सम्बन्धको कोशेढुङ्गा बेल्ट एण्ड रोड

एकप्रसाद दुवाडी

‘रोड एण्ड बेल्ट’ अभियान चीन सरकारद्वारा प्रक्षेपित एक विकास रणनीति हो जसले युरोप, अफ्रिका र एसियाका देशहरूमा पूर्वाधार विकास र लगानी गर्छ । पहिलेको सिल्करोड क्षेत्रलाई समेट्ने लक्ष्य लिएर गरिएको यो रणनीतिलाई अर्को छिमेकी भारतको दबाव छेल्दै नेपालले समर्थन गरिसकेको छ । यो रणनीतिका अवसर र चुनौती के के हुन सक्छन् अनि चुनौतीको निदान कसरी गर्न सकिन्छ भन्ने बारेमा संसारभरि ब्यापक बहस जारी छ ।
जसरी भारतमा हुने मुख्य परिवर्तनहरूले नेपालमा प्रभाव आवर्तन हुन्छ उसरी नै चीनमा हुने उथलपुथलको वाछिटा नेपालमा पनि लाग्छ किनकि नेपाल–चीन सम्बन्ध पनि शदियौँ पुरानो हो । एक कथन अनुसार काठमाडौँ उपत्यकाबाट पानीको निकास निकालेर यस शहरलाई बस्न लायक बनाउने काम एक चिनिया मञ्जुश्रीले गरेका थिए रे ! राजकुमारी भृकुटीको विवाह प्रसङ्ग मात्र होइन, मध्यकालीन समयमा सम्राट कुब्लाइ खाँका पालामा नेपालका वास्तुविद् अरनिको चीन गएर त्यहाँ ल्याएका आयामहरू अझै जीवन्त छन् । यसैको फलस्वरुप पगौडा शैलीका मन्दिर चीनभर रुचाइएर बचाइएको पनि छ । औपचारिक रूपमा दौत्य सम्बन्ध कायम भएको पनि ६० वर्ष काटिसक्यो । तैपनि नेपाल–चीन सम्बन्ध उति उचाइमा किन पुगेन जति सम्भव थियो ?
यसका सयौँ कारणहरू होलान् । एकातिर नेपालको अर्को छिमेकी भारतसँगको सम्बन्ध केही अपवादबाहेक तुलानात्मक रूपमा राम्रो छ । यसो हुनुमा कला, साहित्य, सभ्यता, राजनीतिक र आर्थिक मात्र नभएर भौगोलिक पनि हो भन्दा अत्युक्ति नहोला । किनकि बीचमा हिमालय रहेको नेपाल– चीन सम्बन्ध त्यही जोखिमपूर्ण हावापानी र भूबनोटका कारण उति पोषिलो र दुधिलो हुन सकेको छैन ।
तर चीनले अनौठा प्रगति गरेको छ र बिश्व शक्तिको होडमा लागेको छ । ऊ अब पहिलेको चीन रहेन । समुन्द्रमाथि ५५ कि.मि. लामो पुल बनाएर गाडी हुइँक्याउने चीनका वर्तमान राष्ट्रपति सी चीन फिङ्गका अनुसार पनि दुई असल छिमेकीलाई फगत हिमाल र नदीहरूले छेक्नु उचित हँुदैन । यही कारण हुनसक्छ उसले हिजोआज गतिला र गम्भीर परिणामहरू छाड्ने कूटनीति गरिरहेछ कमसेकम नेपालप्रति । सिगात्सेबाट नेपालको राजधानी काठमाडाँैसम्म रेल ल्याइदिने घोषणा र ओइरिएका सहयोगहरू यसैको ज्वलन्त उदाहरणहरू हुन् । यस रणनीतिका आलोचकहरूका अनुसार यो चीनको देखाउने दाँत मात्र हो किनकि उसको असली ध्येय नेपालजस्तो निर्धन देशलाई आफ्नो चङ्गुलमा फसाउनु हो । यही तर्कको सहारा लिएर हुनसक्छ भारत – जापान जस्ता देशहरूले यसको समर्थन गरिसकेका छैनन् । केही विद्वानहरूले यो रणनीतिको नक्शामा नेपाल पर्दै पर्दैन भनी अड्को थापेका पनि छन् ।
