सोतखोलाको बगरमा तर्बुजा खेती

ललित बसेल

सुर्खेत, वैशाख २२ गते । कुनाथरीको बड्डिचौर नजिकै रहेको सोतखोलाको बगरमा तर्बुजा खेती गरिएको छ । स्थानीय युवा दलबहादुर कँडेलले विगत दुई बर्षदेखि खोलाको बगरमा तर्बुजा खेती गर्नुभएको हो । गएको वर्ष बगर धेरै भएको र तर्बुजा खेती फस्टाएपछि उहाँ यसबर्षपनि हौसिनुभएको हो । तर सोतखोलाले धेरै कटान गरेपछि उहाँ अहिले सात रोपनी क्षेत्रफलमा तर्भुजा खेती गरिरहेनु भएको छ । गत बर्ष विचार गर्नलाई ५० वटा बोट लगाइएको थियो । त्यसबाट करिव ६ क्वीन्टल उत्पादन गरेर विक्रीसमेत भयो । Tarbuja
खर्च सवै कटाइ १२ हजार रुपैयाँ आम्दानीपनि गर्न उहाँ सफल हुनुभयो । परीक्षण गरिएको अवस्थामा पनि धेरै फाइदा हुने देखेपछि अहिले कँडेलले ५२० वटा वोट लगाउनुभएको छ । बगरै भरी तर्बुजा फलेपछि उहाँ यसपटक झन हौसिनु भएको छ । अघिल्लो बर्षको भन्दा यसपटक राम्रो आम्दानी हुने अपेक्षा उहाँको छ । २३ बर्षीय कँडेलको यो मेहेनतलाई ध्यानमा राख्दै जिल्ला कृषि विकास कार्यालय सुर्खेतले उनलाई युवा लक्षित कार्यक्रम अन्तर्गत ४० हजार सहयोगपनि गरेको छ । तरकारी खेतीका लागि गरिएको सहयोगलाई उहाँले सार्थकसमेत बनाउनुभएको छ । तर्बुजासंगै खोलाको बगरमा लौका, फर्सी र काँक्रा असरल्ल हुनेगरी फलेका छन् । खोलाको बगरमा उत्पादनमा भएका तरकारीमध्ये अहिलेसम्म उहाँले १२ क्वीन्टल काँक्रा, २ क्वीन्टल लौका र डेढ क्वीन्टल फर्सी विक्री गरिसक्नु भएको छ । सवै तरकारीबाट उहाँले यसबर्ष एक लाख आम्दानी गर्ने लक्ष्य राख्नु भएको छ । यसपटक पनि तर्बुजा राम्रो भएमा आगामी बर्ष खोलाको थप बगरमा तर्बुजा खेती विस्तार गर्ने योजना रहेको उहाँ सुनाउँनु हुन्छ ।
कँडेलजस्तै कुनाथरी—४ का युवाहरु रणबहादुर दर्लामी र जयराम पौडेलले पनि आफ्नो बारीभरी बेमौसमी तरकारी उत्पादन गर्नुभएको छ । बन्दा, फर्सी, काँक्रा, लौका, करेला, खुर्सानीजस्ता तरकारी अहिलेपनि बारीमा देख्न पाइन्छ । उहाँहरुको मेहेनतलाई साथ दिन जिल्ला कृषि विकास कार्यालयले युवा लक्षित कार्यक्रम अन्तर्गत ४० हजार सहयोग गरेको छ । उक्त रकमले दर्लामी र पौडेलजस्ता युवाहरु तरकारी खेती गर्न हौसिएका छन् । मेहेनत गरे आफ्नै गाउँघरमै पैसा कमाउन सकिने उदाहरण उनीहरुले देखाएको कृषि विकास कार्यालयका पूर्णलाल सापकोटाले जनाउनुभयो । उहाँले युवाहरु पैसा कमाउन विदेश जानुपर्दैन भन्ने उदाहरण कुनाथरीका युवाहरुले देखाएको बताउनुभयो । युवाहरुको मेहेनतको कदर गर्दै उहाँहरुलाई युवा लक्षित कार्यक्रम अन्तर्गत सहयोग पनि गरिएको सापकोटाको भनाइ छ । जिल्ला कृषि विकास अधिकृत विजय गिरीले युवाहरुलाई स्वरोजगार बनाउन युवा लक्षित कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । यस कार्यक्रम अन्तर्गत सुर्खेतमा ६० जना युवाहरुलाई विभिन्न कार्यक्रम गर्न लागि ४० हजारका दरले सहयोग गरिएको उहाँले बताउनुभयो । सो सहयोगबाट कसैले तरकारी खेती, कसैले च्याऊ खेतीजस्ता कामहरु गरेको उहाँको भनाइ छ । कुनाथरीका युवाहरुले गरेको कार्यबाट कार्यालयले रकम सदुपयोग भएको पाएको जानकारी उहाँले दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना