• १३ वैशाख २०८१, बिहिबार

‘बेथानचोक : मिनी लक्जम्बर्ग’

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, वैशाख २४ गते । लक्जम्बर्गका सामाजिक विकास सहयोग एवं मानवीय मामिलामन्त्री फ्रन्ज फायोटले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका र लक्जम्बर्ग उस्तै लागेको बताउनुभएको छ। शुक्रबार एक कार्यक्रमका लागि बेथानचोक आउनुभएका मन्त्री फायोटले बेथानचोकको आलु खेती, रुख बिरुवा र भौगोलिक स्वरूप देख्दा आफूलाई लक्जम्बर्गमै रहेको आभास भएको बताउनुभएको हो। 

“मलाई बेथानचोक र लक्जम्बर्ग उस्तै लाग्यो, यता आउँदा बाटोमा देखेको आलु खेती, यहाँका रुख बिरुवा देख्दा म लक्जम्बर्गमै छुझैँ लागेको छ। लक्जम्बर्गको मुख्य उत्पादन पनि आलु नै हो, बेथानचोकमा पनि आलु धेरै उत्पादन हुँदो रहेछ,” मन्त्री फायोटले भन्नुभयो। ग्रामीण विकास महिला तरकारी तथा फलफूल सहकारी संस्था लिमिटेडका पदाधिकारी तथा स्थानीयसँगको भेटघाट कार्यक्रममा उहाँले बेथानचोकबाट आफू धेरै प्रभावित भएको बताउनुभयो। ग्रामीण विकास संस्था नामक गैरसरकारी संस्थामार्फत लक्जम्बर्गको एईआईएन लक्जम्बर्ग नामक संस्थाले बेथानचोक गाउँपालिकामा जलवायु अनुकूलन, विद्यालय भवन निर्माण, सहकारीका माध्यमबाट फलफूल उत्पादन तथा बजारीकरणका लागि सहयोग गर्दै आएको छ। 

आफ्नो गाउँमा आउनुभएका लक्जम्बर्गका मन्त्रीसमक्ष स्थानीयले कोल्ड स्टोर (शीतभण्डार) भएमा गाउँमा उत्पादित तरकारीको भण्डारणका लागि सहज हुने बताएपछि उहाँले गाउँमा बाटो बन्ने क्रममा रहेकाले गाउँमा उत्पादित कृषि उपज काठमाडौँसम्म पु-याउन सकिने धारणा व्यक्त गर्दै लक्जम्बर्ग सरकारले गाउँपालिकासँग मिलेर अन्य आवश्यकताका बारेमा सहकार्य गर्न सकिने बताउनुभएको थियो। 

“४१४ जनाबाट सुरु भएको सहकारीमा एक हजार सात जना पुग्नुभएछ, यही नै समृद्धिको बाटो हो। बेथानचोक गाउँपालिका एक दिन मिनी लक्जम्बर्ग बन्नेछ” मन्त्री फायोटले थप्नुभयो। उहाँले करेसाबारी, व्यावसायिक खेती, कृषि तथा पशुपालन नै बेथानचोकको समृद्धि हुने बताउनुभयो। मन्त्री फायोटले स्थानीयसँग छलफल गरी कामीडाँडामा ग्रामीण विकास संस्थासँगको सहकार्यमा एईआईएन लक्जम्बर्गको सहयोगमा एक करोड १५ लाख रुपियाँको लागतमा बनेको कपेर महाङ्काल आधारभूत विद्यालयको भवन निरीक्षण गर्नुभएको थियो। मन्त्री फायोटले भकारो सुधार, करेसाबारी, व्यावसायिक खेती, कृषि तथा पशुपालनको निरीक्षण गर्नुभएको थियो। 

भेटघाटमा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले सन् १९७५ देखि नेपाल र लग्जम्बर्गबीच मित्रता कायम हुँदै दुई देशबीच आपसी सहयोग जारी रहेको बताउनुभयो। उहाँले बेथानचोकको जलवायु अनुकूलन, विद्यालय भवन निर्माण, सहकारी व्यवस्थापनका माध्यमबाट कृषि तथा फलफूल उत्पादन तथा बजारीकरण, भकारो सुधारलगायतका गतिविधिमा एईआईएन लक्जम्बर्गले सहयोग पु-याएको बताउनुभयो।