• १३ वैशाख २०८१, बिहिबार

राजदेवीमा भक्तजनको भीड

blog

जीवछ यादव

लहान, वैशाख २२ गते । लहान नगरपालिका–१५, ढोडनास्थित पञ्चावती राजदेवी मन्दिरमा यस वर्ष बढी भक्तजन आउने अनुमान गरिएको छ। राजदेवी मन्दिर चण्डीपूर्णिमाको दिन गढीमाईपछि बलि प्रदान हुने दोस्रो धार्मिक पर्यटकीय स्थलका रूपमा रहेको छ।

धार्मिक पर्यटकीय क्षेत्रका रूपमा सूचीकृत सलहेश क्षेत्रअन्तर्गतको राजदेवी मन्दिरमा चण्डीपूर्णिमाको दिन वर्षमा एक पटक ठूलो मेला लाग्ने गर्दछ। यस वर्ष वैशाख २२ गते शुक्रबार मन्दिरको परिसरमा बलि प्रदान र दर्शनका लागि आउने भक्तजनको सङ्ख्या उल्लेखनीय रूपमा बढ्ने अनुमान रहेको मन्दिर संरक्षण समितिका सचिव वीरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “यस वर्ष १० लाख भक्तजन आउने अनुमान गरेर नौवटा उपसमिति गठन गरी व्यवस्थापनमा जुटेका छौँ।”

सचिव चौधरीका अनुसार गत वर्ष १९ हजार बोकाको बलि प्रदान भएको थियो भने यस वर्ष २५ हजार पुग्ने अनुमान छ। पाँच/दस रुपियाँ भेटी चढाउँदा गत वर्ष २५ लाख आर्थिक सङ्कलन भएको थियो। 

मन्दिरको बर्सेनि आम्दानी ४० लाख रहेको छ।  राजदेवी मन्दिरको महिमा विस्तार हुँदै गएपछि प्रदेश सभाका सदस्यद्वय राजेन्द्रप्रसाद चौधरी र लगनलाल चौधरीले विकास कोषबाट ५० लाख र सिरहा–३ का प्रतिनिधि सभा सदस्य लीलानाथ श्रेष्ठले १० लाख गरेको सहयोगबाट धर्मशाला निर्माण सुरु भइसकेको छ। 

मन्दिर संरक्षण समितिका सल्लाहकार तथा मन्दिरका पुजारी भट्ट परिवारका गौरीबहादुर भट्ट भन्नुहुन्छ, “२०४९ सालभन्दा अघि ढोडना गाउँका ४१७ घरपरिवारले मात्रै पूजा गर्दथे। २०४९ सालमा मन्दिर निर्माण भएपछि बाहिरका भक्तजनले गर्ने भाकलअनुसार मनोकामना पूरा हुन थालेपछि नेपाल भारतका लाखौँ भक्तजनको चण्डीपूर्णिमामा ओइरो नै लाग्न थाल्यो। खास गरेर सन्तान नहुनेहरूले भाकल गरेर गएपछि सन्तान प्राप्ति भएको प्रचारप्रसारले राजदेवी मन्दिर धार्मिक पर्यटकीय क्षेत्रको रूप लिएको हो।”

तत्कालीन प्रधानमन्त्री मोहनशमशेर गाईघाटबाट हात्तीमा सवार भएर राजदेवी मन्दिर भएको ठाउँमा आउँदा हात्तीसहित माउते पनि हराएको थियो। ढोडना गाउँ वरिपरि गोठमा पालेका पशुहरू मर्न थालेपछि स्थानीयवासीले राजदेवीको पूजा गरेपछि पशु र मानिसहरूको रक्षा भएकाले जङ्गलमा रहेको राजदेवीको परापूर्वकालदेखि पूजा गर्दै आइरहेको पुजारी भट्टले सुनाउनुभयो।

धार्मिक पर्यटकीय क्षेत्रमा विकास हुन थालेपछि राजदेवी मन्दिर वरिपरि जमिनको मूल्य कट्ठाको ५० लाख भएको छ। लहान–१२ र २२ मा रहेको सलहेश फूलबारी र लहान–१५ मा रहेको राजदेवी मन्दिरले धार्मिक पर्यटक भित्र्याउन सफल भइसकेकोले यसको विकासका लागि लहान नगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग समन्वय गरी अघि बढ्न आवश्यक कार्य गरिरहेको लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो।