• ८ वैशाख २०८१, शनिबार

अपहरित नाबालकको सकुशल उद्धार

blog

विन्देश्वर यादवको अपहरित ११ वर्षीय छोरा रुपेश यादव ।

जयकृष्ण यादव 

इनरुवा, वैशाख २१ गते । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ७ का एक बालकको अपहरण भएको तीन दिनपछि उद्धार गरिएको छ ।

वैशाख १७ गते साँझको समयमा सुनसरी दुहबी नगरपालिका १२ बुगडरीको गाई फार्ममा बसेका विन्देश्वर यादवको ११ वर्षीय छोरा रुपेश यादवलाई ललाइफकाइ भारतीय बीआर ०९ आर ०७९६ नम्बरको स्कारपिओ गाडीमा आएका व्यक्तिहरूले अपहरण गरेकोमा मंगलबार प्रहरीले उद्धार गरेको हो ।

अपरिचित पाँच जना भारतीय मूलका मानिसहरूले बालकलाई ललाइफकाइ नास्ता खान जाऊ भनी अपहरण गरी भारततर्फ लगेको थियो ।

त्यसपछि वैशाख १८ गते बिहान अपहरित पीडितको बुबा विन्देश्वर यादवको ह्वाटसएपमा भारतीय नम्बरबाट फोन गरी २५ लाख भारतीय रुपियाँ फिरौती मागेर धम्की समेत दिएको थियो ।

पीडित विन्देश्वर यादवले आफ्नो छोरा अपहरण भएको खबर इलाका प्रहरी कार्यालय दुहबीलाई दिएपछि प्रहरी निरीक्षकसमेतको टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोसाकमा खोजतलास गरिएको थियो ।

खटिएको संयुक्त प्रहरी टोलीले वैशाख १९ गते मंगलबार साढे ६ बजेको समयमा भारतको समस्तीपुर एकडेराबाट नाबालकलाई फेला पारी सकुशल उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई आफन्तलाई नाबालक जिम्मा लगाएर पठाइएको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।

उक्त घटनामा संलग्न मानिसहरूको खोजी कार्य भइरहेको समेत राईले जानकारी दिनुभयो ।