• १५ चैत २०८०, बिहिबार

व्यस्तताका कारण सुदूरपश्चिम सरकार विस्तार हुन सकेन : अध्यक्ष नेपाल

blog

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित दलका नेताहरु । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, वैशाख २१ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूसहितका सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको व्यस्तताका कारण सुदूरपश्चिम प्रदेश सरकार बिस्तार गर्न ढिलाइ भएको बताउनुभएको छ । 

धनगढीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिमको मुख्यमन्त्री र दुई मन्त्री नियुक्त भएको तीन महिना पुग्न लाग्दा पनि सरकारले पूर्णता नपाएको सन्दर्भमा सोधिएको प्रश्नमा उहाँले त्यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “हाम्रो व्यवस्ताका कारण सुदूरपश्चिम प्रदेश सरकार र अन्यत्रका सरकारबारे छलफल हुन नसकेको हो ।” फरक प्रसङ्गमा अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धन लामो समयसम्म टिक्ने दाबी गर्नुभयो । 

अर्को प्रश्नको जवाफमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले आफूसँग सुझाव माग्दा रवि लामिछानेलाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव आफूले दिएको उहाँले बताउनुभयो । 

नागरिकता र राहदानीको दुरुपयोग गरेको आरोप लागेका लामिछानेलाई गृह मन्त्रालय दिन मिल्छ त भन्ने प्रश्नमा उहाँले धेरै कुरा आफूलाई खोल्न नलगाउन आग्रह गर्नुभयो । नेता नेपालले एमाले सचिव टोपबहादुर रायमाझीलगायतलाई नक्कली शरणार्थी बनाउन भूमिका खेलेको भन्दै लगाइएको मुद्दाबारे पनि प्रतिक्रिया दिन चाहनु भएन । 

विश्वमा देखिएको आर्थिक मन्दीको असर नेपालमा पनि परेकाले देशको अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने आवश्यकता देखिएको उहाँको भनाइ छ । सरकारले अनावश्यक खर्च कटौती गरी जनजीविकाका सवालमा काम गर्नुपर्ने उहाँको सुझाव छ । आफूसँगको भेटमा प्रधानमन्त्रीले पनि सरकारले खर्च कटौती गर्न लागिरहेको बताएको उहाँले जानकारी दिनुभयो ।