राजनीतिका दुई विपरीत ध्रुव

pradip nepalप्रदिप नेपाल


अघिल्लो हप्ता दुईटा अलग अलग निष्कर्षका समाचार एउटै अखबार पढियो । नेकपाको सरकारले तामझामसहित दिएको सूचना थियो – सामाजिक सुरक्षाको घोषणा । उता नेपाली काँग्रेसले मसिनो स्वरमा भन्दै थियो – नेकपाको सरकारले जनताको हितमा कुनै काम गर्न सक्दैन । सामाजिक सुरक्षाको घोषणा समाजवादको प्राप्ति होइन । यो हो लोककल्याणकारी राज्यको सबैभन्दा बलियो खम्बा । यसले सीमान्तकृत वर्गलाई सम्बोधन गर्छ । त्यसैले नेपालका लागि यो नौलो तथा सकारात्मक विकासको भ¥याङ हो । सामाजिक सुरक्षाको अवधारणाको चिनारी नेकपा एमालेको सरकारले नै दिएको थियो ०५१ सालमा । आफ्नो गाउँ आफैँ बनाउँ, सामाजिक सुरक्षा भत्ता नेपालीले उसैबेला पाएका थिए । अहिलेको सामाजिक सुरक्षाको अवधारणा त्यसैको विस्तारित रूप हो । अहिलेसम्मको राजनीति दलको प्रतिस्पर्धाको खेल हो । राजनीति जनताको खेल होइन । राजनीतिक दलले राम्रो काम गरे जनताबाट तिनले स्यावासी पाउँछन् । नराम्रो गरे सजाय पाउँछन् । बहुदलीय राजनीतिमा यो नै स्वाभाविक प्रक्रिया हो । सत्तापक्ष होस् कि प्रतिपक्ष दुवैले आपूmलाई प्रतिस्पर्धाबाटै माथि लैजानुपर्छ । पराजित भएपछि लौ साथीहरू पाँच वर्ष तपाईंहरू सरकार चलाउनुस्, हामी प्रतिपक्षमा बसेर आफ्नो भूमिका निभाउँछौँ भन्ने प्रतिक्रिया दिनु वास्तविक पुँजीवादी चरित्र हो तर नेपालमा यो संस्कार बस्न सकेको छैन । अहिलेकै सरकारलाई पनि दुई तिहाइको निरङ्कुशता भनेर नेपाली काँग्रेसले सरकारको छाला काढ्ने कोसिस गरिरहेको छ तर यसले नेपाली काँग्रेसलाई नै सबैभन्दा बढी घाटा गरेको छ । अहिले नेपाली काँग्रेसको समाजवाद, रिसाउँदै भुत्भुताउने जाली जमिन्दार भएको छ ।
काँग्रेस यति साह्रै अराजक हुनु, प्रतिक्रियात्मक हुनु नेपाली राजनीतिका लागि ठूलो नोक्सानीको विषय हो । दह्रो प्रतिस्पर्धी भएन भने नेकपा पनि खुकुलो हुँदै जान्छ । ‘राजतन्त्र र हिन्दू धर्म’ नेपाली काँग्रेसका अहिलेका नेताहरूको निष्कर्ष हो । यो निष्कर्षका बारेमा अहिले म कुनै टिप्पणी गर्दिन । सबै पार्टीको आआफ्नो राजनीतिक दृष्टिकोण हुन्छ । तर मेरो निष्कर्षमा, नेपालको राजनीतिक इतिहासमा लेखिएको नेपाली काँग्रेसका लागि यो कुनै अग्रगामी मान्यता होइन । कुनै बेला राजतन्त्र र हिन्दू धर्मको समागमलाई प्रजातन्त्रको हत्या भन्ने नेपाली काँग्रेसका लागि एक्कासि किन यो माग महìवपूर्ण बनेर आयो ?
किनभने समाजवाद र राष्ट्रियतालाई छोडेपछि सिन्द्धान्तहीन भएको नेपाली काँग्रेसले कुनै अग्रगामी सोच खोज्न सकेन । नेपाली काँग्रेसको यो बिजोक देख्दा वी.पी. कोइरालाकोे समाजवादी चेतलाई बुझ्ने पनि त्यो पार्टीमा शायद कोही रहेनन्जस्तो लाग्छ । दुई वर्ष पहिले नेपाल प्रज्ञा प्रतिष्ठानमा एउटा कार्यक्रममा मैले ‘वी.पी. कोइरालालाई महान् चिन्तक, सफल साहित्यकार तर असफल राजनेता’ भनेको थिएँ । त्यहाँ उपस्थितमध्ये नेपाली काँग्रेसका नब्बे प्रतिशत वुद्धिजीवी र कार्यकर्ता थिए । अहिले पनि मलाई यो निष्कर्ष सही लाग्छ तर वी.पी. कोइरालालाई यसरी चिन्ने काँग्रेस कति होलान् थाहा छैन । बी.पी. कोइरालाको चिन्तनको भेउ नपाउने अनि बी. पी. लाई ‘जननायक’ ‘महामानव’ सम्बोधन गरेर स्तुति गाउँदैमा काँग्रेस समाजवादी पार्टी बन्दैन । वी.पी. लाई चिन्नका लागि उनले बुझेको प्रजातन्त्र, राष्ट्रिय स्वतन्त्रता, स्वतन्त्र विदेश नीतिको अध्ययन काँग्रेस नेताले गर्नुपर्ने हो । यस्तो अध्ययन उनीहरूले कहिल्यै गरेनन् । पुरानो बाटो छोडेपछि अनि नयाँ बाटो पक्रन नसकेपछि अहिलेका काँग्रेसी नेताहरूले वर्गीय सोचलाई सिद्धान्त बनाएर एउटा पश्चगामी नारालाई आफ्नो सिद्धान्त बनाए – राजतन्त्र र हिन्दू धर्म । अर्थात् अबको राजनीतिमा वास्तविक ध्रुवीकरण भएको छ । जमिन्दार वर्गको ‘राजतन्त्र र हिन्दू धर्म’ । बाँकी जनताको ‘जनताको बहुदलीय जनवाद’ । कहिल्यै नमिल्ने यी दुई वर्गलाई बल्ल नेपाली काँग्रेसले अहिले सम्बोधन गरेको छ । वी.पी. कोइरालाको समाजवादी प्रजातन्त्रलाई परित्याग गरेपछि नेपाली काँग्रेस अब पक्का दलाल तथा नोकरशाह पुँजीवादको साथी भएको छ । अब, कमल थापा लगायतको राष्ट्रिय प्रजातन्त्र र नेपाली काँग्रेसका बीचमा कुनै भेद रहेन । उनीहरूका बीचमा को ठूलो राजतन्त्रवादी र हिन्दूवादी हुने भन्ने होड हुन सक्ला तर सामग्रिक नेपाली राजनीतिका सन्दर्भमा नेपाली काँग्रेसको पुरानो भूमिका, प्रजातान्त्रिक समाजवादको अगुवा सिपाहीको भूमिका समाप्त भएको छ ।
अहिले नेपाली काँग्रेसको काम १८ करोडको कार र प्रहरी प्रशिक्षण केन्द्र स्थानान्तर गरेर राष्ट्रपति निवासको विस्तारको हल्ला गर्ने होइन । आफ्नो निर्णय वामपन्थी पार्टीको राष्ट्रपतिको टाउकोमा थोपर्न काँग्रेसजस्तो पार्टीलाई सुहाउने काम होइन । नेपाली काँग्रेसले अहिले उठाउने मुद्दा भनेको सङ्घीयताको सही सञ्चालनमा सरकारबाट भइरहेको नकामको पोल खोल्ने र आपूmले जितेको स्थानीय सरकारमा ती आलोचना गरिएका कामहरू गर्दै नगर्ने अवधारणा ल्यायो भने नेपाली काँग्रेसले प्रतिस्पर्धाको राजनीतिक जीत हासिल गर्न सक्छ । के.पी. ओलीका फोटाहरू झुण्ड्याएका ठाउँमा (यो पनि ठीक थिएन) निर्मला पन्तको फोटो टाँस्ने प्रतिक्रियात्मक कामले नेपाली काँग्रेसलाई अगाडि बढाउन सक्दैन । अहिले नेपाली काँग्रेसको नाममा एउटा प्रश्नचिह्न उभिएको छ – नेपाली काँग्रेस कुन वर्गको विकासको पक्षमा उभिएको छ ? सामन्तवादलाई समूल नष्ट गर्ने काममा नेपाली काँग्रेसको भूमिका कहाँ खोज्नुपर्छ ?
वी.पी. कोइरालाको ‘प्रजातान्त्रिक समाजवादी’ काँग्रेसलाई सम्पूर्णरूपमा नष्ट गर्ने काम २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा बनेको सरकारले गरेको हो । नेपाली काँग्रेसका २२ अपराध भनेर सामाजिक सञ्जालमा आएका विषयहरू केही होइनन् । २०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा ल्याइएको अनियन्त्रित निजीकरण भनेकै प्रजातान्त्रिक समाजवादको हत्या गर्नु थियो । र, यो हत्या गर्ने काम योजनाबद्ध थियो । नेपाललाई पञ्चायतभन्दा ओरालो ठाउँमा पु¥याउने काममा सबैभन्दा ठूलो हात यही ०४८ साले सरकारको छ ।
यस्तो हुँदाहुँदै पनि म चाहन्छु – नेपाली काँग्रेस बलियो होस् । नेपाल कम्युनिस्ट पार्टीलाई टक्कर दिनसक्ने गरी बलियो होस् ।
मेरो टिप्पणी पढेर ने.क.पा.का कार्यकर्ताहरू पनि दङ्ग नपरे हुन्छ । उनीहरूले बुझ्नुपर्छ, अहिले नेपाल कम्युनिस्ट पार्टी जनताको बहुदलीय जनवाद प्राप्तीको बाटोमा अघि बढिरहेको छ कि छैन ? मेरो निष्कर्षमा त्यो छैन । आफ्ना कामहरूको समीक्षा गर्नुपर्छ ने.क.पा. का नेता र कार्यकर्ताले पनि । वर्षैपिच्छे सिद्धान्त जन्मिँदैनन् । मदन भण्डारीको अगुवाइमा विश्लेषित भएको ‘जनताको बहुदलीय जनवाद’ ले कम्तीमा पनि समाजवादको मार्गरेखा खिचेको छ । त्यसैले जनताको बहुदलीय जनवादलाई नेपाली कम्युनिस्ट सिद्धान्त मानिएको हो । त्यसको कार्यारम्भ सङ्घीयता कार्यान्वयनलाई मान्न सकिन्छ । सिंहदरबारको अधिकार घर
घरमा ! नारा त मीठो छ तर के मुलुकको विकास निर्माणको जिम्मा स्थानीय सरकारले पाएको छ ? पाएको छैन अझै पनि । जनताको सार्वभौमिकता, नागरिक सर्वोच्चता भनिएको छ तर कार्यान्वयन भएको छैन । अहिले पनि माथिले निर्णय गर्ने तलकाले त्यसलाई पछ्याउनु पर्ने पुरानो र थोत्रो प्रणाली जीवित छ ।
ने.क.पा. नेता र कार्यकर्ताहरू पार्टीको इज्जत जोगाउन चाहन्छन् भने उनीहरूले गर्नुपर्ने काम भनेको आपूm उभिएको ठाउँमा जनतालाई बलियो बनाउनु हो । नागरिक बलियो नबनुञ्जेल सङ्घीयता सफल हुन सक्दैन । नागरिकलाई राजनीतिक, आर्थिक तथा सामाजिक सबै हिसाबले बलियो बनाउनु नै ने.क.पा. का नेता तथा कार्यकर्ताको काम हो । जनता बलियो भएमा मात्रै नेपाल कम्युनिस्ट पार्टी बलियो हुन्छ । किनभने पुँजीवादी पार्टीलाई जुरुक्क उचालेर नेपाललाई समाप्त पार्ने बैङ्क र युनियनजस्ता सहयोगीहरू ने.क.पा. ले कहिल्यै पाउने छैन । त्यसैले घाँटी हेरेर हाड निल्नू भन्ने उखानको मर्म बुभूmन् ने.क.पा. का नेता र कार्यकर्ताले । त्याग र तपस्या बिना राजनीतिमा व्यक्ति सफल हुन्छ – सिद्धान्त र पार्टी हुँदैनन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds