• ७ वैशाख २०८१, शुक्रबार

सर्लाही सीडीओ कार्यालयमा आगलागी, सेवा अवरुद्ध

blog

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भएको आगलागीमा जलेका उपकरण । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, वैशाख १९ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी भएको छ । आगलागी भएपछि कार्यालयले प्रदान गर्ने सेवा पनि अवरुद्ध भएको छ । मङ्गलबार बिहान विधुत सर्ट भई कार्यालयको नागरिकता प्रतिलिपि फाँटमा आगलागी भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । कार्यालयमा मङ्गलबार बिहान पौने ६ बजेतिर आगलागी भएको हो । 

आगलागीबाट नागरिकता प्रतिलिपि फाँटमा रहेका दुई थान कम्प्युटर, दुई थान प्रिन्टर र दुई थान स्क्यानरलगायतका सामग्री जलेको कार्यालयले जनाएको छ । दमकलले पानी फाल्ने क्रममा राहदानी फाँटका थप दुई थान कम्प्युटरमा समेत क्षति पुगेको छ । 

प्रमुख जिल्ला अधिकारी यादवले आगलागीबाट उपकरणमा क्षति पुगे पनि कार्यालयभित्र रहेका कागजात र सेवाग्राहीको ‘डाटा’ सुरक्षित रहेको बताउनुभयो । आगलागीपछि कार्यालयको पूरै वायरिङ समेत जलेकाले सेवा अवरुद्ध गर्नुपरेको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ । 

“महत्त्वपूर्ण फाँटको उपकरण र कार्यालयभरिकै वायरिङ सर्ट भएपछि सेवा दिन सक्ने अवस्था रहेन” प्रजिअ यादवले भन्नुभयो, “अब नयाँ वायरिङको काम सकेपछि सेवा सुचारु गर्छौँ” उहाँका अनुसार वायरिङको काम गर्न बुधबारसम्म समय लाग्नेछ ।  

कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले नागरिकता प्रतिलिपि फाँटबाहेक अन्य फाँटका उपकरण सुरक्षित रहेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले २० मध्ये १६ वटा पालिकाका बासिन्दालाई सेवा दिँदैआएको छ । 

नियमित सेवा प्रवाह गर्दा समेत कार्यालयमा सेवाग्राहीको भीड नै हुन्छ । आगलागीपछि कार्यालयको सेवा ठप्प हुँदा कार्यालयबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतको सेवा लिने सेवाग्राही मारमा परेका छन् ।