनि राणाहरूले अंशबन्डा गर्दा गर्भा दरबार लेफ्टिनेन्ट जर्नेल बहादुर शमशेरको स्वामित्वमा आएको बताइएको छ । राणाहरूले छोडेको दरबार अब बेवारिसे अवस्थामा रहेको छ । 

Author

अविनाश चौधरी