• ७ वैशाख २०८१, शुक्रबार

गुर्जामा जीवित छ छन्त्याल संस्कृति (फोटो फिचर)

blog

गुर्जा पुर्ख्यौली नाच समूहका कलाकार र स्थानीयवासी । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, वैशाख १९ गते । मौलिक कला संस्कृति र जीवनशैली गुर्जाको पहिचान हो । करिब ७ सय वर्ष पहिला खानी उत्खनन्को खोजी गर्दै छन्त्यालहरु जुम्लाको सिंजाबाट गुर्जा आएको भनाइ छ । 

गुजुमुज्ज परेका परम्परागत शैलीका घरहरुको बस्ती गुर्जा धवलागिरि गाउँपालिका -१ को दुर्गम बस्ती हो । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित गुर्जा गाउँमा छन्त्याल जातिको ठूलो बस्ती छ । दुईसय ७० घरधुरी रहेको यहाँ एकसय ८५ घरधुरी छन्त्याल जातिको छ । 

गुर्जामा छन्त्याल जातिको मौलिक कलासंस्कृति अझै पनि जीवित छ । आधुनिक संस्कार र संस्कृतिले गुर्जालाई अझै छुन सकेको छैन । यहाँका छन्त्यालहरु आफ्नो कला संस्कृति संरक्षणमा जुटेका छन् ।

छन्त्याल जातिको मुख्य संस्कृतिका रूपमा रहेको पुर्ख्यौली नाच अझै जीवित छ । पाका पुस्ताबाट युवायुवतीमा पुर्ख्यौली नाच हस्तान्तरण भएको छ । यहाँको मौलिक संस्कृति संरक्षणमा युवा पुस्ता पनि जुटेका छन् । 

स्थानीय ८० वर्षीय हिनी छन्त्यालले भन्नुभयो, हामीले पुर्खाबाट सिकेको संस्कृति युवा पुस्तालाई पनि सिकाएका छौँ । ‘‘आधुनिक सूचना र प्रविधिको विकासले हाम्रो मौलिक कला संस्कृति लोप हुन्छ की भन्ने चिन्ता मलाई छ,’’ छन्त्यालले भन्नुभयो,‘‘ संस्कृति लोप हुन नदिन मैले छोरी, बुहारी र नातीनातिनीहरुलाई पनि सिकाएकी छु ।’’

गुर्जालीहरुको पुर्ख्यौली अन्तर्गत परिवारको जेठो छोरा ३ वर्ष पुगेपछि खुसीयालीमा पुर्पुरो नाच र चाडपर्वहरू दशैं तिहारमा ख्याली नाच देखाउने प्रचलन रहेको गुर्जा पुर्ख्यौली नाच समूहका उपाध्यक्ष भीमबहादुर छन्त्यालले बताउनुभयो । समूह बनाएर पुर्ख्यौली नाच संरक्षणमा जुटेको उहाँले बताउनुभयो । 

‘‘हाम्रो संस्कृति लोप हुन नदिन युवा पुस्तालाई पनि सिकाउने गरेका छौँ,’’ उपाध्यक्ष छन्त्यालले भन्नुभयो, ‘‘छन्त्याल जातिको मौलिक कला संस्कृतिलाई लोप हुनबाट बचाउन आफ्ना छोराछोरी र विवाह गरेर आउने बुहारीलाई पनि सिकाउने गरेका छौँ ।’’ 

‘‘हाम्रो पुर्ख्यौली संस्कृति लोप हुनबाट बचाउन हामी युवा पुस्ता पनि संरक्षणमा जुटेका छौँ,’’ स्थानीय २२ वर्षीय सुस्मीता छन्त्यालले भन्नुभयो, ‘‘हाम्रो पुर्खाको संस्कृतिप्रति मलाई गर्व छ । बुवा आमाबाट मैले पुर्ख्यौली नाच सिकेकी छु । मौलिक कला संस्कृतिको संरक्षण गर्ने दायित्व हामी युवाको काँधमा छ ।’’ 

अर्को २६ वर्षीय युवा रेशम छन्त्यालले पनि विगत एक वर्ष देखि पुर्ख्यौली नाच नाच्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, मैले हाम्रा अग्रज कलाकारहरुबाट पुर्ख्यौली नाच सिकेको छु । 

पुर्ख्यौली नाचमा मादलमा दुई जना, सिँगारु दुई जना, जोगिया एक जना, गीत गाउने गायक एक जना र आवश्यकता अनुसार गीत छोप्ने कलाकारहरू हुन्छन् । उनीहरू छन्त्याल जातिको भेषभूषामा सजिएर नाच्ने र गाउने गर्दछन् ।  

गुर्जाका छन्त्यालहरुको परम्परागत संस्कृति, मौलिकपन, रहनसहन,भाषा र भेषभूषा अझै जीवित रहेको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । यहाँको मौलिक संस्कृति, भाषा र भेषभूषालाई लोप हुनबाट बचाउन विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्नुपर्ने उहाँको भनाइ छ ।