• १६ चैत २०८०, शुक्रबार

स्थापना दिवसमा विभिन्न व्यक्ति सम्मानित

blog

बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की सम्मानपत्र ग्रहण गर्दै । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, वैशाख १९ गते । संयन्त्र सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो बेतनाले आठौँ स्थापना दिवसका अवसरमा विभिन्न सङ्घ संस्था र व्यक्तिलाई सम्मानित गरेको छ । मङ्गलबार मोरङको बेलबारीमा आयोजित कार्यक्रममा मोरङ –१ का प्रतिनिधि सभा सदस्य डिगबहादुर लिम्बूले व्यक्ति तथा संस्थाका प्रतिनिधिलाई सम्मानपत्र प्रदान गर्नुभयो ।

सम्मान प्राप्त गर्नेहरूमा महिला अधिकारकर्मी सीता सुवेदी, पत्रकार विक्रम निरौला, साहित्यकार इरनकुमार राई, तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक हेमन्त सुवेदी, बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की र रेडियो बेतनाकी कर्मचारी करुणा बस्नेत हुनुहुन्छ ।

यस्तै, लक्ष्मी सामूदायिक वन, लक्ष्मी माध्यमिक विद्यालय र बेलबारी जेसीजलाई सम्मान गरिएको छ । कार्यक्रममा सांसद डिगबहादुर लिम्बूले विराटनगर बाहिरका अधिकांश रेडियो बन्द हुनेक्रममा रहेका बेला रेडियो बेतनाले आफ्नो प्रसारण क्षेत्रका सामाजिक संस्था र व्यक्तिलाई सम्मान गरेर रेडियोसँग जोडेको बताउनुभयो । 

रेडियोका अध्यक्ष भोजराज बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा मोरङ ३ का प्रतिनिधिसभा सदस्य डा. सुनिलकुमार शर्मा, कोसी प्रदेशसभा सदस्य विद्यादेवी चाम्लिङ, बेलबारी नगरपालिकाका उपप्रमुख नितु थापा कोइराला, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष लीलाबल्लभ घिमिरेलगायतले बोल्नुभएको थियो ।