विज्ञापनको गरुड छायाँमा समाचार

krishna shrestha_1कृष्ण श्रेष्ठ

गएको साताको मङ्गलबार (मङ्सिर ११ गते) कतिपय नेपाली ‘ब्रोडसिट’ दैनिकका लागि अकल्पनीय रह्यो । त्यसअघि ‘ज्याकेट विज्ञापन’ छाप्न नसकेकाले मात्र होइन, ‘ज्याकेट विज्ञापन छाप्ने हाम्रो नीति नै छैन’ भन्नेले पनि सामाजिक सुरक्षा कार्यक्रम प्रारम्भ हुने दिन प्रधानमन्त्रीको तस्वीरसहितको ‘नयाँ युगको शुरुवात’ उद्घोषयुक्त त्यस्तो विज्ञापन छापे । कतिपय ब्रोडसिटले ‘ज्याकेट विज्ञापन’ छापेको त्यो पहिलो अवसर थियो । वास्तवमा राजधानीबाट प्रकाशित नेपाली ब्रोडसिट दैनिकका लागि पनि त्यो एक प्रकारले ‘नयाँ युगको शुरुवात’ थियो !
नेपाली छापा माध्यममा पनि केही समययता ‘ज्याकेट विज्ञापन’ फाट्टफुट्ट देखिन थालेका छन् । गएको कात्तिकमा सबभन्दा बढी ‘ज्याकेट’ विज्ञापन छाप्नेमा ‘कान्तिपुर’ र ‘द काठमाडौँ पोष्ट’ रहे । त्यसपछि ‘नागरिक’ रह्यो । अखबारहरूले नीतिगतभन्दा विज्ञापन नपाएका कारण त्यस्ता विज्ञापन नछापेका हुन् भन्ने कुरो मङ्सिर ११ मा ब्रोडसिट दैनिकमा प्रकाशित विज्ञापनले प्रमाणित गरेको छ ।
भारतीय अखबारहरूमा ‘ज्याकेट विज्ञापन’ छापिनु सामान्य भइसकेको छ । त्यो पनि एकल होइन, बहुज्याकेट । सन् २०१८ नोभेम्बर १ को ‘द टाइम्स अफ इण्डिया’ को मुम्बई संस्करणमा १० पृष्ठ ‘ज्याकेट विज्ञापन’ पल्टाएपछि बल्ल समाचार छापिएको पृष्ठ देखियो । नियमित पहिलो पृष्ठका लागि त आधा पृष्ठवाला थप दुई पृष्ठ पल्टाउनुप¥यो । अर्थात् १३ औँ पृष्ठ मात्र अखबारको वास्तविक पृष्ठ १ बन्यो । सो अखबारको नोभेम्बर १ देखि ३० सम्म प्रकाशित २९ अङ्कमध्ये चार अङ्क मात्र ‘ज्याकेट’ रहित रह्यो । ‘हिन्दुस्तान टाइम्स’, ‘नवभारत टाइम्स’, ‘दैनिक भाष्कर’ आदिमा पनि पर्याप्त ‘ज्याकेट विज्ञापन’ देख्न पाइन्छ । कुनै विशेष पर्व वा अवसरमा यस्ता ‘ज्याकेट विज्ञापन’का परिमाण बढ्छन् । नाम चलेका केही भारतीय अखबारमा ‘ज्याकेट’लगायत विज्ञापनका परिमाण बढ्न थालेपछि पाठक–गुनासो पनि बढ्न थालेको छ । प्रकाशनसँग सम्बन्धित व्यक्तिहरूले भने लागत मूल्यभन्दा निकै कम मूल्यमा अखबार बेच्नुपर्ने हुँदा विज्ञापन अपरिहार्य रहेको बताइरहेका छन् ।
अखबार प्रकाशन संसारको त्यस्तो उद्योग हो, जसले आफ्नो उत्पादित वस्तु लागत मूल्यभन्दा कममा बेच्छ । यसैले उत्पादित वस्तुको लागत उठाउन पनि अखबार प्रकाशकका लागि विज्ञापन अपरिहार्य हुन्छ । विज्ञापनको विश्वसनीयता बढाउन विभिन्न तिकमड अपनाइन्छ । ‘एड्भरटिज्मेन्ट’ (विज्ञापन) र ‘एडिटोरिअल’ (सम्पादकीय) को वर्णशङ्कर ‘एड्भर्टोरिअल’को जन्म भएको समेत एक शताब्दी भइसकेको छ । त्यसपछिका वर्षहरूमा समेत विभिन्न शब्दावली जन्मेका छन् । ‘ज्याकेट विज्ञापन’ केही वर्षयता अखबारमा देखिन थालेको विज्ञापनको नयाँ स्वरूप हो, नयाँ अवतार हो । नेपालमा पनि यसको चलन सीमित रूपमा नै भए पनि बढ्दो छ ।
नेपाल तथा भारतका ब्रोडसिटहरूले ‘ज्याकेट विज्ञापन’ छाप्दा अखबारको पृष्ठ सङ्केतका लागि दुई तरिका अपनाउने गरेको पाइन्छ । पहिलो हो, ‘ज्याकेट विज्ञापन’का रूपमा छापिएका पृष्ठहरूलाई अखबारको नियमित पृष्ठका रूपमा नै गणना गर्ने । हेरिएका अखबारहरूमध्ये ‘गोरखापत्र’, ‘द राइजिङ नेपाल’, ‘नेपाल समाचारपत्र’,
‘राजधानी’, ‘हिमालय टाइम्स’, ‘कारोबार’, ‘सौर्य’ र ‘आर्थिक अभियान’ ले यो तरिका अपनाएको देखिन्छ । दोस्रो हो, ‘ज्याकेट विज्ञापन’का रूपमा प्राप्त पृष्ठहरूलाई नियमित पृष्ठभित्र समावेश नगर्ने । ‘अन्नपूर्ण पोष्ट’, ‘नयाँ पत्रिका’, ‘द हिमालयन टाइम्स’, ‘कान्तिपुर’, ‘द काठमाडौँ पोष्ट’,
‘नागरिक’ र ‘रिपब्लिका’ले यो तरिका अपनाएको देखिन्छ ।
भानुभक्त आचार्यका विचारमा ‘ज्याकेट विज्ञापन’को शाब्दिक अर्थ ‘आवरण विज्ञापन’ हो । ‘पत्रकारिता र आमसञ्चार शब्दावली’ कृतिमा उहाँले ‘ज्याकेट विज्ञापन’को परिभाषा यसरी दिनुभएको छ ः ‘छापा पत्रकारितामा अखबार वा म्यागजिनलाई पूरै ढाक्ने गरी छुट्टै रूपमा पानामा प्रकाशित आवरण विज्ञापन, जसमा सम्बन्धित अखबारको शीर्षनाम (मास्टहेड) नियमित आकार र स्थानमा रहन्छ र बाँकी पृष्ठमा ठूलो आकारको विज्ञापनले ढाकेको हुन्छ । ’
अखबार मालिकका लागि ‘ज्याकेट विज्ञापन’ लाभदायी हुन्छ । विज्ञापनदाता आक्रामक तरिकाबाट लक्षित समूहसम्म पुग्न सक्छ । पाठकले पनि नवीन जानकारी प्राप्त गर्न सक्छ । यसको अर्को पाटो भने अत्यन्त संवेदनशील छ । यसले अखबारहरूको ‘एडिटोरिअल कन्टेन्ट’ (सम्पादकीय सामग्री) माथि प्रत्यक्ष–परोक्ष अतिक्रमण गर्छ र अखबारको मर्म–आत्मा ‘समाचार’लाई पछाडि धकेल्ने वा ओझेलमा पार्ने काम गर्छ । नोभेम्बर १ को ‘टाइम्स अफ इण्डिया’को १२ पेजको ‘ज्याकेट’ यसको ज्वलन्त उदाहरण हो । पत्रकारिताको दृष्टिले यस अर्थमा ‘ज्याकेट विज्ञापन’ यस्तो गरुड हो, जसको छायाँ परेपछि समाचारको अस्तित्व नै सङ्कटमा पर्न सक्छ । जस्तो; मङ्सिर ११ गते नेपाली ब्रोडसिट दैनिकहरूले ‘ज्याकेट विज्ञापन’ त छापे तर साथमा नियमित पृष्ठबाट प्रत्यक्ष÷परोक्ष रूपमा दुई पृष्ठ कटाए । परिणाम ? पाठकहरू दुई पृष्ठ पाठ्यसामग्रीबाट वञ्चित भए ।
