• ८ वैशाख २०८१, शनिबार

एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हो: प्रधानमन्त्री

blog

काठमाडौँ, वैशाख २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुने बताउनुभएको छ । 

२५६७औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बुद्धले गर्नुभएको त्याग, लिनुभएको विचार र अभ्यास नेपालीका लागि विशेष ऐतिहासिक गौरवका विषय भएको उहाँले उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “नेपालको भूमिमा जन्मिनुभएका शान्तिका अग्रदूत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गर्नुभएको प्रसङ्ग आज पनि उत्तिकै महत्वपूर्ण मानिन्छ, बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेका हुन् ।” 

प्रधानमन्त्री दाहालले बुद्ध दर्शन, बुद्धको जन्मभूमि लुम्बिनी र महत्वपूर्ण सबै बौद्ध क्षेत्रहरूको प्रवद्र्धन र विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको जानकारी गराउँदै बुद्धजयन्तीले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । सन्देशमा भनिएको छ, “बौद्ध धर्मावलम्बीलगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, दीर्घायु, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।” नेपालको लुम्बिनीमा जन्मिनुभएका बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहिआएको छ ।

त्यस्तै गरी प्रधानमन्त्री दाहालले किरातहरूको महान् पर्व उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका किराँत समुदायलगायत सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, दीर्घायु र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा भन्नुभएको छ, नेपाल बहु जातीय, बहुभाषिक, बहु धार्मिक र बहु सांस्कृतिक विशेषतायुक्त स्वाधीन र समुन् मुलुक हो । हाम्रा चाडपर्व, भेसभुसा, संस्कार ( संस्कृतिहरू राष्ट्रिय एकताका सेतु मात्र नभएर समुन्नत नेपाल निर्माणका आधारशिलासमेत हुन् । ऐतिहासिक कालदेखि आफ्नो जीवन वृत्तिका क्रममा विभिन्न जाति र समुदायले हासिल गरेका अनुभव र प्राप्त ज्ञानको शृङ्खला नै सभ्यता र संस्कृतिको स्रोत पनि हो । यस अर्थमा नेपालका विभिन्न जातिहरूले मनाउने पर्वहरू हाम्रा ऐतिहासिक गौरव गाथा र प्रेरणाका स्रोत हुन् ।

उँधौली पर्व किरात समुदायका साथै उत्पादनशील चेतका समस्त नेपालीहरूको समेत पर्वको रूपमा स्थापित हुँदै गएको र नेपालको संविधानले सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारको संवैधानिक व्यवस्था गरेको बताउनु भएको छ । 

शुभकामना सन्देश विस्तृतमा: