• १६ चैत २०८०, शुक्रबार

रातो मच्छिन्द्रनाथलाई क्रेनको टेको

blog

ललितपुर, वैशाख २२ गते । सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई ढल्न नदिन क्रेनले अड्याउनुपरेको छ। निर्माण समयदेखि नै रथ बाङ्गो भएकाले जात्रा खर्च पनि बढेको छ। निर्माण कार्यमा प्रत्यक्ष संलग्न हुनेहरू रथ बाङ्गो निर्माण हुनुमा आफूहरूको दोष नरहेको तर्क गर्छन्। यता व्यवस्थापन हेर्ने निकायका पदाधिकारी भने आफूहरू अन्योलमा रहेको बताउँछन्। 

यस पटक रथजात्राका क्रममा ललितपुरको थैना र लगनखेलमा गरी दुई पटक क्रेनको प्रयोग गर्नुपरेको छ। रथ बाङ्गिएका कारण रथभित्र राखिएको रातो मच्छिन्द्रनाथको मूर्तिको टाउको पनि बाङ्गो हुन पुगेको छ।

रातो मच्छिन्द्रनाथका पुजारी सउ शाक्यले भन्नुभयो, “रथ बाङ्गो भएकाले मूर्तिको टाउको पनि बाङ्गो हुन पुगेको हो। टाउको बाङ्गो हुँदैमा डराउनुपर्दैन।”

रथ भत्किनु वा ढल्नुलाई राम्रो सङ्केतका रूपमा लिइँदैन। त्यसैले यसलाई ढल्न नदिन क्रेनको सहायता लिनुपरेको हो। थैनामा रथ ढल्न लागेपछि त्यसलाई अड्याउन प्रतिघण्टा १२ हजार रुपियाँका दरले क्रेन भाडामा लिनुपरेको थियो। गुठी संस्थान, ललितपुर कार्यालयका अनुसार निजी क्षेत्रको सो क्रेन ग्यारेजबाट निस्किएदेखिको समय गणना गरी शुल्क तिर्नुपरेको छ। सो दिन क्रेनलाई चार घण्टासम्म प्रयोगमा ल्याइएको थियो।

बुधबार राति करिब ८ बजे रथ लगनखेल ल्याइपु-याउँदा निकै बाङ्गो भएपछि नजिकै रहेको नेपाल विद्युत् प्राधिकरणसँग गुहार मागेर क्रेन झिकाइएको थियो। बुधबार रातभरि र बिहीबार अपराह्न ५ बजेसम्म क्रेन प्रयोग गरिएको छ। “बनाउँदादेखि नै रथ हल्का बाङ्गो थियो। भनेका कुरा ल्याइदिएकै थियौँ तर किन बाङ्गो निर्माण गरियो भन्ने प्राविधिक कुरा बुझ्न सकेका छैनौँ,” उहाँले थप्नुभयो, “रथ बाङ्गो हुँदा क्रेन, डोरीलगायतका सामग्रीका लागि थप खर्च भएको छ। यसले लागत बढाएको छ।” संस्थानले रथजात्राका लागि करिब ७० लाख रुपियाँ विनियोजन गरेको छ। रथजात्रा सकिएपछि मात्र खर्च यकिन हुने बताइएको छ। 

रथका लागि काठको काम वाराही जातिले गर्छन् भने डोरी कस्ने काम यँवालले गर्छन्। वाराही नाइके दिलकुमार वाराहीले बनाउँदा रथ ठिक आकारको भएको तर पछि कसरी बाङ्गियो भन्ने आफूहरूलाई थाहा नभएको तर्क गर्नुभयो। “रथमा प्रयोग गर्ने सामान पुसको पहिलो हप्तासम्ममा ल्याइदिनु भनेका थियौँ तर चैतको तेस्रो हप्तामा मात्र पायौँ। ती सामान सुक्न पाएनन्, काँचा भए। त्यसैले बाङ्गो भएको हुन सक्छ,” उहाँले भन्नुभयो, “कमजोर रथ बनाएका छैनौँ। जावलाखेलसम्म लैजाँदा क्रेन प्रयोग गर्नुपर्छ वा पर्दैन भन्न सक्ने हामी होइनौँ, त्यो रथ तान्नेमा भर पर्छ।”

रथको फ्रेम तयार भएपछि डोरी बाँध्ने काम गरेका यँवाल नाइके प्रेम महर्जनले काठ राख्ने बेलादेखि नै बाङ्गो भएको तर्क गर्दै भन्नुभयो, “काठको फ्रेम सोझो पार्ने जिम्मा हाम्रो होइन। हामीले जस्तो फ्रेम तयार गरिन्छ, त्यसमा डोरी बाँधेर मजबुत बनाइदिने काम गर्छौं।”