• ८ वैशाख २०८१, शनिबार

भुटानी शरणार्थी प्रकरणबारे प्रधानमन्त्री भन्‍नुहुन्छ : 'ट्रेलर' देखायौँ, 'फिल्म' बाँकी छ

blog

नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर प्रदीपराज वन्त

काठमाडौं, वैशाख २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारसम्बन्धी ठूला फाइल खुल्दै जाने बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले अब भ्रष्टाचारका ठूला फाइल खुल्दै जाने बताउनुभएको हो ।

प्रधानमन्त्रीले कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने औँल्याउनुभयो । उहाँले अहिलेको नेपालीलाई भुटानी शरणार्थी बनाइ बेच्ने कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्नुहुँदै फिल्म देख्न बाँकी रहेको बताउनुभयो । उहाँले अब आफूहरूलाई ठूला घेराबन्दी र दबाबहरू आउनसक्ने भन्दै उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवी जनसमुदाय साथमा भएसम्म कसैले केही गर्न नसक्ने भनाइ व्यक्त गर्नुभयो ।


‘‘मैले घोषणा गरेको थिएँ, अब भ्रष्टाचारीको फाइल खोलिन्छ, कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ । यो सुरुवात मात्रै हो । यो ट्रेलर मात्रै हो, हेर्दै जानुस्, सिङ्गै फिल्म देखिन्छ । सिङ्गै फिल्म देखिनेवाला छ । त्यसपछि पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाब आउलान्, धम्कीहरू होलान्, धेरै चिजहरू हुनसक्छ, यो बीचमा तर हाम्रो उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवी जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी दबाब र धम्कीको सामना गरिनेछ ।’’

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘म लगायत केही नेता साथीहरू माइतीघर मण्डलाको चिसो पिच बाटोमा पलेँटी कसेर बसेका थियौँ । धेरै थिएनौँ । त्यतिबेला सरकारमा हुनेहरूले र अहिले भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने मान्छे मध्येकाहरुले बडो व्यङ्ग्य गरेर चिसोमा प्रचण्डको हालतमा हेर त भन्थे, माओवादी कमजोर भएको छ, ३२ सिटे हाम्रो नामाकरण भएको छ, हामी फेरि एक पटक गर्जियौँ भने बहुमतमा हामी पुग्छौँ ।’’

प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीलाई ३२ सिटे भन्ने गरेको उल्लेख गर्दै फेरि एक पटक गिर्जनसके बहुमतमा पुग्ने बताउनुभयो ।