• १६ चैत २०८०, शुक्रबार

सहभागीद्वारा रकम लगानी गर्न अस्वीकार

blog

तालिममा सहभागी महिला । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, बैशाख १९ गते । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयले आयोजना गरेका सिलाई कटाई तालिमका सहभागी महिलाले सिलाई मेशिनलगायतका उपकरणका लागि २० प्रतिशत लगानी गर्न नमानेपछि समस्या देखिएको छ । 

प्रविधिका लागि ८० प्रतिशत रकम कार्यालयले लगानी गर्ने र २० प्रतिशत रकम सहभागीले लगानी गर्नुपर्ने निर्णय भए पनि सहभागीले रकम लगानी गरेर सामग्री लिन अस्वीकार गरेपछि समस्या देखिएको हो ।  

कार्यालय प्रमुख अभयराज रेग्मीले सिलाई कटाई तालिमका सहभागी महिलाले सिकेका कुरा प्रयोगमा ल्याउन सहयोगी हुने भए पनि सामान्य लगानी गरेर उपकरण लिन अस्वीकार गरेपछि दुःख लागेको बताउनुभयो । सहभागीलाई कार्यालयको नियमअनुसार ८० प्रतिशत कार्यालयले अनुदान दिने र २० प्रतिशत सहभागी आफैले  लगानी गर्नुपर्ने भएका कारण सो आग्रह गरेको कार्यालयले जनाएको छ । 

तालिमबाट सीप सिकेपछि त्यसलाई उपयोगमा ल्याउन मेशिन आवश्यक रहेको तर त्यसलाई सहभागी महिलाले सोच्न नसकेको रेग्मीले गुनासो गर्नुभयो । सहभागीमा तालिम लिने र भत्ता खाने प्रवृत्ति देखिएको उहाँको भनाइ छ । कार्यालयले सिलाई कटाई मेशिनसहित अन्य सामग्रीको मूल्य २५ हजारमा खरिद गरेकोमा २० हजार कार्यालय र ५ हजार सहभागीले लगानी गर्नुपर्ने हुन्थ्यो उहाँले भन्नुभयो । 

सहभागीहरूले पाँच हजार रुपियाँ दिन नमानेपछि कार्यालयले सामग्री उपलब्ध गराएको छैन । सहभागीका लागि ल्याइएको सामग्री कार्यालयमै थन्किएको कार्यालयले जनाएको छ । दश जना महिलाले ९० दिने सिलाई कटाई तालिम लिएका थिए । 

महिनाको तीन हजार रुपियाँका दरले एक जना सहभागीले तीन महिनाको पाउने भत्ता बापत ९ हजार बुझेको कार्यालयले जनाएको छ । तालिममा एकल, दलित र विपन्न महिलाहरू सहभागी रहेका थिए । यस वर्ष आफ्नो लगानी गर्न नमान्ने महिलालाई आगामी वर्षहरूमा कार्यालयबाट प्रदान गरिने तालिम समेत उपलब्ध नहुने कार्यालयले जनाएको छ । त्यसैगरी कार्यालयले आगामी वर्ष सञ्चालन हुने तालिममा अग्रिम रूपमा सहभागीले आफ्नो लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेमात्र तालिममा सहभागी गराउने जनाएको छ ।