यद्यपि नेपालको हकमा उनीहरूको दावी सही नहुन सक्छ । चीनका धेरै विद्वानहरूका अनुसार नेपाल यो रणनीतिमा पर्छ र उनीहरूलाई थाहा छ कि नेपाल दक्षिण एशिया प्रवेश गर्ने एक उपयुक्त ढोका हो । उनीहरू यो पनि स्वीकार गर्छन् कि भारत, नेपाललाई उनीहरू आफ्नो शिर जत्तिकै महत्व दिन्छन् । एकजना प्रोफेसरले त नेपालसँग सीमा जोडिएका भारतका बत्ती नपुगेका गाउँहरूमा विकास नभई नेपालको पूर्वाधारमा खर्च गर्नु भनेको बालुवामा पानी खन्याउनुजस्तै हो भनिन् । हेबेइ विश्वविद्यालय अफ बिजनेस एण्ड इकोनोमिक्सले गत अक्टुबर महिनामा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा चिनिया ‘थिंकट्याङक’ हरूले सोही सन्देश ब्यक्त भएको थियो ।
भारतले अघोषित नाकाबन्दी पाँच महिनासम्म गरिरहँदा चीनले गरेको सहयोग र सदायता निक्कै उल्लेखनीय रह्यो । चीनले नेपालको सीमासम्म ट्याङकरमा पेट्रोल अनुदान दिएर बलियो सङ्केत दियो कि नेपाललाई समस्या पर्दा ऊ टुलुटुलु हेरेर बस्न सक्दैन । यो उभारलाई लिएर भारतीय सञ्चार माध्यमहरूले फुक्न थाले – चिनिया रणनीति नेपाललाई सहयोग गर्नुभन्दा पनि उसका गुप्तचरहरूलाई नेपालभित्र हुलेर भारतमाथि निगरानी र आक्रमणको तानाबाना बुन्नु हो । यही घटनाका कारण भारतीय संसद्मा विपक्षी पार्टीका सांसदहरूले सत्तासीन बिजेपी पार्टीको सरकार र विशेषगरी प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना गरे छिमेकी राष्ट्र नेपाललाई चिढाएको आरोपमा । सायद यही कुराले होला, भारत त्यसपछि बढी ‘उदार र दिलदार’ भएर नयाँ कूटनीतिक पहलहरू गर्दै गरेको आभाष दिन तल्लीन छ । भारतले प्रयोग गर्न दिने भनेको जलमार्ग र रक्सौलदेखि काठमाडौँसम्मका रेल कुदाइदिने बाचाहरू यसैका सहउत्पादनहरू हुन् । उल्लेख्य कुरा के हो भने भारतीय नाकाबन्दीको सामना गर्ने उद्देश्यले मुलुकको वैकल्पिक निकास खोज्न चीनसँग गरिएका सहमति, सम्झौताका कारण अब चीनका केही बन्दरगाहरू नेपालले प्रयोग गर्न पाउने छ ।
पछिल्ला दिनमा नेपालका हजारांै विद्यार्थीहरू चीनका राम्रा विद्यापिठहरूमा अध्ययन अनुसन्धान गर्छन् । हजारौ शिक्षकहरू, कर्मचारीहरू र नेताहरूलाई चीनको साँस्कृतिक भ्रमणमा लैजान थालेको छ । हजारौ चिनियाहरू व्यवसाय र रोजगारका लागि नेपालमा कार्यरत पनि छन् । जनता–जनतावीचका सम्बन्धहरू बढी प्रगाढ हुँदैछन् । हजारौँ नेपालीहरूले चिनिया भाषा सिक्दै छन् भने केही चिनियाहरूले पनि औपचारिक रूपमा नै नेपाली भाषा सिक्दै गरेका त्यहाँका मुख्य विश्वविद्यालयहरूमा भेटिन्छन् । हालसालै शुरु भएका नेपाल अध्ययन केन्द्रहरू राम्रा परिणाम हुन् । बेइजिङ विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रमा काम गर्ने एकजना प्रोफेसर र उनका दुई विद्यार्थी नेपाली भाषामै ‘हाम्रोमा एउटा वैकल्पिक विषय नेपाली पनि छ, म चाहिँ नेपालमा गएर घुमेको पनि छु’ भन्दै मुस्काइरहेका थिए । यसबाट थाहा पाउन सकिन्छ – उनीहरू भाषा, सँस्कृतिको माध्यमबाट पनि नेपालसँग जोडिन चाहन्छन् । यही कारण हुनसक्छ अहिले सयौँ चिनिया स्वयंसेवकहरू नेपालका विभिन्न विद्यालयमा चिनिया भाषा पढाउँछन् । साथै, एउटा विश्वविद्यालयमा त चिनिया भाषा शिक्षणको स्नातक डिग्री नै शुरु भइसकेको छ । जसअनुसार उनीहरू पहिलो र अन्तिम वर्ष नेपालमा पढ्छन् र दोस्रो र तेस्रो वर्ष चीनको विश्वविद्यालयमा पढ्छन् । पढिसकेपछिको पाँच वर्षसम्म उनीहरूको रोजगारीको ग्यारेन्टी चीन सरकारले नै गरिदिने छ । ऐच्छिक रूपमा चिनिया भाषा पढ्न कन्फुसियस इन्ष्टिच्युटले विभिन्न प्याकेजसमेत बनाएको छ ।
जनस्तरको सम्बन्ध बढाएर सामूहिक विकास हासिल गर्ने उद्देश्यको बेल्ट एण्ड रोड अभियानलाई सार्थक बनाउने लक्ष्यका साथ चीनले आफ्ना विकास सहयोगदेखि अन्य कार्यक्रमहरू यसरी आधारभूत तवरबाटै सञ्चालन गरिरहेको छ । तीव्रतर गतिमा विकास गर्दै विश्वशक्तिका रूपमा स्थापित भएको छिमेकीको यो अभियान यसैकारण पनि आपसी सम्बन्धमा एक कोशेढुङ्गा सावित हुने भएकोले नेपालले यसबाट सक्दो फाइदा लिनुपर्नेछ । नेपालले आफ्नो कूटनीति आफ्नै दृष्टिबाट निक्र्योल गर्नु आवश्यक छ ।
महŒवपूर्ण कुरा त बेल्ट एण्ड रोड अभियानबाट अधिक फाइदा उठाउन नेपाल सरकारले परियोजनाका विश्वासिला प्रस्तावहरू पेशगर्न बिलम्ब गर्नुहँुदैन । स्वभाविक रूपमा यो अभियानमा चीनले आफ्नो हित हेरेको छ तर उसको सदाशयता र हितलाई समेत विचार गरी मूलतः नेपालले आफ्नो अनि बहुपक्षीय हितका योजना प्रस्तुत गर्नसक्छ । यसरी चीनसँग राम्रो सम्बन्ध बनाउन भारतसँग तोड्नु वा बिगार्नुपर्छ भन्ने मतहरू पनि सुनिन्छ । यो भारतसँग बाहेक अरुसँग त्यस्तो राम्रो दौत्य सम्बन्ध हुनै सक्दैन भन्ने उग्रता हो । यो प्रत्युत्पादक हुन सक्छ । चीनसँगको सम्बन्धका लागि भारतसँगको सम्बन्ध बिगार्न, तोड्न कुनै आवश्यक छैन, जब भारत र चीनसमेत बिभिन्न तहको सम्बन्ध जोड्दैछन् । फुटेर होइन जुटेर भन्ने नारा देश–देशको सन्दर्भमा पनि लागु हुन्छ । देशहरूको ‘इकोसिस्टम’ मा एउटा देशले सबै काम गर्न सम्भव छैन, सहकार्य बिना सहअस्तित्व छैन । यो कुरा नेपालले त बुझेको हुनसक्छ तर हेपाहा प्रवृत्ति भएका देशहरूलाई मनन गराउनु आवश्यक छ । नेपालले दुवै छिमेकीसँग समदूरीको कूटनीति गरी सेतुको कामगर्नु आवश्यक भइसकेको छ नत्र ‘कागलाई बेल पाक्यो हर्ष न विश्मात’ भने जस्तो पो हुने छ यो बेल्ट एण्ड रोड अभियान रणनीति ।
(लेख चीनको ‘हेबेइ विश्वविद्यालय अफ बिजनेस एण्ड इकोनोमिक्स’ले गत अक्टोबर महिनामा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत विचारमा आधारित छ । )

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds