• १२ वैशाख २०८१, बुधबार

बार्सिलोना उपाधि नजिक

blog

ओसासुनाविरुद्ध गोल गरेपछि बार्सिलोनाका जोर्डी अल्वा । तस्बिर : एएफपी

काठमाडौं, वैशाख २० गते । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा शीर्षस्थानको बार्सिलोनाले १० खेलाडीमा समेटिएको ओसासुनालाई १–० गोलले हरायो ।

बार्सिलोनाको जितमा जोर्डी अल्वाले निर्णायक गोल गर्नुभयो । बल पोसेसनमा अब्बल रहेपछि बार्सिलोनालाई गोल गर्न हम्मेहम्मे परेको थियो । अल्वाले ५०औँ मिनेटमा गोल गर्दै टोलीलाई महत्त्वपूर्ण जित दिलाउनुभयो ।

७६औँ मिनेटमा एलेक्स बाल्डेको स्थानमा मैदान प्रवेश गर्नुभएका अल्वाले फ्रान्की डी जोङको पासमा गोल गर्नुभएको हो । २७औँ मिनेटमा ओसासुना १० खेलाडीमा समेटिएको थियो ।

बार्सिलोनका पेड्रीमाथि फल खेलेपछि जर्ज हररान्डो सोझै रातो कार्ड पाउँदै बाहिरिनुभयो । तर पनि बार्सिलेनाले अन्तिममा पुगेर गोल गर्न सफल भयो ।

यससँगै लिग उपाधिको मुखमा पुगेको बार्सिलोनाले अब अर्को खेलमा स्पान्योललाई हराएमा च्याम्पियन बन्नेछ । शीर्षस्थानमा रहेको बार्सिलोनाको ३३ खेलबाट ८२ अङ्क छ । बार्सिलोना दोस्रो स्थानको रियल 

म्याड्रिडभन्दा १४ अङ्कले अगाडि छ । पराजित ओसासुना ४४ अङ्कसहित नवौँ स्थानमा छ । मंगलबार राति नै भएको खेलमा दोस्रो स्थानको रियल म्याड्रिड रियल सोसियडाडसँग २–० गोलले पराजित भयो ।

पराजित रियलको ६६ खेलबाट ६८ अङ्क छ । रियलको हारले पनि बार्सिलोनालाई थप राहत मिलेको हो । रियललाई हराएको सोसियडाड ६१ अङ्क जोड्दै चौथो स्थानमा उक्लिएको छ । एजेन्सी