• १६ चैत २०८०, शुक्रबार

सरकारले व्यवसायीको समस्या समाधान गर्न भूमिका निर्वाह गर्नुपर्छ : उपराष्ट्रपति

blog

ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उपराष्ट्रपति रामसहायप्रसाद यादव । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, वैशाख २१ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकारले उद्योगी, व्यवसायीहरूको समस्या समाधान गर्न अभिभावकीय भूमिका निर्वाह गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।

उद्योगी, व्यवसायीहरूले चर्को ब्याजदरका कारण आफूहरू मारमा परेको गुनासो गरिरहेका बेला उपराष्ट्रपति यादवले लगानी, व्यावसायिक वातावरण निर्माण गरी उनीहरूको समस्या समाधान गर्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने स्मरण गराउनु भएको हो ।

‘‘देशको अर्थतन्त्र कमजोर भएको अवस्थामा ग्रिलजन्य सामग्रीहरूको उत्पादनमा आत्मनिर्भर भई झण्डै आयातलाई प्रतिस्थापन गर्न सफल ग्रिल व्यवसायको भविष्य राम्रो भएको मैले महसुस गरेको छु । महाभूकम्प, कोभिड–१९ महामारी, डेंगु र आर्थिक मन्दीका कारण सबै क्षेत्र प्रभावित भएको अवस्थामा ग्रिल तथा स्टिल व्यवसाय पनि त्यसबाट अछुतो रहेन । जस्तोसुकै कठिन परिस्थितिमा पनि ग्रिल उद्योगीले सेवा प्रदान गर्दै सामाजिक उत्तरदायित्व पूरा गरेको कुरा थाहा पाउँदा ज्यादै खुसी लागेको छ ।,’’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘विशेष गरेर ग्रिल उद्योगीले भोग्नु परेका समस्याहरू दक्ष जनशक्तिको अभाव, ग्रिल उद्योग व्यवस्था गर्न समस्या, सहज वित्तीय पहुँच नहुनु, ग्रिलजन्य फलामको मूल्य वृद्धि, नवीनतम प्रविधिको विकासमा कमीलगायतको विविध समस्याको बारेमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दछु ।’’


ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले रोजगारी सिर्जना, आयात प्रतिस्थापन गरी निर्यात हुने बस्तु उत्पादनको क्षेत्र पहिचान गरी उद्योग, व्यवसाय खोल्ने, साना उद्योगलाई ठूला उद्योगसँग जोडने काममा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स जस्ता ठूला र अग्रणी संस्थाहरूले विशेष भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । उपराष्ट्रपति यादवले ग्रिल व्यवसायीहरूले भोग्नु परेका समस्याहरू समाधानका लागि सम्बन्धित निकायहरूको ध्यानाकर्षण पनि गराउनु भयो ।

‘‘विशेष गरेर देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रको रूपमा रहेका अग्रणी संस्थाहरूको नेतृत्व वर्गहरू नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षज्यहरु यहाँ हुनुहुन्छ । निश्चय नै रोजगारी सिर्जना गर्न, आयातलाई प्रतिस्थापन गरी निर्यात गर्न सक्ने बस्तु उत्पादन हुने क्षेत्रको पहिचान गरी उद्योग, व्यवसाय खोल्ने, साना उद्योगलाई ठूलो उद्योगसँग जोड्ने काममा यहाँहरूको विशेष भूमिका रहनेछ भन्ने विश्वास लिएको छु । लगानी र व्यावसायिक वातावरण बनाउने र उद्योगी, व्यवसायीका समस्याहरू समाधानका लागि सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुको विकल्प नरहेको यहाँ स्मरण गराउन चाहन्छु ।’’

त्यस अवसरमा उपराष्ट्रपति यादवले ग्रिलजन्य सामग्रीहरूको उत्पादनमा मुलुकलाई करिब आत्मनिर्भर बनाउने काम गरेको चर्चा गर्दै ग्रिल व्यवसायीहरूको भविष्य झनै राम्रो रहेको बताउनुभयो ।