• १२ वैशाख २०८१, बुधबार

निर्माण कार्य सम्पन्न नभएपछि सम्झौता तोड्ने तयारी

blog

बाँकेको खजुरामा निर्माणाधिन सडक । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, बैशाख १९ गते । दैनिक हर्जाना लगाएर समेत काम सुरु गराउँदा पनि सन्तोषजनक निर्माण कार्य अघि नबढेपछि बाँकेको खजुरामा निर्माणाधीन चार लेन सडकको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढेको छ । 

सडक डिभिजन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख इन्जिनियर नीरज शाक्यले निर्माण कम्पनीले सडक निर्माणका लागि बारम्बार आलटाल गरेपछि ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो । 

“स्थानीय बासिन्दा र सडक डिभिजनको बारम्बारको दबाब र ताकेतापछि केही दिन काम गर्ने फेरि अलपत्र छाड्ने काम निरन्तर भइरहेको छ” सडक डिभिजन कार्यालयका प्रमुख शाक्यले भन्नुभयो, “निर्माण कम्पनीले निर्माण कार्यमा ढिलाइ गर्दा जनतालाई सास्ती भएकाले ठेक्का तोड्नका लागि प्रक्रिया अघि बढाइएको छ ।” 

काम सन्तोषजनक रूपमा अघि नबढे पनि पछिल्लो समय पेश्कीस्वरुप उपलब्ध गराइएको रकम समेत बैङ्कबाट फिर्ता ल्याइएको उहाँको भनाइ छ । सडक डिभिजन कार्यालय नेपालगञ्जले पटक–पटक म्याद थप हुँदा समेत काम सम्पन्न नगरेपछि अन्तिम पटकका लागि भन्दै हर्जाना तिराएर चैत सुरुदेखि निर्माण कम्पनीलाई सडक निर्माणको अनुमति दिएको थियो । 

सडक डिभिजन कार्यालय नेपालगञ्जका अनुसार २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि. इलामले सडक निर्माण कार्य सुरु गरेको छ । बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर र बर्दियाको गुलरियामा दुई हजार २०० मिटर लम्बाइको सडक निर्माणका लागि २१ करोड ४९ लाख रुपियाँमा सम्झौता भएको थियो । 

सम्झौता सुरु हुँदा २०७७ चैतमा सम्पन्न हुनुपर्ने थियो । त्यसपछि पनि निर्माण कम्पनीको मागका आधारमा तीन पटक म्याद थप भए पनि काम सन्तोषजनक रूपमा अघि बढ्न सकेको छैन । करार सम्झौताअनुसार प्रतिदिन ०.०५ प्रतिशतका दरले हर्जाना लगाएर काम सुरु भए पनि सन्तोषजनक रूपमा निर्माण कार्य अघि बढेको छैन । 

सुरुवातमा बिजुलीका पोल तथा खानेपानीको पाइप सार्ने, रुख तथा, सडक खण्डमा पर्ने संरचना, दुई पटकको कोभिडका कारण  पनि कामले गति लिन नसके पनि पछि निर्माण कम्पनीको लापरबाही देखिएको छ ।