• १३ वैशाख २०८१, बिहिबार

सरकारले कार्यकाल पूरा गर्नुपर्छ भन्ने पक्षमा छौँ : अध्यक्ष यादव

blog

प्रतिनिधिसभा सदस्यको रुपमा सभामुख देवराज घिमिरेसमक्ष शपथ ग्रहण गरेपछि जसपा अध्यक्ष उपेन्द्र यादव । तस्बिर : संघीय संसद् सचिवालय

कठमाडौं, वैशाख १९ गते। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरू सरकारको स्थिरताको पक्षमा रहेको बताउनुभएको छ। 

मंगलबार प्रतिनिधि सभा सदस्यको रूपमा सभामुखबाट शपथ ग्रहण गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले आफूहरू सरकारको स्थिरताको पक्षमा रहेको बताउनुभएको हो। 

उहाँले सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ भन्ने पक्षमा पार्टी रहेको स्पष्ट पार्नुभयो। उहाँले अस्थिरताले कसैको हित नगर्ने र लोकतन्त्रलाई कमजोर बनाउने भन्दै जनतामा वितृष्णा जाग्न दिनु नहुने उल्लेख गर्नुभयो। अध्यक्ष यादवले सरकार निर्माणको सम्बन्धमा राष्ट्रिय समझदारी बन्नुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, ‘‘सरकारको स्थिरता लोकतन्त्रको विकासमा अत्यन्त महत्त्वपूर्ण हुन्छ। नेपालमा त झन् आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थिरता आवश्यक छ। सरकारलाई पहिले स्थिरता दिने। 

दोस्रो कुरा संसदीय समिति अगाडि नै भइसक्नुपर्ने थियो। त्यसलाई अब यथाशीघ्र गर्नुपर्दछ। संसदीय समिति नै संसदीय प्रणालीको फङ्सनल विङ हो। त्यसलाई निर्माण गर्ने, याक्टिभेट गर्नु आवश्यक छ। धेरै विधेयक परिराखेका छन्। धेरै विधेयक आउनुपर्ने छ। यी सबै कार्यलाई गतिशीलता दिनुपर्दछ। सरकारले कार्यकाल पूरा गर्नुपर्छ भन्ने पक्षमा हामी छौँ। अस्थिरताले कसैको हित गर्दैन। 

लोकतन्त्रलाई कमजोर बनाउँछ। जनतामा वितृष्णा जाग्ने स्थिति हुन्छ। त्यो गर्न दिनुहुन्न। म त चाहन्छु अब वृहत् समझदारी बनोस्। सक्यौँ भने एउटा राष्ट्रिय समझदारी बनोस्। समझदारीका आधारमा मुलुकमा सरकारको स्थिरता, स्थायित्व, आर्थिक विकास र समृद्धितर्फ मुलुक अगाडी बढोस्।’’

उहाँले संसदीय समितिको कामलाई सक्रिय र गतिशील बनाउनुपर्ने बताउनुभयो। अध्यक्ष यादव वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो।