• १५ चैत २०८०, बिहिबार

मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीका लागि चुनौतीपूर्ण : अध्यक्ष ढकाल

blog

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल । फाइल तस्बिर

काठमाडौं, वैशाख २१ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरूका लागि चुनौतीपूर्ण रहको बताउनुभएको छ ।

बिहीबार ग्रिल तथा स्टिल व्यवसायी महासङ्घको ९ औँ महाधिवेशनमा बोल्नुहुँदै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले भर्खरै तथ्याङ्क विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको २.१६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपणले अर्थतन्त्र सङ्कुचन देखिएको बताउनुभयो ।

अध्यक्ष ढकालले सरकारको लक्ष्य अनुसार आर्थिक वृद्धिदर हुन नसक्ने उद्योगी व्यवसायीहरूको लागि चुनौतीपूर्ण रहेको औँल्याउनुभयो । उहाँले पछिल्लो समय उद्योगी व्यवसायीहरूको आत्मबल बढ्न नसकेको बताउनुभयो । उहाँले सरकारले व्यवसायीमैत्री मौद्रिक तथा आर्थिक नीतिहरू ल्याएर उद्योगी व्यवसायी र आम जनताको आत्मबल बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । सरकारले अर्थतन्त्रको वर्तमान अवस्थामा उद्योगी व्यवसायीहरूको आत्मबल बढाउने काम नगरेसम्म अर्थतन्त्रमा सुधार आउन नसक्ने उहाँको भनाइ छ ।

अध्यक्ष ढकालले अर्थतन्त्रमा आएका वर्तमान समस्या र चुनौती समाधान गर्न सरकार, नियमन निकाय र निजी क्षेत्र सबै हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा वर्तमान समस्या र चुनौती आउनुमा निजी क्षेत्र, नियमन निकाय र सरकार पक्षको केही न केही दोष रहेको औँल्याउनुभयो । निजी क्षेत्रले बैङ्कहरूले सहज रूपमा कर्जा दिँदा घरजग्गा, शेयर वा सवारी साधन खरिदमा लगानी गर्नु व्यवसायीहरूको पनि दोष भएको उहाँको भनाइ छ ।

अध्यक्ष ढकालले मुलुक श्रीलङ्का बन्छ भन्दै मौद्रिक नीतिमा कडाइ गर्ने पोलिसि मेकरको पनि दोष रहेको दाबी गर्नुभयो । उहाँले वर्तमान मुलुकको अर्थतन्त्रको समस्या र चुनौतीबाट बाहिर आउनको लागि सबै पक्ष मिलेर जानुको विकल्प नभएको बताउनुभयो ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ग्रिल तथा स्टिल व्यवसायीमाथि सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले ग्रिल तथा स्टिल व्यवसायी महानगरमा उद्योग दर्ता गर्न नदिने अवस्था रहेको भन्दै देशभर सबै महानगर घोषणा हुने हो भने व्यवसाय कहाँ गर्ने भन्दै प्रश्न गर्नुभयो ।

अध्यक्ष मल्लले ग्रिल तथा स्टिल व्यवसायलाई सरकारले केही न केही व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । उहाँले उद्योग दर्ता गर्न नदिने हो भने विदेशबाट आयात गर्नुपर्ने र भएका व्यवसायीहरू पनि पलायन हुनुपर्ने अवस्था आउने धारणा राख्नुभयो । उहाँले ग्रिल तथा स्टिल व्यवसायलाई बलिया बनाउनको लागि दरिलो नीतिगत व्यवस्था आवश्यक रहेको औँल्याउनुभयो ।

अध्यक्ष मल्लले बैङ्कहरू लगानीकर्ता, उद्यमीलाई चर्को ब्याजदर असुलीतर्फ गइरहेको बताउनुभयो । उहाँले बैङ्कको ब्याजदर उच्च भइरहे उद्योग व्यवसाय फष्टाउन नसक्ने दाबी गर्नुभयो । सरकारले उत्पादन, देशको पूर्वाधार विकास, जलविद्युत क्षेत्र गरी पब्लिक प्राइभेट पार्टनरसिपमा लगानी गर्ने वातावरण सरकारले बनाउनुपर्ने उहाँको भनाइ छ । 

त्यस्तै, घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले घरेलु तथा साना उद्योगीहरूलाई संरक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले अहिलेको अवस्थामा घरेलु तथा साना उद्योगहरू नवीकरण गर्न नसक्ने बताउनुभयो ।

अध्यक्ष सिंहले घरेलु तथा साना उद्योगहरूले बैङ्कबाट दिएको कर्जामा पुनःताजकिकरण गर्न माग गर्नुभयो । राष्ट्र बैङ्कले लघु, घरेलु, साना उद्योगीहरूका लागि छुट्टै एउटा बास्केटमा राखेर उनीहरूको ब्याजदरमा पनि सहुलियत हुनुपर्ने सिंहको भनाइ छ ।