• १६ चैत २०८०, शुक्रबार

चितुवा आतङ्कले बढायो वनमा डढेलो

blog

वनमा लागेको डढेलो । तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख, १९ गते । तनहुँका चितुवा आतङ्कले वन डढेलो बढेको छ । डढेलो लगाउँदा चितुवा लुक्ने झाडी मासिने हुँदा वनमा डढेलो लगाउने क्रम बढेको हो । सुख्खा मौसममा भएको बेला बस्ती वरपरको क्षेत्रमा डढेलो लगाउँदा फैलिएर जङ्गलसम्म पुगेको डिभिजन वन कार्यालय तनहुँका सहायक डिभिजन वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो । ‘‘चितुवा बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेकाले झाडी सफा गर्नेक्रममा बस्तीबाट जङ्गलमा डढेलो फैलिँदैगएको छ’’ पण्डितले भन्नुभयो ।

चितुवाबाट बढी प्रभावित भएको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिका क्षेत्रका सार्वजनिक वनमा आगलागी धेरै हुनेगरेको पाइएको पण्डितले जानकारी दिनुभयो । 

‘‘छ वर्षको अवधिमा तनहुँका १४ जना बालबालिका ज्यान गुमाएको र १७ जना घाइते भएकाले चितुवा लुक्ने डरले झाडीमा आगो लगाउने गरेकाले वनमा क्षति धेरै भएको पाइएको छ’’ पण्डितले भन्नुभयो । वनमा डढेलो लाग्दा चितुवाका आहारा बँदेल, मृग, चराचुरुङ्गी मासिने, बिरुवा नास हुने, पानीको मुहान सुक्ने हुँदा चितुवा आहारा र पानी खोज्दै मानव बस्तीमा आउने पण्डितको भनाइ छ ।

जिल्लाका दश वटा पालिकामा छ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियत वन, ६ धार्मिक वन रहेको ती वनहरूमध्ये २५ प्रतिशत वनमा डढेलो लागेको सहायक वन अधिकृत पण्डितले जानकारी दिनुभयो । 

“डढेलो लाग्न नदिन सचेतनामूलक कार्यक्रमका साथै प्रचार–प्रसार गरिए बस्ती वरपरको झाडीबाट सल्किएर फैलनेगरेको पाइएकोले नियन्त्रण गर्न सकिएको छैन’’ पण्डितले भन्नुभयो । कतिपय व्यक्तिले घरनजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा पनि सल्किनेगरेको पाइएको डिभिजन वन कार्यालयले जनाएको छ । 

मानिसले घरनजिकैको स्थानमा गाईबाख्राका लागि घाँस राम्रोसँग पलाउँछ भन्दै आगो लगाइदिने गरेकाले पनि समस्या निम्तिएको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले बताउनुभयो । डढेलोले गर्दा तापक्रम बढाउनुका साथै वन्यजन्तु तथा वनस्पतिको वासस्थान नष्ट गर्नुका साथै माटो नाङ्गो र कमजोर बनाइ भलको बहाव र गति बढाएर भूक्षय, बाढिपहिरो, डुबानजस्ता प्रकोप भएर धनजन र सम्पदामा पनि क्षति गर्ने गरेको उहाँले बताउनुभयो ।