ज्येष्ठ नागरिकको ख्याल (सम्पादकीय)

खानपान, स्वास्थ्य सेवा, उच्च जीवनशैलीमा आएको सुधारका कारण विश्वभरि नै मानिसको औसत आयु बढेको छ । विकसित देशमा औसत आयु निकै उच्च रहेका कारण ज्येष्ठ नागरिकको सङ्ख्या धेरै छ । विश्वको जनसङ्ख्याको १२ प्रतिशत ज्येष्ठ नागरिक छन््, जुन ९० करोड हो । विकासशील मुलुकमा पनि ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दो छ । नेपालको कुल जनसङ्ख्याको नौ प्रतिशत अर्थात् करिब २५ लाख ज्येष्ठ नागरिक छन् । आगामी दिनमा यो अझै बढ्दै जानेछ । अहिले ज्येष्ठ नागरिकको वार्षिक वृद्धिदर साढे तीन प्रतिशत छ । ज्येष्ठ नागरिकको सङ्ख्या बढेसँगै उनीहरूको आवश्यकता पूर्ति र समस्या समाधानप्रति राज्यको ध्यान जान थालेको छ तर पर्याप्त हुन सकेको छैन । 

ज्येष्ठ नागरिकका आवश्यकतातर्फ ध्यान दिन थालिएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभिसन्धि, घोषणापत्र, कार्ययोजना र कानुनले ज्येष्ठ नागरिकका हक–अधिकार र सुरक्षा सुनिश्चित गर्ने प्रयास गरेको छ । नेपालको संविधानले ज्येष्ठ नागरिकका अधिकारलाई मौलिक हककै रूपमा स्थापित गर्दै राज्यबाट विशेष संरक्षण र सामाजिक सुरक्षा सुनिश्चित गरेको छ । यसको कार्यान्वयनका लागि ज्येष्ठ नागरिकसम्बन्धी ऐन, नियमावली, नीति, कार्यनीति र कार्ययोजना बनेका छन् । राज्यले बर्सेनि ठूलो रकम ज्येष्ठ नागरिकका लागि खर्च गरिरहेको छ । वृद्धभत्ता, उपचार खर्चदेखि सार्वजनिक यातायात र सेवामा थप सुविधा र प्राथमिकता दिन थालिएको छ । तर यस्तोे सेवा, सुविधा प्रभावकारी र सबैको पहुँचमा पुग्न सकेको छैन । सरकारी तथा गैरसरकारी प्रयासमा बेसहारा ज्येष्ठ नागरिकका लागि आश्रयको व्यवस्था छ । सामाजिक संस्थाले दिवा सेवा केन्द्र सञ्चालन गर्नेक्रम बढ्दो छ । तर आश्रम, सेवा केन्द्र पर्याप्त छैन र सेवा सुविधा न्यून स्तरको छ । आर्थिक समस्याले गर्दा उपचार गर्न ज्येष्ठ नागरिक असमर्थ छन् भने वृद्धावस्थामा हुने रोगको उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मी तथा अस्पतालको कमी छ । स्रोत, साधनको कमीका साथै व्यवस्थापकीय कमजोरीका कारण यस्ता आश्रमले गुणस्तरीय सेवा दिन सकेका छैनन् । सेवा प्रदायक निकायबीच समन्वयको अभाव छ ।
राष्ट्रिय मानवअधिकार आयोगले २०७४ चैतदेखि २०७५ असोजसम्म गरेको अध्ययनमा ४९ जिल्लाका ८६ वृद्धाश्रम, ३० दिवा सेवा केन्द्र र छवटा स्याहार केन्द्रमा रहेका एक हजार ५७७ जना ज्येष्ठ नागरिकमध्ये महिलाको सङ्ख्या ९६५ रहेको देखिएको छ । पुरुषको सङ्ख्या भने ६१२ छ । सुगम जिल्ला र सहरी क्षेत्रमा नै बढी आश्रम छन् र तिनमा आश्रय लिनेको सङ्ख्या धेरै छ । काठमाडौँमा ३८५ जनाले वृद्धाश्रममा आश्रय लिएका छन् । शुक्रबार सार्वजनिक गरिएको आयोगको अध्ययन प्रतिवेदनमा परिवार नभएको, पारिवारिक उपेक्षा, आर्थिक समस्या, आत्मसम्मानको खोजीलगायतका कारणले वृद्धवृद्धा वृद्धाश्रम वा सेवा केन्द्रमा आश्रय लिन बाध्य भएको देखिएको छ । यी वृद्धाश्रममा बसोबास गरिरहेका अधिकांशको स्वास्थ्यमा समस्या रहेको पनि अध्ययनले देखाएको छ । यो अध्ययनले सरकारी तथा गैरसरकारी क्षेत्रबाट सञ्चालित वृद्धाश्रमबाट प्रदान भइरहेको सेवाको गुणस्तर न्यून रहेको तथ्य सार्वजनिक गरेको छ ।
बदलिँदो सामाजिक संरचना, मान्यता र अभ्यासले हाम्रो संयुक्त परिवार विखण्डन भइरहेको छ । कतिपय अवस्थामा परिवारले चाहेर पनि ज्येष्ठ नागरिकको पालनपोषण र सुरक्षामा पर्याप्त ध्यान दिन सकेका छैनन् । आफ्ना बाबुआमाको स्याहारसुसार गर्ने पहिलो दायित्व परिवारकै हो तर बदलिएको परिवेशमा यो कठिन हुन थालेपछि राज्य र समुदायको भूमिका बढेको छ । यस्तो अवस्थामा वृद्धाश्रम, सेवा केन्द्रहरू स्थापना गरेर ज्येष्ठ नागरिकको हेरचाह गर्न सकिन्छ । तर, यस्ता आश्रम न्यूनतम सेवा र सुविधासम्पन्न हुनुपर्छ । ज्ञान, सीप र अनुभवका धनी ज्येष्ठ नागरिकबाट मार्गदर्शन लिन, समाज विकासमा उनीहरूको ज्ञान प्रयोग गर्न सामाजिक सुरक्षासहितको वातावरण बनाउनुपर्ने आवश्यकता छ । ज्येष्ठ नागरिकका रोग र स्वास्थ्यसम्बन्धी समस्या फरक हुने भएकाले छुट्टै अस्पताल र पर्याप्त स्वास्थ्यकर्मीको व्यवस्था हुनुपर्छ । सामाजिक संरचनामा परिवर्तन आएअनुसार ज्येष्ठ नागरिकका समस्या बढिरहेका कारण ज्येष्ठ नागरिकको सहज जीवनयापन, सम्मान र अधिकारमा पहुँच पु¥याउनु अबको दायित्व हो ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds