व्यवसायमैत्री सार्क

प्रकाश शर्मा ढकाल


कुनै पनि मुलुक कति व्यवसायमैत्रि रहेको छ भन्ने जानकारी लिन विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनको अध्ययन गर्नु जरुरी देखिन्छ । अर्थतन्त्रलाई मार्गनिर्देश गर्ने नीति, संरचनागत प्रवन्ध, कानूनको शासन, सदाचारिता, लगानीका लागि श्रोतको उपलव्धता, श्रमशक्तिको उपलव्धता र गुणस्तर, व्यवसायका लागि पुरा गर्नु पर्ने औपचारिकता, नाफा तथा लगानी सुरक्षाको प्रत्याभूति, करको भार, कर्मचारीतन्त्रको अवस्था जस्ता महत्वपूर्ण पक्ष अनुकूल हुंँदा मात्र लगानी आकर्षित हुने अवस्थाको सिर्जना हुन्छ । यस्ता कुराको अभावमा वाह्य लगानी आकर्षित गर्नु त परै जावोस आन्तरिक लगानीको समेत विस्तार हुन सक्दैन । अहिले विश्वको होडवाजी नै आर्थिक रूपमा कसरी अग्रस्थानमा आउने भन्ने नै रहेको देखिन्छ । यसका लागि विकसित तथा विकासोन्मुख मुलुकहरू व्यवसायिक वातावरण निर्माण कसरी गर्न सकिन्छ कसरी लगानी बढीभन्दा बढी भित्राउन सकिन्छ भन्ने मै केन्द्रित छन् ।
आर्थिक उदारीकरणको नीति अवलम्वन गर्ने कुनै पनि अर्थतन्त्रमा व्यापार तथा व्यवसाय सञ्चालन गर्न सरकारबाट सहजकर्ताको भूमिका निर्वाह गरी व्यवसायीलाई सहज र सरल किसिमले आफ्नो व्यवसाय सञ्चालन गर्न दिने वातावरण बनाउनु जरुरी हुन्छ । लगानीकर्ताहरूले आफ्नो लगानीको प्रतिफलको पूर्वानुमान गर्न सक्ने लगानीमैत्री व्यवसायमैत्री वातावरणको सुनिश्चितता राज्यले गर्नु पर्दछ । यसका लागि व्यवसाय दर्ताको शुरुवातदेखि व्यवसाय बन्द वा खारेजीसम्मको अवधि र यसबीचमा हुने विभिन्न प्रकृया तथा क्रियाकलापरुमा पारदर्शिता, सहजता, चुस्तता, र मितव्ययिता अनिवार्य सर्तहरू हुन् ।
बिश्व बंैक र अन्तर्राष्ट्रिय वित्त निगमद्वारा विभिन्न अर्थतन्त्रका उद्योग तथा व्यापार सञ्चालनका सम्बन्धमा शुरुदेखि अन्तिम सम्मको प्रकृया र सो मा लाग्ने समय एवं व्यहोर्नुपर्ने झन्झट लगायतका विषयमा बृहत अध्ययन गरी ‘डुइङ्ग विजनेश’ प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । व्यवसाय सञ्चालनमा सहजता, अपनाउनु पर्ने कार्यविधि, लाग्ने समय, लगानीको सुरक्षा, व्यवसाय सञ्चालनका लागि ऋण प्राप्त गर्ने प्रकृया र समय, वैदेशिक व्यापार सञ्चालन, कर तिर्दा अपनाउनु पर्ने प्रकृया र लाग्ने समय, व्यवसाय बन्द गर्ने प्रकृया र यसका लागि अपनाउनु पर्ने कार्यविधि जस्ता विभिन्न १० वटा सूचकहरूको आधारमा यो प्रतिवेदन तयार पारी वर्षेनी प्रकाशन हुँदै आएको छ । अन्तर्राष्ट्रिय लगानीकर्ताहरू यस्तै प्रतिवेदनहरूको अध्ययन गरी आफ्नो लगानी कहाँ लैजाने भन्ने कुराको निचोडमा पुग्दछन् । विश्व अर्थतन्त्रमा तुलनात्मक रूपले दक्षिण एशियाली मुलुकहरूको अवस्था सन्तोषजनक देखिँदैन । प्रायजसो सूचकमा यस क्षेत्रका देशको अवस्था निराशाजनक नै रहेको देखिन्छ । सार्कका आठ मुलुकमध्ये तुलनान्मक रूपमा भुटानको अवस्था सन्तोषजनक रहेको छ । पछिल्लो प्रतिवेदनमा विश्वका १९० अर्थतन्त्रमा गरिएको अध्ययनमा भुटान ६६ दशमलव २७ अङ्कका साथ ७५ औं स्थानमा रहेको छ । त्यसछि भारत ६० दशमलव ७६ अङ्कसहित १०० औं स्थानमा रहँदा नेपाल ५९ दशमलव ९५ अङ्कसहित १०५ आंै स्थानमा रहेको छ । श्रीलङ्का, माल्दिभ्स, पाकिस्तान, वङ्गलादेश र अफगानिस्तान क्रमशः १११ औं, १३६, १४७, १७७ तथा १८३ आंै स्थानमा रहेका छन् । सबैभन्दा कम व्यवसायमैत्री वातावरण भएको अफगानिस्तानको जम्मा ३६ दशमलव १९ अङ्क रहँदा बङ्गलादेशले ४० दशमलव ९९ र पाकिस्तानले ५१ दशमलव ६५ अङ्क प्राप्त गरेका छन् ।
सार्क मुलुकमा भुटानको अवस्था कर सम्वन्धी सूचकमा, भारत तथा पाकिस्तानको साना शेयर अंश भएका लगानीकर्ताको सुरक्षा सम्वन्धी सूचकमा राम्रो देखिएको छ । प्रतिवेदनले भुटानमा वित्तिय पहुँच, श्रमिकको नियमन, पूर्वाधारको अवस्था, श्रमशक्तिमा नैतिकता अभावलाई सवैभन्दा बढी समस्याको रूपमा लिएको छ । बङ्गलादेशमा भ्रष्टाचार, पूर्वाधारको अभाव, कर्मचारीतन्त्रको व्यवसायिकता, श्रमशक्तिको गुणस्तर मुख्य समस्याको रूपमा रहँदा भारतमा पनि भ्रष्टाचार, वित्तिय पहुँच, करको दर तथा पूर्वाधारको कमजोर अवस्था मुख्य समस्याको रूपमा रहेको आंैल्याइएको छ । प्रतिवेदनले नेपालमा सरकारको अस्थिरता, कर्मचारीतन्त्र, पूर्वाधार तथा नीतिगत अस्थिरतालाई मुख्य समस्याको रूपमा लिइएको छ । बाँकी मुलुकहरूका प्रमुख समस्या पनि उस्तै रहेको देखिन्छ । संक्षेपमा भन्दा सार्क मुलुकमा व्याप्त भ्रष्टाचार, पूर्वाधारको कमजोर अवस्था, श्रमशक्तिको कमजोर उत्पादकत्व क्षमता, परम्परागत कर्मचारीतन्त्रबाट यी देशहरू ग्रसित रहेको देखिन्छ ।
पछिल्लो प्रतिवेनले भारतले निकै सुधार गरेको जनाएको छ । भारतले व्यवसायिक वातावरण सुधार गर्ने प्रमुख पाँच राष्ट्रको सूचीमा आफूलाई उभ्याउन सफल भएको छ । उसले कर प्रणालीमा गरेको सुधार, विभिन्न औपचारिकतालाई अनलाईन पद्धतिमा रुपान्तरण, वित्तीय पहुँचकालागि कानूनको संशोधन, लगानीकर्ताको संरक्षण, अन्तराष्ट्रिय व्यापारका लागि पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति गरेको देखिन्छ । नेपालले पनि वित्तीय पहुँच तथा लगानीकर्ताको संरक्षणको दिशामा केहि सुधार गरेको उल्लेख गरिएको छ ।
त्यसैगरी, वल्र्ड इकोनोमिक फोरमले विभिन्न १२ मुख्य सूचक तथा ११४ उपसूचकहरूको आधारमा तयार गर्ने ‘ग्लोवल कम्पिटिटिभनेस इन्डेक्स २०१७–२०१८’ ले पनि सार्क मुलुकहरूको अवस्था सन्तोषजनक देखाएको छैन । संस्थागत व्यवस्था, नीति तथा उत्पादकत्व निर्धारण गर्ने साधनहरू यो प्रतिवेदनले सार्कमा नेपाल भारत, भुटान तथा श्रीलङ्काभन्दा पछाडि रहेको उल्लेख छ । जसअनुसार, भारत १३७ मूलुक मध्ये ४० औं स्थानमा, भुटान ८२ औं, श्रीलङ्का ८५ औं, नेपाल ८८ औं स्थानमा रहेको छ । बङ्गलादेश ९९ आंै स्थानमा रहँदा पाकिस्तान भने सवैभन्दा पछि ११५ औं स्थानमा रहेको छ । यो प्रतिवेदनले अर्थतन्त्रको लागि संस्थागत प्रवन्ध, पूर्वाधार विकासको अवस्था, देशको बृहत आर्थिक परिसूचकहरूको अवस्था, प्राथमिक स्वास्थ्य तथा शिक्षाको अवस्था, उच्च शिक्षा तथा जनशक्ति विकास, वस्तुको बजारको अवस्था, उपलव्ध श्रमशक्तिको दक्षता व्यवसायिकता तथा अर्थतन्त्रमा नवप्रवर्तनको अवस्थासमेतलाई आधार लिने गर्दछ । एकदेखि सात अङ्कमा स्तर निर्धारण गरिने यो सूचकमा सबै सार्क मुलुकको अङ्क पाँचभन्दा तल नै रहेको छ ।
‘हेरिटेज फाउण्डेशन र वाल स्ट्रीट जर्नल’ ले सन् १९९५ देखि प्रकाशन गर्दै आएको ‘द इण्डेक्स अफ इकोनोमिक फ्रिडम’ को पछिल्लो प्रतिवेदनमा पनि सार्क मुलुकहरूको आर्थिक स्वतन्त्रताको स्तर कमजोर देखिन्छ । सम्पत्तिको अधिकार, न्यायालयको सवलता, सरकारको सदाचारिताको अवस्था, करको भार, सरकारी खर्चको अवस्था, देशको वित्तीय क्षेत्रको गुणस्तर, व्यवसायिक÷ मौद्रिक÷व्यापार÷लगानी तथा वित्तीय स्वतन्त्रता जस्ता पक्षहरूको आधारमा प्रकाशन गरिने उक्त प्रतिवेदनमा यस क्षेत्रका भुटान बाहेकका सवै मुलुकहरूको अर्थव्यवस्था स्वतन्त्रताको कसीमा निकै पछाडि रहेका छन् । तुलनात्मक रूपमा भुटान केहि अगाडि रहेको छ । भुटान ६१ दशमलव ८ अङ्क सहित ८७ औं स्थानमा रहेको छ । त्यसपछि क्रमशः श्रीलङ्का ७५ दशमलव ८ अङ्क सहिता १११ औं, बङ्गलादेश ५५ दशमलव १ अङ्क सहित १२८ औं स्थानमा रहेको छ । भारत भने १३० औं स्थानमा रहेको छ । उसले ५४ दशमलव ५ अङ्क प्राप्त गर्दा पाकिस्तान ५४ दशमलव ४ अङ्क सहित नेपाल भन्दा दुई स्थानमाथि अर्थात १३१ औं स्थानमा रहेको छ । १३३ औं स्थानमा रहेको नेपालको अङ्क जम्मा ५४ दशमलव १ मात्र रहेको छ । द्वन्द्वको चपेटामा परिरहेको अफगानिस्तान ५१ दशमलव ३ अङ्क सहित १५४ स्थानमा रहँदा माल्दिभ्स भने सवैभन्दा पछाडि अर्थात १५५ औं स्थानमा रहेका छन् । प्रतिवेदनका अनुसार अधिल्लो वर्षको तुलनामा नेपालको स्तर झन् खस्किएको छ भने अन्य देशको अवस्थामा सामान्य सुधार भएको छ । गत वर्षको तुलनामा भुटानले उल्लेख्य सुधार गरेकोसमेत देखिएको छ । नेपाल सम्पत्ती सम्बन्धि अधिकार तथा न्यायालयको प्रभावकारितामा सामान्य सुधार गर्दा मौद्रिक तथा श्रम स्वतन्त्रता सूचकमा खस्किएको जनाइएको छ । नेपाल विश्वको औषत तथा एशिया प्यासिफिक क्षेत्रको औषत भन्दा कमजोर श्रेणीमा रहेको छ ।
सार्क क्षेत्रका मुलुकका सरकारले आन्तरिक तथा वैदेशिक लगानी आकर्षित गर्न विभिन्न प्रयासहरू गरेको भएपनि भ्रष्टाचारको अवस्था, श्रमशक्तिको गुणस्तर, परम्परागत कर्मचारीतन्त्र, भौतिक तथा अन्य पूर्वाधारको कमजोर अवस्था, कानूनी शासनको कमजोर प्रत्याभूति हुँदा न त वाह्य लगानी आशातित रूपमा भित्राउन सकेका छन् न त आन्तरिक लगानी अपेक्षित रूपमा बढाउन नै । सबैजसो मुलुकहरूले यी पक्षमा सुधार नगरेसम्म ओठे प्रतिवद्धता कै भरमा व्यवसायमैत्री वातावारणको अनुभूति हुन सक्दैन ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds