• १३ वैशाख २०८१, बिहिबार

जमिन भासिँदा पुलमा दुर्घटना जोखिम

blog

पुल छेउमा भासिएको जमिन । तस्बिर : लखन चौधरी

अविनाश चौधरी

धनगढी, वैशाख १९ गते । कैलालीको घुरहा नदीमा रहेको पुल छेउको जमिन भासिएर ठूलो दुर्घटनाको जोखिम बढेको छ । कैलारी गाउँपालिका –४ र ६ को सिमानामा रहेको पुलमा दुर्घटनाको जोखिम बढेको हो । ‘के गाउँ’ र भगतपुर जोड्ने पुलको पूर्वी भागमा जमिन भासिएको छ । 

भासिएको क्षेत्रमा मर्मतको कार्य नभएपछि दुर्घटनाको जोखिम बढेको स्थानीयले बताएका छन् । पुलबाट दैनिक कैयौँ मानिससहित सवारी साधनको ओहोरदोहोर हुने गर्छ । भासिएको ठाउँमा स्थानीय सरकारले मर्मतको लागि ध्यान नदिँदा जोखिम बढेको कैलारी गाउँपालिका –४ के गाउँका भीम तिरुवाले बताउनुभयो । 

‘बिग्रेको ठाउँमा मर्मत गर्नुपर्ने दायित्व स्थानीय सरकारको हो’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म ध्यान पुगेको देखिन्न । जसका कारण दुर्घटनाको जोखिम बढेको छ ।’ जनप्रतिनिधिले चुनावका बेला बाटो मर्मत गर्ने प्रतिबद्धता जनाए पनि आफ्नो प्रतिबद्धतानुसार काम गर्न नसकेको उहाँले गुनासो गर्नुभयो । 

केही वर्षअघि बाढीले कटान गरेपछि त्यो पुलको पूर्वी भागतर्फको जमिन भासिन सुरु भएको थियो । जमिन भासिँदै गएर पुल पश्चिमतिर नदी पूर्वतिर जाने अवस्था सिर्जना भएको छ । बिग्रेको ठाउँमा गाउँपालिका कार्यालयले मर्मत गर्दैआए पनि त्यो टिकाउ हुन सकेको छैन । 

पुलको पूर्वतर्फ देखापरेको समस्या समाधानका लागि अझै एक स्पाम थप गर्न आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताउनुभयो । उहाँका अनुसार त्यसका लागि एक करोड रुपियाँको लागत स्टिमेट पनि गरिएको छ । 

सङ्घीय सरकारका लागतमा सडक डिभिजन कार्यालय कञ्चनपुरमार्फत सो पुल बनेको हो । पुलको लम्बाई १२५ मिटर छ । तर नदीले धार पूर्वतिर परिवर्तन गरिरहेकाले जमिन भासिने समस्या आएपछि पूर्वतिर अझै एक स्पाम बनाउनुपर्ने देखिएको छ ।