• १३ वैशाख २०८१, बिहिबार

सरकारको ध्यान नीति तथा कार्यक्रम र बजेट निर्माण केन्द्रित : मन्त्री बस्नेत

blog

जल तथा मौसम विज्ञान विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेत । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, वैशाख २१ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आफ्नो औचित्य पुष्टि हुनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने बताउनु भएको छ ।

मन्त्री बस्नेतले सरकारको ध्यान आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण केन्द्रित भएको पनि बताउनु भयो । जल तथा मौसम विज्ञान विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले जनताका अपेक्षाहरू पूरा गर्नका लागि सरकारको हालसम्मको अवधिलाई तयारीको अवधिको रूपमा लिनुपर्ने पनि पटकपटक दोहोर्‍याउनु भयो ।

‘‘जनताका अपेक्षाहरू पनि धेरै छन् । यो कुरा पनि हामी बुझ्दछौँ । देशको समग्र परिस्थितिका के अप्ठ्याराहरू छन् ? यो विषयमा यहाँहरूले अझ धेरै बुझेकै अवस्था हो । यी सबै परिस्थितिको पृष्ठभूमिमा फेरी पनि सरकारको समग्र कार्यकालका निम्ति यो अवधि एउटा तयारीकै अवधि हो ।,’’ मन्त्री बस्नेतले भन्नुभयो, ‘‘सरकारले संसदमा प्रस्तुत गर्ने वार्षिक नीति, कार्यक्रम, वार्षिक बजेट कार्यक्रम, त्यो तयारीको उत्कर्ष हो । सरकारको वार्षिक नीति तथा कार्यक्रम, वार्षिक बजेट कार्यक्रममार्फत घोषणा गरिने विषयबस्तुहरुको प्रभावकारी कार्यान्वयन । सरकारले  आफ्नो औचित्य सही ढङ्गले साबित गर्छ । अब यो सरकार बनेपछि पहिलो पटक नीति तथा कार्यक्रम, बजेट कार्यक्रम प्रस्तुत गर्दैछ ।’’

मन्त्री बस्नेतले सरकारले डेलिभरीको कामलाई थप प्रभावकारी बनाउने प्रयास गरिरहेको उल्लेख गर्नुहुँदै त्यसलाई छिट्टै अनुभूति गर्न सकिने दाबी गर्नुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटपछि जनताको अपेक्षा अनुसार सरकारले काम सुचारु गर्ने उहाँको भनाइ थियो ।

‘‘अहिले सरकारको मुख्य ध्यान त्यसको तयारीमा रहेको छ । मैले यो कुरा चाही विनम्रतापूर्वक राख्न चाहन्छु । यो विषय परिस्थितिको विषयमा सरकारले प्रस्तुत गर्ने नीति, कार्यक्रम र बजेट कार्यक्रममार्फत आफ्नो औचित्य साबित गर्छ शानदार ढङ्गले । र, सरकार अहिले मूलतः त्यही कुरा केन्द्रित भएको छ । यो सँगसँगै यसका डेलिभरीका पाटोहरू छन् ।,’’ मन्त्री बस्नेतले भन्नुभयो, ‘‘दैनिकीका विषयहरू छन् । त्यसमा थप कसरी सुधार ल्याउन सकिन्छ ? त्यसको प्रभावकारिता कसरी बढाउन सकिन्छ ? यसबारेमा पनि आवश्यक ध्यान दिइराखेको छ । र त्यसलाई देख्ने र अनुभूति गर्ने परिस्थिति पनि निर्माण भइरहेको छ । अहिले सरकारको वार्षिक नीति, कार्यक्रम र बजेट कार्यक्रमको तयारीमा लागेको छ । यो मार्फत अझ जनअपेक्षा बमोजिम मुलुकलाई अगाडि बढाउने गरी कामकारबाही सुरु हुनेछन ।’’

मन्त्री बस्नेतले मौसम पूर्वानुमानलाई भरपर्दो बनाउनका लागि सरकारले उचित ध्यान दिने पनि बताउनु भयो ।