• १३ वैशाख २०८१, बिहिबार

गोही संरक्षणका लागि घडियाल काव्य उत्सव

blog

घडियाल काव्य उत्सवबारे पत्रकारलाई जानकारी गराउँदै । तस्बिर : मीना कंडेल

मीना कंडेल 

कावासोती, वैशाख १९ गते । अति सङ्कटापन्न जीव घडियाल गोहीको संरक्षणका लागि नवलपुरको रजहरमा घडियाल काव्य उत्सव गर्न लागिएको छ । ‘प्रकृतिसँग साहित्य, घडियाल काव्य उत्सव’ वैशाख २२ र २३ गते गर्ने तयारी भएको आयोजकले जनाएको छ । 

सन् १९७० देखि नै दुर्लभ मानिएको अति सङ्कटापन्न जीव घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि ‘प्रकृतिसँग साहित्य’ भन्ने मूल नारासहित घडियाल काव्य उत्सव दोस्रो संस्करण हुन लागेको हो । 

नवलपुरको पर्यटन सम्भावनालाई उजागर गरी साहित्यमार्फत घडियाल गोहीको प्रचार–प्रसार गर्दै संरक्षणमा निरन्तरता दिने काव्य उत्सवको उद्देश्य रहेको छ । नेपाली साहित्यको श्रीवृद्धि र संवर्द्धनमा टेवा दिने, ओझेलमा परेका साहित्यकारलाई एउटै थलोमा जोड्ने वातावरण बनाउनु र नयाँ पुस्तालाई साहित्यको क्षेत्रमा थप अगाडि ल्याउने वातावरणको सिर्जना गर्ने कार्यक्रमको लक्ष्य रहेको ह्याप्पी एमका प्रबन्धक दीपेश कडरियाले बताउनुभयो ।

घडियाल काव्य उत्सवमा सङ्कटमा घडियाल, लोभदेखि लोपसम्म, वेग र भेगको दोसाँधमा नारायणी, शिक्षाको संरक्षण कि संरक्षणका लागि शिक्षा, चराचरमा चरा, नवलपुरमा राष्ट्रिय निकुञ्ज आवश्यकता कि बाध्यता, लगायत प्रकृतिसँग साहित्य र शिरको गाथा तीरको व्यथाजस्ता साहित्य काव्यका बारेमा प्रशिक्षण दिइने आयोजकको भनाइ छ ।

संरक्षणकर्मी डीवि चौधरीले घडियालको जनावरको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नारायणीको किनारा मध्यवर्ती वन्यजन्तु केन्द्र भएकाले पनि यहाँ रहेका सबै खाले जनावरको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउनुभयो ।

त्यस्तै, खिमानन्द भुसालले भन्नुभयो, ‘घडियाल जातिको संरक्षण एवम् प्रवर्द्धन गर्नुपर्छ । यहाँ आन्तरिक तथा बाहृय पर्यटकहरू बढाउन घडियालको महत्त्वपूर्ण भूमिका छ ।’ नारायणीको पर्यटकीय विशेषता भनेको नै थरी–थरीका जनावरहरू रहेको आयोजकको बुझाइ छ ।  प्रकृतिसँग साहित्य नामक यो घडियाल उत्सव अहिलेको लागि अत्यन्तै समयसापेक्ष कार्यक्रम सिद्ध हुनेमा भुसालले विश्वास व्यक्त गर्नुभयो ।