• ११ वैशाख २०८१, मङ्गलबार

मन्त्रिपरिषद बैठक निर्णय

२४ गते संसद् अधिवेशन, खेलाडीलाई जनही ६ लाख

blog

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २० गते । सरकारले वैशाख २४ गतेका लागि संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट सो निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपियाँ र टिमका अन्य अफिसियललाई जनही ३ लाख रुपियाँ प्रोत्साहन स्वरूप उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै, कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ । 

सोहीअनुसार कोशीटप्पू वन्यजन्तु आरक्ष स्थापना गर्दा विस्थापितहरूको सन्दर्भमा थप छानबिन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनबारे आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।