• १६ चैत २०८०, शुक्रबार

तनहुँमा चितुवा आतङ्क : ६ वर्षमा १४ बालबालिकाको मृत्यु

blog

नरभक्षी चितुवा नियन्त्रण गर्न डिभिजन वन कार्यालयले बनाएको पासो । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख २० गते । तनहुँमा नरभक्षी चितुवाको आक्रमणमा परेर ६ वर्षमा १४ जना बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायतका पालिकामा चितुवाले धेरै आतङ्क मच्चाएको छ । चितुवाको आक्रमणबाट सबैभन्दा धेरै भानु नगरपालिका प्रभावित भएको छन् भने हाल बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क बढ्न थालेको छ ।

वि.सं. २०७४ फागुन ९ गतेदेखि हालसम्म ६ वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की वर्ष ८ की सुप्रीति थापा, बन्दीपुर–१ का वर्ष ५का सुप्रिम थापा, बन्दीपुर–३ की वर्ष ११ को डिना चेपाङ मृत्यु भएको छ ।

यस्तैगरी, व्यास नगरपालिका–१२ छिर्कनका वर्ष ८ का अभिनव कुँवर भानु नगरपालिका–३ का वर्ष ६ का विशाल श्रेष्ठको मृत्यु भएको छ । त्यसैगरी भानु–४ की वर्ष ४ को रञ्जिता लम्साल, भानु–२ की वर्ष वर्ष ८ को पुष्पा अधिकारी, सोही वडाका वर्ष १० का अमृत गुरुङ, वर्ष ७ को ऋतिक रोका मृत्यु भएको छ ।

यसैगरी, भानु–१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका–३ का वर्ष २ का रविन नेपाली, आँबुखैरेनी नगरपालिका–१ का वर्ष ८ को पुजन सिञ्जाली, बन्दीपुर–४ का वर्ष ११ का इसाक सुनार र शुक्लागण्डकी–२ नारायण रानाको मृत्यु भएको छ । 

यसैगरी घाइते हुनेहरूमा वडा नम्बर ११ को भीमबहादुर तामाङ, वडा नम्बर १३ का चिजबहादुर कुँवर, प्रेमबहादुर बानियाँ, वडा नम्बर २ का हेमराज सुनार, सुलभ दाहाल, सोनी अछामी, वडा नम्बर ४ को रामबहादुर कुमाल, रियाना थापा रहेका छन् । बन्दीपुर गाउँपालिकाका वडा नम्बर ५ का अनुप नेपाली, वडा नम्बर १ का अक्कलबहादुर चेपाङ,  भिमलाल गरञ्जा मगर, सुलभ परियार, वडा नम्बर डिना चेपाङ घाइते हुनुभएको छ ।

आँबुखैरेनी गाउँपालिकाको वडा नम्बर १ को अमिशा थापा घाइते हुनु भएको छ ।  व्यास नगरपालिकाको वडा नम्बर –१२ का अनुष्का परियार, वडा नम्बर ११ का शङ्कर गुरुङ, दिलमाया गुरुङ घाइते हुनुभएको छ । यसैगरी, शुक्लागण्डकी नगरपालिका–३ की संस्कृति न्यौपाने घाइते हुनु भएको छ । यस आर्थिक वर्षमा चार घटनामा दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएको कार्यालयले जनाएको छ ।

चितुवा आतङ्क बढ्न थालेपछि डिभिजन वन कार्यालय तनहुँको सक्रियतामा चितुवा नियन्त्रणको लागि पासो थपिएको छ । बाख्रा खान जाँदा चितुवा पासोमा पर्ने हुँदा नियन्त्रणको लागि सहज हुने डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार विभिन्न ठाउँमा गरी १८ स्थान पासो राखिसकिएको छ ।

चितुवा आतङ्कले जनमानसमा त्रासको वातावरण बनेकाले चितुवा नियन्त्रण गरी सुरक्षित साथ वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउन प्रयास गरिएको छ ।

‘‘एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः आक्रमण गर्ने सम्भावना रहने हुँदा नियन्त्रणमा लिन सोही ठाउँ आसपासमा पासो राख्ने गरिएको छ’’ डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले भन्नुभयो ।

प्रत्येक पालिकामा पानीको पोखरी निर्माण कार्यलाई प्राथमिकता दिएसँगै विगतका वर्षका तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी ल्याउन सकिएको काफ्लेले जानकारी दिनुभयो । ‘‘खोला खोल्सीमा रहेका सबै पानी बस्तीमा लैजाँदा प्यास मेटाउन वन्यजन्तु बस्तीमा पस्दा मानवीय क्षति हुने गरेकाले पोखरी निर्माणलाई प्राथमिकता दिएका छौँ’’ काफ्लेले भन्नुभयो । 

डिभिजन वन कार्यालय अनुसार भालुको आक्रमणबाट पनि तनहुँमा दुई जना घाइते भएका छन् । भानु नगरपालिका–१३ निवासी चिजबहादुर कुँवर र प्रेमबहादुर कुँवर घाइते हुनुभएको हो ।