• ८ वैशाख २०८१, शनिबार

एमाले केन्द्रीय कमिटी बैठकको तयारी

blog

दमक समाचारदाता

दमक, वैशाख २२ गते । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक वैशाख २८ देखि ३० गतेसम्म दमकमा हुने निश्चित भएपछि तयारी सुरु भएको छ। पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगरमा बैठक आयोजना हुने निश्चित भएको जनाइएको छ।

नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीका अनुसार केन्द्रीय बैठक दमकमा हुने निश्चित भएपश्चात् आवश्यक तयारी सुरु गरिएको छ। वैशाख २८ गते आमसभा उद्घाटन गरेर २९ र ३० गते बैठक आयोजना हुने उहाँले बताउनुभयो। झापा जिल्ला इन्चार्ज रहनुभएका पूर्वमन्त्री तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलको संयोजकत्वमा  समिति गठन गरिएको छ। यस्तै आवश्यकताअनुसार उपसमिति बनाइएको कार्कीले जनाउनुभयो।

कार्यकर्ताको घरमा नेता 

बैठकमा सहभागी हुने पार्टीका पदाधिकारी तथा पूर्वमन्त्रीहरू सहित नेताहरूलाई कार्यकर्ताको घरमा राखिने गरी तयारी भएको छ। “नेता र कार्यकर्ताको दूरी बढ्दै गएको गुनासो आइरहेको छ, हामी सकेसम्म नेतालाई कार्यकर्ताको घरमा बासको व्यवस्था मिलाउँछाैँ,” आवास तथा खाद्य व्यवस्थापन समितिका संयोजक होमबहादुर थापाले भन्नुभयो।

दमकसहित बिर्तामोडलगायत आसपासका होटलमा पनि नेताहरूलाई राखिने बताइएको छ  जनवर्गीय सङ्गठनका प्रमुख तथा पदाधिकारीहरू सहित सिङ्गो पार्टीका उपल्लो तहका सबै नेता आउने भएकाले कार्यकर्ताको घरमा र स्थानीय लजहरूमा राख्ने व्यवस्था मिलाइने थापाले बताउनुभयो।

पर्यटकीय स्थलको भ्रमण 

बैठकपछि पार्टीका पदाधिकारी तथा केन्द्रीय नेताहरूलाई झापा जिल्लाका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमणको कार्यक्रम पनि राखिएको यातायात व्यवस्थापन समिति संयोजक इन्द्र भण्डारीले बताउनुभयो । जिल्लाका पर्यटकीय स्थलहरूको पहिचानमा समेत यसले टेवा पुग्ने अपेक्षा लिएका छाैँ, उहाँले भन्नुभयो।