• १३ वैशाख २०८१, बिहिबार

पाथीभरामा दर्शनार्थीको भीड

blog

ताप्लेजुङ, वैशाख १९ गते । ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीर्थयात्रीको भीड लागेको छ । आज मात्रै मन्दिरको दर्शन गर्न चार हजारभन्दा बढी भक्तजन पाथीभरामा पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 

क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार वैशाखयता आज सबैभन्दा धेरै चार हजार एक सय ३१ जना भक्तजन पाथीभराको दर्शनका लागि आएका छन् ।

वैशाख १५ मा अन्धशुक्र सकिएसँगै तीर्थयात्रीको आगमन बढेको क्षेत्र विकास समितिले जनाएको छ । त्यस अघिसमेत दैनिक सयौँको सङ्ख्यामा तीर्थयात्री आइरहेका थिए । यो सिजनमा सबैभन्दा धेरै गत चैत ४ गते पाँच हजार सात सय आठ जना भक्तजन पाथीभरा पुगेका थिए । 

अन्धशुक्र लागेसँगै तीर्थयात्रीको आगमन घटेको थियो तर शुक्रबार यता तीर्थयात्री आगमन बढेसँगै मन्दिरमा भिडभाड हुन थालेको छ भने पाथीभरा क्षेत्र र सदरमुकाम फुङ्लिङका होटल पनि खचाखच छन् ।

पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटी, माथिल्लो फेदी, सुकेटारसहितका होटल भरिभराउ भएको यहाँका होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताउनुभयो । 

पछिल्लो केही दिनयता साँझ बिहान सामान्य वर्षा भएर चिसो बढे पनि तीर्थयात्री आगमन भने बढ्दो छ । भक्तजनको घुइँचो लागेसँगै पूजाआजालाई सहज र छिटो बनाउन पाथीभरा क्षेत्रमा रहेका कर्मचारीलाई पूर्णरूपमा खटाइएको छ ।

पाथीभरा मन्दिरमा स्वदेशी तथा विदेशीसमेत गरी वार्षिक लाखौँको सङ्ख्यामा तीर्थयात्री आउने गरेका छन् । बडादसैँमा सबैभन्दा धेरै तीर्थयात्री भीड हुन्छ । त्यसपछि भने फागुनदेखि वैशाखसम्म धेरै तीर्थयात्री आउने गरेका छन् । रासस