• १६ चैत २०८०, शुक्रबार

राजनीतिक व्यवस्था परिवर्तनमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः सञ्चारमन्त्री शर्मा

blog

आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, वैशाख २४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक व्यवस्था परिवर्तन र लोकतन्त्रको रक्षामा नेपाली पत्रकारिताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज (आइतबार) यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै  उहाँले विभिन्न राजनीतिक आन्दोलनमा जनतामा जागरण ल्याउन पत्रकारिताले एतिहासिक भूमिका निर्वाह गरेको बताउनुभयो ।

“पञ्चायतकालको कालरात्रिमा जनतालाई जागरुक बनाउन नेपाली पत्रकारिता क्षेत्रले निर्वाह गरेको ऐतिहासिक भूमिका हामी युगयुगसम्म सम्झिरहने छौंँ”, उहाँले भन्नुभयो ।

राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने र यसमार्फत जनताको जीवनस्तरमा रुपान्तरण ल्याउनु राजनीति र पत्रकारिता दुवै क्षेत्रको दायित्व भएको उहाँको भनाइ छ । उहाँले समाजका हरेक क्षेत्रमा नकारात्मकताको प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई चिर्न पत्रकारिताको महत्त्वपूर्ण भूमिका हुनुपर्ने उल्लेख गर्नुभयो ।


“गलत क्रियाकलापको आलोचना स्वभाविकै भए पनि राम्रा कामलाई पनि नकारात्मक ढङ्ले पस्कने प्रवृत्तिको विकास हुन थालेको छ । यसलाई चिर्दै आमसञ्चारमाध्यमले विभिन्न क्षेत्रमा भइरहेका सकारात्मक प्रयासलाई प्रस्तुत गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले सञ्चार संस्थाको सवलीकरण र श्रमजीवी पत्रकारको भौतिक तथा पेशागत सुरक्षाप्रति सरकार गम्भीर भएको स्पष्ट पार्नुभयो । आमसञ्चारमाध्यमलाई राष्ट्रिय उद्योग सरह मान्यता दिने, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चारमाध्यमको प्रवद्र्धन सरकारको प्राथमिकतामा रहेको उहाँको भनाइ छ । श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनसँगै पत्रकारको दक्षता अभिवृद्धिका लागि सङ्घ र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना लगायतका मुद्दा प्राथमिकतामा रहेको उहाँले जानकारी दिनुभयो ।

पत्रकार पुरस्कृत  
सरकारले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा वरिष्ठ पत्रकार राजेन्द्र दाहाल र बलराम थापालाई सम्मान गरेको छ ।

आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार मन्त्री रेखा शर्माद्वारा वरिष्ठ पत्रकार सम्मानबाट पत्रकार राजेन्द्र दाहाल र बलराम थापा सम्मानित हुनुभएको हो ।

राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अन्य छ जना पत्रकारसमेत सम्मानित हुनुभएको छ । सम्मानित हुनेमा पत्रकार अनिता विन्दु, अम्बिका दाहाल, गणेश लम्साल, गम्भीरा सहनी, रामकृष्ण ज्ञवाली र लक्ष्मी आचार्य हुनुहुन्छ ।

मन्त्रालयले निष्पक्ष, उत्तरदायी, खोजमूलक र विश्लेषनात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवर्द्धन र जनतालाई सुसूचित गराउन योगदान पुर्‍याएको भन्दै उहाँहरुलाई सम्मान गरेको हो ।

पुस्कृत पत्रकार राजेन्द्र दाहालले आमसञ्चार तथा पत्रकारितासम्बन्धी अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने संस्थाको स्थापना गर्न सरकारको ध्यानआर्कषण गराउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रको संरक्षण र सफलताका लागि राम्रो पत्रकारिता जरुरी छ । त्यसका लागि अहिले आमसञ्चारसम्बन्धी अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने भरपर्दो संस्थाको खाँचो छ ।”

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले आमसञ्चार तथा पत्रकारितामा आवश्यक लगानी र नीति बनाउनतर्फ सरकारको ध्यानआर्कषण गराउनुभयो ।

वरिष्ठ पत्रकारबाट सम्मानित हुनेलाई कदरपत्रसहित रु दुई लाख र राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृतलाई कदरपत्रसहित रु एक लाख प्रदान गरिएको छ ।