• ११ वैशाख २०८१, मङ्गलबार

पूर्वमन्त्री रायमाझी फरार

blog

काठमाडौँ, वैशाख २२ गते । नक्कली भुटानी शरणार्थी बनाई नेपाली युवालाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन हुनुभएको छ। 

प्रनिनिधि सभाका सभामुख देवराज घिमिरेसँगै बुधबार अर्घाखाँचीमा आयोजना गरिएको एक कार्यक्रममा अतिथिका रूपमा उपस्थित हुनुभएका रायमाझी काठमाडौँ आउने क्रममा बुटवलबाट सम्पर्कविहीन हुनुभएको हो।

रायमाझीले प्रयोग गर्दै आएको प्रदेश–३–०१–०२२ च–०५८२ नम्बरको टाटा हेक्सा गाडी बिहीबार दिउँसो चितवनबाट मुग्लिन हुँदै काठमाडौँ आएको छ। सो गाडीमा रायमाझी आफैँ काठमाडौँतर्फ आइरहेको अनुमान गरी पिछा गरेकोमा काठमाडौँ आइपुग्दा भने गाडीमा चालक मात्र रहेको पाइएको प्रहरीले जनाएको छ।

रायमाझी सो गाडीमा नआएको हो वा बीच बाटोबाटै फरार भएको हो भन्नेबारे यकिन भएको छैन। रायमाझी सम्पर्कविहीन भएको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयो।

नक्कली भुटानी शरणार्थी बनाउन प्रमुख भूमिका खेलेको आरोपमा प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई बुधबार पक्राउ गरेको थियो। 

२०७८ साउन २७ देखि २०७९ असोज २ सम्म गृहसचिव रहेका पाण्डेले सङ्गठित गिरोहसँग मिलेमतो गरी नक्कली शरणार्थी बनाउन नीतिगत निर्णय गराएको र रकमसमेत लेनदेन गरेको खुलेको प्रहरीको दाबी छ।

काठमाडौँ जिल्ला अदालतले सचिव पाण्डेलाई तीन दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमतिसमेत दिएको छ। एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई प्रहरीले बुधबार बुटवलबाट पक्राउ गरी काठमाडौँ ल्याएर अदालतबाट थुनामा राख्न अनुमति लिएको छ। यस प्रकरणका अर्का योजनाकार पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको थियो। ‘बादल’का छोरा प्रतीक तथा पक्राउ परेका इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएकोमा प्रहरीले अझै नियन्त्रणमा लिएको छैन।

परिसरका प्रवक्ता सीताराम रिजालले आठजना पक्राउ परेको र अझै १०/१२ जना अनुसन्धानमा तानिनसक्ने बताउनुभयो। राई, पाण्डे र रायमाझीसँगै यसअघि पक्राउ परेका दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङसँग प्रहरीले बयान लिइरहेको छ।

सो प्रकरणको अनुसन्धान गरिरहेको काठमाडौँ प्रहरी परिसरमा हालसम्म १०६ जना पीडितका २० वटा उजुरी दर्ता भएका छन्। पीडितले दिएको जाहेरीमा एक जनाबाट १० देखि ५० लाख रुपियाँसम्म ठगी गरिएको आरोप छ।

सो प्रकरणमा प्राप्त भएका कागजात र प्रमाणलाई केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ। गिरोहले झन्डै नौ सय व्यक्तिबाट एक अर्ब रुपियाँभन्दा बढी ठगी गरेको अनुमान गरिएको छ।

गिरोहका सदस्य पक्राउसँगै राजनीतिक वृत्तमा समर्थन र विरोध भएको छ। एमाले सचिव टोपबहादुर रायमाझीमाथि पक्राउ पुर्जी जारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बहालवाला सांसद र पूर्वउपप्रधानमन्त्रीलाई पक्राउ गरेर हतकडी लगाउन हतार नगर्न चेतावनी दिनुभएको छ।

यसै विषयलाई लिएर बिहीबार अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर रायमाझीलाई बाटोबाटै पक्राउ गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको थियो। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर ठगी गर्ने जोसुकै भए पनि कानुनी दायरामा ल्याउन माग गर्नुभएको छ।