अर्को महìवपूर्ण पाटो, मङ्सिर ११ मा ‘ज्याकेट विज्ञापन’ छापेका कतिपय ब्रोडसिटले सिद्धान्ततः अखबारको पहिलो पृष्ठ छापे पनि व्यवहारतः ‘पहिलो पृष्ठ’ नै छापेनन् । अर्को शब्दमा भन्दा छापा पत्रकारितामा अत्यन्त महìवका साथ लिइने ‘पहिलो पृष्ठको समाचार’ (फस्र्ट पेज न्यूज) अवधारणाकै त्यो दिन अपहरण÷हत्या भयो । कारण, उनीहरूले अखबारको पहिलो पृष्ठ तेस्रो पृष्ठबाट प्रारम्भ गरे । पृष्ठ ३ को संज्ञा दिइएको पृष्ठमा छापिएका समाचारलाई ‘फस्र्ट पेज न्यूज’ भन्न सकिन्छ ? ‘मास्टहेड’ छापिँदैमा अखबारको कुनै पनि पृष्ठ पहिलो पृष्ठ हुनसक्छ ? यसरी छापिएको रहेछ भने सम्बन्धित अखबारले पहिलो पृष्ठमा पनि पूरा पृष्ठ (‘मास्टहेड’को स्थान कटाएर) विज्ञापन लिने नियम बनाएको र छापेको रहेछ बुझ्नुपर्ने हुन्छ; ‘ज्याकेट विज्ञापन’ होइन । ज्याकेट आवरण हो, माथिबाट ढाक्ने, छोप्ने । जस्तो; हामी लुगा वा स्वेटर लगाएपछि त्यसमाथि ज्याकेट लगाउँछौँ ।
‘बहु–ज्याकेट विज्ञापन’मा विज्ञापन छापिएका बिजोर पृष्ठ सङ्ख्यामा ‘मास्टहेड’ छापिने गरेको देखिन्छ । जस्तो; ‘द टाइम्स अफ इण्डिया’को नोभेम्बर १ को अङ्कमा एउटामा आधासहित सात पृष्ठमा ‘मास्टहेड’ छापिएको छ । के ती सबैलाई ‘पहिलो पृष्ठ’को संज्ञा दिन सकिन्छ ? ‘ज्याकेट विज्ञापन’का सन्दर्भमा भानुभक्त आचार्यको ‘छापा पत्रकारितामा अखबार वा म्यागजिनलाई पूरै ढाक्ने गरी छुट्टै रूपमा पानामा प्रकाशित आवरण विज्ञापन’ भनाइ यहाँ सान्दर्भिक हुन आउँछ । ‘द टाइम्स अझ इण्डिया’ मात्र होइन, यसका सह–प्रकाशनहरूले पनि ‘ज्याकेट’ पृष्ठहरू सकेपछि मात्र नियमित पृष्ठ उल्लेख गर्ने गरेको पाइन्छ । यसबाट उसले ‘ज्याकेट विज्ञापन’ र नियमित पृष्ठबीच एउटा सीमारेखा कोरेको देखिन्छ । यो सीमारेखाका सम्बन्धमा नेपाली अखबारका सम्पादक÷प्रकाशकहरू प्रस्ट हुनु जरुरी देखिन्छ । भोलिका दिनमा ‘ज्याकेट विज्ञापन’ वा ‘बहु–ज्याकेट विज्ञापन’को प्रचलन बढ्दै यो सवाल झन् जटिल हुँदै जान्छ । पत्रकारिताका अभ्यासकर्ता तथा विज्ञहरूले पनि यसमा ठहर दिन सक्नुपर्छ, दिनुपर्छ ।
‘ज्याकेट विज्ञापन’का सन्दर्भमा ‘मास्टहेड’को प्रयोग अभ्यासले पनि प्रश्न उब्जाउँछ । विगतमा सम्पादकीय र विज्ञापनको पाठ्य सामग्रीमा प्रयोग गरिने फन्टसमेत बेग्लाबेग्लै हुनुपर्ने मान्यता थियो । अहिले त्यो लक्ष्मण रेखा मेटाउने काम बढ्दै गएको छ । ‘एड्भर्टोरिअल’ले सम्पादकीय र विज्ञापनबीचको सीमारेखालाई निकै नै धमिल्याइसकेको छ । पूर्णतः समाचार लेखन शैलीमा
‘एड्भर्टोरिअल’ तयार पार्ने र त्यसलाई समाचार नै हो कि भन्ने भ्रम पर्ने गरी अखबारहरू ‘बक्स न्युज’को रूपमा दिने चलन पनि यदाकदा देखिँदैछ । ‘एड्भर्टोरिअल’ वा ‘प्रायोजित’ वा यस्तै अन्य शब्दको प्रयोगविना त्यस्तो सामग्रीको प्रकाशन पत्रकारिताको दृष्टिले गलत हो तर बेलामौकामा त्यस्तो भएको अनुभव गर्न सकिन्छ । केही पत्रिकाहरूले भने अझै पनि सम्पादकीय र विज्ञापन वा सशुल्क सामग्रीबीचको रेखालाई कायम राख्ने काम गर्दै आएका छन् । ‘द न्युयोर्क