• ८ वैशाख २०८१, शनिबार

तीन सडकको निर्माण अवरुद्ध

blog

गाईघाट समाचारदाता

गाईघाट, वैशाख २२ गते । त्रियुगा नगरपालिका–१०, बोक्सेस्थित करमगाछी–नयाँबस्ती–घलेटोल–गाईघाट खण्डको सडक निर्माण रोकिएको छ। पूर्वाधार विकास कार्यालय उदयपुरले घलेटोल क्षेत्रमा खानेपानीको पाइप फुटेको भन्दै तत्काल काम रोक्न भनी निर्माण कम्पनीलाई पत्राचार गरेपछि बुधबारदेखि सो योजनाको काम रोकिएको हो।

निर्माण कम्पनीले सडक स्तरोन्नतिसँगै दुवैतर्फको नाला निर्माण गरी सबबेस लगाउने क्रममा साना सहरी खानेपानी योजनाबाट सो क्षेत्रमा वितरण गरिएको खानेपानीका पाइप खनिएको र त्यसबाट पानी चुहिएर निर्माणाधीन सडकसमेत प्रभावित भएको भन्दै वडा नं. १० का अध्यक्ष र निर्माण कम्पनीका ठेकेदारबीच विवादसमेत उत्पन्न भएकाले पूर्वाधार विकास कार्यालयले सडक निर्माणको काम रोकेको हो।

कृष्णलक्ष्मी निर्माण सेवा काभ्रेपलाञ्चोकले मूल्य अभिवृद्धि करसहित चार करोड २० लाख ३१ हजार रुपियाँको लागतमा सम्पन्न गर्ने गरी कोशी प्रदेश सरकारको लगानीमा निर्माण सुरु गरेको दुई हजार तीन सय मिटर लामो सो सडकको धमाधम स्तरोन्नति भइरहेका बेला काम गर्ने वातावरण नभएको भन्दै पूर्वाघार कार्यालयले निर्माण रोकेको सो कार्यालयका इन्जिनियर नीरज कर्णले बताउनुभयो। 

निर्माण कम्पनीका सीता बस्नेतले घलेटोल उत्तरतर्फको काम रोकिएको भए पनि अन्य क्षेत्रको काम भने धमाधम सञ्चालन भइरहेको बताउनुभयो तर ठेक्का सम्झौतामा उल्लेख भएअनुसार आउँदो जेठ २२ गतेभित्र भने कुनै पनि हालतमा निर्माण सम्पन्न गर्न नसकिने उहाँले बताउनुभयो।

त्यसो त पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का लगाइएका अन्य योजनाको पनि निर्माण हुन सकेको छैन। बजेटको स्रोत सुनिश्चितता नभएकाले काम गर्ने निर्माण व्यवसायीलाई बिलबमोजिम रकम भुक्तानी गर्न नसकिने स्थिति आएकोले प्राविधिकबाट मौखिक रूपमा काम नगर्न भनेपछि आपूmहरूले पनि सडक निर्माणको काम रोकेको निर्माण कम्पनीका ठेकेदारहरूको भनाइ छ।

कोशी प्रदेश सरकार, यातायात पूर्वाधार निर्देशनालयमार्फत पूर्वाधार कार्यालय उदयपुरको रेखदेखमा सञ्चालित ती योजना २०७९ साल माघ ६ गते सम्झौता भई आउँदो जेठ २२ गतेसम्ममा निर्माण सम्पन्न हुनुपर्ने हो तर बजेटको स्रोत सुनिश्चितता नभएकाले काम अगाडि बढाउन नसकिएको पूर्वाधार कार्यालयका साइट इन्जिनियर सत्यनारायण साहले बताउनुभयो।

उहाँका अनुसार देवीरमण निर्माण सेवा ललितपुरले ठेक्का लिएको पाँच करोड ८२ लाख ५२ हजार २२५ रुपियाँको लागतमा सम्पन्न हुने शिवालय टोल त्रियुगा नगरपालिका–११ देखि त्रियुगा नदीसम्मको तीन किलोमिटर सडक र पाँच करोड ३४ लाख ६५ हजार रुपियाँको लागतमा ठेक्का लगाइएको गैरुन रातमाटे, इसलामपुर आर्यघाट सडक त्रिनपा–९ को पनि निर्माण हुन सकेको छैन।

स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसमेतले बजेटको स्रोत सुनिश्चितता नगरी अनुमानका भरमा यसरी योजना बनाउने, ठेक्का लगाउने र बीचैमा निर्माणको काम रोकिनेजस्ता कार्यले प्राविधिक कर्मचारी, निर्माण व्यवसायी र सर्वसाधारण आमउपभोक्तासमेतलाई सास्ती हुने गरेको स्थानीय बुद्धिजीवीको भनाइ छ।