• १३ वैशाख २०८१, बिहिबार

विश्व शान्तिका अग्रदूत गौतमबुद्ध : मुख्यमन्त्री कार्की

blog

विराटनगर, वैशाख  २२ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २५६७औँ बुद्ध जयन्तीको अवसरमा देश विदेशमा बस्नु हुने दाजुभाइ तथा दिदीबहिनीसहित सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले आज विज्ञप्ति जारी गर्दै राष्ट्रका गौरव एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्धको वैशाख शुक्ल पक्षको पूर्णिमाको दिन त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेकाले यस तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूले गौतम बुद्धप्रति भक्ति भाव व्यक्त गर्ने पावन दिनका रूपमा बुद्धजयन्ती मनाउने उल्लेख गर्नुभएको छ । 

लुम्बिनीमा जन्मेका सिद्धार्थले बोधगयामा बुद्धत्व प्राप्त गरी सारनाथमा पाँच जना भिक्षुलाई उपदेश दिएर सुरु गरेको ९धर्मचक्र प्रवर्तन० बौद्ध धर्म अहिले विश्वका प्रमुखधर्महरू मध्ये एक भएको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

“शान्ति, सत्य, अहिंसा अनि सरलताका लागि बुद्ध संसारका महान् गुरु हुन् । आज विश्व जगत् बुद्धको यिनै आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ । पच्चीस सय वर्षभन्दाअघि बुद्धले प्राप्त गरेको ज्ञानको अविरल ज्योतिले विश्व मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको छ । उहाँको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ”, मुख्यमन्त्री कार्कीले भन्नुभएको छ ।

उहाँले बुद्ध जयन्तीको यस महत्त्वपूर्ण दिनले हामी सबैलाई एकआपसमा मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् साथै राष्ट्रियता तथा पारस्परिक एकता र आपसी सद्भावलाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्नुभएको छ । 

शुभकामना सन्देशमा भनिएको छ, “हाम्रा जुनसुकै पर्वहरू सबै नेपाली मनलाई राष्ट्रिय एकताको एउटै सूत्रमा बाँध्ने माध्यम हुन्  र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित पुनः बुद्धजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दछु ।”