• १६ चैत २०८०, शुक्रबार

घर निर्माणको काम अलपत्र

blog

बूढीङ्गा नगरपालिका–१ अम्कोटमा निर्माण भइरहेको घर । तस्बिर: शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, वैशाख २१ गते । बाजुरामा बाढीपहिरोबाट विस्थापित भएका घरपरिवारको घर निर्माणको काम अलपत्र परेको छ ।

विपत् प्राधिकरणले दिएको डिजाइनमा घर निर्माण नगरेर स्थानीयले मनोमानी ढङ्गले घर बनाउन थालेपछि निर्माणको काम अलपत्र परेको हो ।

आर्थिक वर्ष २०७९/०८० मा स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगमा बाढीपहिरोबाट विस्थापित भएका अम्कोटका स्थानीयलाई स्थापित गर्ने गरी घर निर्माणको काम सुरु गरिएको थियो ।

बाढीपहिरोबाट प्रभावित अम्कोट १०६ घरपरिवार मध्ये ८५ जनाले ७५ हजार पहिलो किस्ता रकम पाएका छन् ।

पहिलो किस्ता रकम पाएका ८५ जना मध्ये १८ जनाले मात्र घर निर्माणको काम सुरु गरेका छन् भने ६७ जनाले अझै घर निर्माणको काम सुरु गरेको छैनन् । 

बाढीपहिरोबाट प्रभावित भएका अम्कोटका स्थानीयले भने प्राविधिकहरूले भनेकै अनुसार घर निर्माण गरेको भए पनि दोस्रो किस्ता रकम नमिलेपछि घर निर्माणको काम अलपत्र परेको बताउँछन् ।

बूढीगङ्गा नगरपालिका –१ अम्कोटका झण्डै १०६ घरपरिवार मध्ये पहिलो चरणमा ८५ जनालाई घर निर्माणका लागि पहिलो किस्ता भनेर ७५ हजार रकम दिएको जिल्ला विपत् व्यवस्थापन समिति बाजुराले जनाएको छ ।

अम्कोटका ८५ जनाले ७५ हजार पहिरो किस्ता रकम पाए पनि १८ जनाले मात्र घर निर्माणको काम सुरु गरेका छन् । 

१८ जनामा पनि ६ जनाले मात्र घर निर्माणको काम सकेका छन् । तर ती घर पनि विपत् प्राधिकरणको डिजाइन स्टिमेट भन्दा फरक तरिकारले निर्माण गरेका छन् ।

स्टिमेटमा प्रत्येक कुनामा एक एक सरिया, जगको माथिमा दुई वटा सरियाले डिपिसी गर्ने र तल्ला नथप्ने गरी डिजाइन छ ।

विपत् प्राधिकरणले दिएको डिजाइनमा घर निर्माण गरेको कागजात आएपछि मात्र दोस्रो किस्ता रकम दिने र त्यो भन्दा फरक भएमा दोस्रो किस्ता रकम नदिने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताउनुभयो ।

उहाँका अनुसार घर निर्माणका लागि दोस्रो किस्ता रकम लिएर घर निर्माण नगरेमा पहिलो किस्ता रकम समेत फिर्ता गर्नुपर्ने हुन्छ ।