टाइम्स’ले सन् २०१५ मा परिमार्जन गरेको ‘विज्ञापन स्वीकार्यता पुस्तिका’मा त स्पष्ट रूपमा ब्रोडसिट एड्भर्टोरिअल्स (अतिरिक्त पृष्ठहरू) मा ‘द न्युयोर्क टाइम्स’को लोगो पृष्ठमा कतै देखिन नहुने, पत्रिकाले प्रयोग गर्ने टाइपफेससँग मिल्ने खाले फन्ट शीर्षकमा राख्न नहुने, ‘कालम’को आकार अखबारको कालमको आकारसँग मिल्न नहुने, प्रायोजित लेखमा लेखकको नाम समाचारको ‘बाइलाइन’ जसरी दिन नपाउनेलगायतका थुपै्र कठोर प्रावधान राखेको पाइन्छ । नेपाली अखबारमा यस्तो प्रावधानको अभाव छ, जसले गर्दा विज्ञापन र सम्पादकीय सामग्रीबीचको सीमारेखा बढी नै धमिलिएको छ । त्यसमाथि केही समययता विज्ञप्तिका आधारमा विज्ञापनलाई समाचार बनाउने काम अखबारहरूमा बढिरहेको छ । जहाँसम्म ज्याकेट विज्ञापनको कुरो छ, ‘ज्याकेट विज्ञापन’ सम्पादकीय सामग्री होइन, शुल्क तिरेर छाप्न दिइएको सामग्री हो । तसर्थ, यस्तो विज्ञापनमा अखबारको
‘मास्टहेड’ प्रयोग गर्ने वा नगर्ने भन्ने पनि एक गम्भीर नैतिक प्रश्न भएको छ । यसको विकल्प यस्ता ‘ज्याकेट विज्ञापन’का लागि ‘पृथक मास्टहेड’ तयार पार्न सकिन्छ ।
मङ्सिर ११ का ज्याकेट विज्ञापनले विज्ञापनतादाता वा विज्ञापन प्रायोजकसँग सम्बन्धित गम्भीर नैतिक प्रश्न पनि खडा गरेको छ । प्रकाशित ‘ज्याकेट विज्ञापन’मध्ये केही पत्रिकामा विज्ञापनमुनि अन्य संस्थाको नाम र÷वा लोगो तथा शुभकामना सन्देश प्रकाशित भएको देखिन्छ । यसबाट ‘ज्याकेट विज्ञापन’ प्रकाशनका लागि ती संस्थाले प्रायोजन गरेको अनुमान गर्न सकिन्छ । प्रायोजित विज्ञापनमा स्पष्ट रूपमा प्रायोजक उल्लेख नगरिनुलाई नैतिक रूपमा सही मानिँदैन । नेपाली अखबारहरूले यस विषयमा पनि एउटा मापदण्ड निर्धारण गर्नुपर्ने देखिन्छ ।
प्रारम्भमा नै उल्लेख गरियो, मङ्सिर ११ मा भएको ‘ज्याकेट विज्ञापन’को प्रकाशनबाट नेपाली ब्रोडसिट दैनिकहरूमा पनि एकप्रकारले ‘नयाँ युगको शुरुवात’ भएको छ तर यसले भावी दिनहरूमा आइपर्न सक्ने समस्याप्रति अहिले नै सचेत हुन पनि नेपाली पत्रकारिता जगत्लाई घच्घच्याएको छ । देशमा वा विश्वमा ठूलो विध्वंश भएको समाचार छापिएको दिन सेकुवा, ममको ‘ज्याकेट विज्ञापन’ छाप्नुपर्ने स्थिति भयो भने के गर्ने ? विज्ञापन अखबारहरूको जीवन्तताका लागि आवश्यक छ तर यो समाचारमाथिको गरुड छायाँ भने पक्कै हुनुहुन्न । पत्रकारिता क्षेत्रको मान प्रतिष्ठा कायम राख्न र अखबारहरूले आफ्नो ऐतिहासिक साख जोगाउन पत्रकार, पत्रकारितासँग सम्बन्धित व्यक्तिहरू र नियामक नियकाहरूले यसमा घोत्लिन अबेर गर्नु हुन्न । अन्यथा अखबार अर्थात् समाचारपत्रहरू सूचनापत्रमा सीमित हुन बेर छैन ।

 

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना